काठमाण्डौं, १४ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा आज आईतबार चियापान समारोहको आयोजना गर्नुभयो ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर उपस्थिति थिए ।

समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिए । 


साथै, उक्त समारोहमा मन्त्रीहरु, पूर्व प्रधानन्यायाधीश, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति रहेको थियो । 


गणतन्त्र दिवस जेठ १५ का अवसरमा चियापानको आयोजना गर्ने भएता पनि नेपालको संविधानअनुसार जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने भएको हुँदा आज नै सो समारोहको आयोजना गरिएको हो ।