काठमाडौं, २८ माघ – सरकारले  ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको आज बसेको बैठकले ६९औं प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

 प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहनु भएको छ ।

फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ  । त्यस्तैगरी उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ  । 

यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको बताइएको छ ।