काठमाडौं, २४ असोज – पुर्ननिर्माण प्राधिकरणले  हेलिप्याडसहितको नयाँ र आधुनिक राष्ट्रपति भवन निर्माण गर्न लागेको   छ । बनाउन लागेको आधुनिक राष्ट्रपति भवन हालको राष्ट्रपति भवन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा बन्ने बताइएको छ । २२३ रोपनी क्षेत्रफलमा बन्न लागेको भवन अन्तर्राष्ट्रिय मापदण्डको नयाँ र अत्याधुनिक  हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । 

प्राधिकरणका अनुशार भूकम्प प्रतिरोधी नयाँ र अत्याधुनिक राष्ट्रपति भवन निर्माणको तयारी गरिएको हो । लामो समय अलमलमा रहेको राष्ट्रपति भवन निर्माण निष्कर्षमा पुगेको ज्ञावलीले जानकारी दिनुभयो ।  निर्माणका लागि परामर्शदाता चयन गरी डिजाइन तथा लागत इस्टिमेटको काम भइरहेको ज्ञावलीले जानकारी दिनुभयो । 

२०७३ मंसिर १९ गते परामर्शदाता छानिएको बीडीए÷प्लस इन्जिनियरिङ एन्ड आर्किटेक्ट प्रालिलाई नयाँ र अत्याधुनिक भवन निर्माणको डिजाइन तथा लागत इस्टिमेटको जिम्मा लगाइएको छ । उसले डिजाइन र लागत इस्टिमेटको अध्ययन गरिरहेको छ । कार्यकारी अधिकृत ज्ञवालीले अहिले राष्ट्रपति भवनको पूर्वाधार र संरचना राष्ट्राध्यक्षका लागि पर्याप्त नभएकाले नयाँ भवन निर्माणको विकल्प नरहेकोस्पष्ट पार्नुभयो ।

बन्न लागेको राष्ट्रपति भवनमा विदेशीका लागि अन्तर्राष्ट्रिय स्तरको अतिथिगृह, आवास, खुला क्षेत्र, हेलिप्याडलगायतका संरचना समेत हुने ज्ञावलीले जानकारी दिनुभयो । 

राष्ट्रपति कार्यालयमा हेलिप्याड भए राष्ट्रपतिको सवारी हँुदा गरिने सडक बन्दको समस्या समेत समाधान हुनेछ । भित्रै अतिथिगृह हुँदा विदेशी पाहुनालाई होटलमा राख्नु पर्दैन । खुला क्षेत्र भए राष्ट्रपतिलाई हिँडडुल गर्न सहज हुन्छ । अहिले प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण गराउन, राजदूतसँग ओहोदाको प्रमाणपत्र बुझ्नसमेत ठाउँ साँघुरो छ । भवन निर्माणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्राधिकरणका सीईओ ज्ञवालीबीच परामर्श भइसकेको बताइन्छ । 

 यसैबीच राष्ट्रपतिको कार्यालय र निवासका लागि नयाँ भवन बन्ने भएपछि शीतलनिवासको संरक्षण गर्न रेट्रोफिटिङ गरिने तयारी  छ । भवनको मौलिक स्वरूप संरक्षण गर्न शीतलनिवास नभत्काइने प्राधिकरण स्रोतले बताएको छ । 

शीतलनिवासको अन्ततः जीर्णोद्धार गरि रेट्रोफिटिङ गरे मात्र संरक्षण हुने प्राविधिक रिपोर्ट आएपछि नभत्काउने निर्णय भएको प्राधिकरण स्रोतले भन्यो ।