काठमाडौं २९ फागुन –मुलुकको तेस्रो राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पुन निर्वाचित हुनुभएको छ । आजै भएको मतदानमा भण्डारीका पक्षमा  ३९ हजार २७५ मतभार रहेको छ । अर्का उम्मेद्वार कुमारी लक्ष्मी राईका पक्षमा  ११ हजार ७३० मतभार छ । राई प्रमुख प्रतिपक्ष दल कांग्रेसको समर्थनमा उम्मेद्वार बन्नुभएको थियो । 

दुई तिहाई मतभार सहित भण्डारी राष्ट्रपति निर्वाचित हुनुभएको हो ।  राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा १७ सांसद् अनुपस्थित भएका थिए।निर्वाचनमा  संघीय संसद्का चार र प्रदेशसभाका १३ सांसद् अनुपस्थित भएका हुन् ।

३३४ सदस्यीय संघीय सांसद्‌मध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल र रमेश यादव अनुपस्थित रहे । त्यस्तै ५५० सदस्यीय प्रदेश सांसद्‌मध्ये १३ जना अनुपस्थित भएका छन् ।

राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदहरु कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु उपस्थित भएनन् ।

त्यस्तै राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् ।  रेशम चौधरी पनि मतदान गर्नबाट बञ्चित भए ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मतदानको समय तोकेको थियो ।