प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्नुभयो । उहाँलाई विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभयो ।  घरेलु राजनीतिमा युवा पुस्ता, स्वतन्त्र व्यक्तित्व र नागरिक समाजले ओलीको पहिलो भ्रमण भारतमा नै किन ? परम्परागत रुपमा  प्रधानमन्त्रीको पहिलो अनुमोदन भारतले नै गर्नु पर्ने हो र ? जस्ता टिप्पणी पनि देखा परेका छन् । यो अभिव्यक्ति केपी ओलीको विरुद्ध नभई सद्भाव र शुभेक्क्षाको लागि हो । 

आनन्द प्रसाद पोखरेल

भ्रमणले भारत र भारतीय राजनीतिक बृतमा पनि महत्वपूर्ण ठाउँ पाएको छ । भारतीय राजनीतिज्ञ र पत्रपत्रिकाले निकै सकारात्मक छलफल र बहस चलाएका छन् । भारत सरकारलाई सुझाव र उपदेश दिएका छन् । भारतीय संसदमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी ओलीको भ्रमणलाई लिएर अभिव्यक्ति दिएका छन् । नेपालको सार्वभौम हैसियतलाई ह्दयदेखि आत्मसात गरि उसको आन्तरिक मामलामा हस्तक्षेप नगर्न उनीहरुले प्रधानमन्त्री मोदीलाई सुझाव दिएका छन् । उनीहरुले नेपालले अन्य छिमेकीसँग राख्ने सम्वन्धलाई नेपाल–भारतबीचको सदियौंदेखिको मित्रतापूर्ण र घनिष्ठ सम्बन्धसँग नजोड्न पनि आव्हान गरेका छन् । विगतको नाकाबन्दीले नेपालीको मन दुःखेको भन्दै दोहोरिन नदिने विश्वास दिलाउन भारतले सक्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल–चीन बढ्दो सम्वन्ध २१ औं शताब्दीेंको यथार्थता हो भन्दै कुनै पनि स्वतन्त्र मुलुकले छिमेकी मुलुकसँग सम्बन्ध विस्तार गर्न पाउने स्वायत्त अधिकारमाथि हामीले किन चासो राख्ने ? जस्ता प्रश्न पनि गरेका छन् । नेपाल र भारतको सम्बन्ध सुगौली सन्धी र सन् १९५० को संन्धीको विरासतबाट मुक्त हुनुपर्दछ । दुई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतमा समानताको सिद्वान्त र असंलग्न राष्ट्रहरुले अंगिकार गरेको पञ्चशिलको सिद्वान्तमा आधारित र अहस्तक्षेपको नीतिको आधारित हुनुपर्दछ । २१ औं शताब्दीमा विकसित जनअपेक्षमा आधारित सम्बन्ध स्थापित हुनुपर्नेमा  दुईमत हुनुहुँदैन । 

वाम गठबन्धनले आफ्नो निर्वाचन घोषणापत्रमा छिमेकी मुलकको सम्बन्धलाई महत्वको साथ उठाएको छ । दुई देशको असल छिमेकीपन र असल सम्बन्धलाई महत्व दिएको छ । मुलुक साना ठुला हुन्छन्, जनसंख्या धेरै थोरै हुन्छ तर सार्वभौमिकता साना ठूलो हुँदैन भन्ने प्रष्ट भनेको छ । त्यसकै आधारमा सम्वन्ध स्थापित हुनुपर्ने समेत बताएको छ । निर्वाचनमा यही सिद्वान्तलाई नेपाली जनताले अनुमोदन गरे । 

नेपाल–भारत सम्बन्धका विभिन्न आयम छन् । ऐतिहासिक धार्मिक सांस्कृतिक, भूराजनीतिक, आर्थिक र भौतिक, उर्जा, पानी, नदि नियन्त्रण, डुवान, विभिन्न समयका सन्धीसम्झौता, सीमाना विवाद र यसबाट उत्पन्न सम्वन्धका आयाम छन् । व्यापार र पारवहन सम्झौता र भूपरिवेष्ठित राष्ट्रले पाउनु पर्ने सुविधा र अधिकार, उद्योग बाणिज्य सन्धी–सम्झौता समझदारीका साथै जलस्रोतको उपयोग, तल्लोतटीय मुनाफको बाँडफाँड आदि जस्ता बिषय नेपाल–भरत सम्बन्धका महत्वपूर्ण आयाम हुन । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको सन्र्दभ उठ्नासाथ हरेक स्वाभिमानी नेपालीमा यी बिषय आउँछन् । तर यो भ्रमणबाट सकारात्मक परिणाम आउने अपेक्षा धेरैको छ । 

उल्लेखित बिषय प्रधानमन्त्रीको जानकारीमा छैन भन्न खोजेको होइन । उहाँ यस बिषयमा पर्याप्त जानकारी राख्न सक्ने क्षमतावान र योग्य राजनेता हो । मुलुकको सार्वभौमसत्ता र अखण्डता अप्ठेरो पार्ने गरि ल्याइएको आर्थिक नाकावन्दीलाई सफलतापूर्वक सामना गर्न सक्ने एक प्रधानमन्त्री मात्र होइन, राष्ट्रवादी नेता हो । प्रधानमन्त्रीहरु धेरै भारत भ्रमण गएका छन् । धेरै सन्धिसम्झौता, समझदारी गरेका छन् र संयुक्त बक्तव्यमा हस्ताक्षर गरेका छन् । यसको प्रभाव र प्रतिफलको बिषयमा समय समयमा विश्लेषण पनि भएका छन् । 

विगतमा भएका सन्धीसम्झौताका बारेमा विज्ञ समूहले काम गरिरहेको छ । त्यसको संयुक्त प्रतिवेदनपछि तार्किक छलफल र बहससँग निचोड आउला । अहिलेको भ्रमणको मुख्य बिषय राष्ट्रियताको सुदृढीकरण, राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक सद्भाव, दुइपक्षीय र बहुपक्षीय हित, जलस्रोतको उपयोग र बाढी तथा डुवान नियन्त्रण, व्यापार घाटाको कमी हो । राजनीतिक राष्ट्रवाद मात्र होइन, आर्थिक र विकाससहितको राष्ट्रवाद चाहिएको छ । स्वाधीन आत्मनिर्भर अर्थतन्त्र चाहिएको छ । यसो नहुनुमा छिमेकी नीति पनि जिम्मेबार छ । हामी यसमा केही दृष्टान्त दिन सक्छौं । कृषि र कृषिसँग सम्वन्धित उत्पादनको कर र भन्सार दरमा बृद्धि । भूपरिवेष्ठित राष्ट्रको अधिकार र स्वतन्त्रता उपयोगमा अबरोध । भुकम्प पूनर्निर्माण प्रतिवद्धताको कार्यान्वयन कमी । विद्युत विकास र व्यपारमा बिवाद । यसको सम्वोधन गर्नु पर्ने अहिलेका एजेण्डा हुन । 

प्रधानमन्त्री ओलीले नयाँ सन्धी सम्ंझौता नहुने बताउनु भएको छ । पुराना एजेण्डा तत्काल कार्यान्वय हुनुपर्ने र कार्यान्वयन नभएका मुद्दालाई कार्यान्वयनका तहसम्म सम्वोधन गर्ने कुरामा उहाँले जोड दिनुभएको छ । नेपालको स्वाभिमान र प्रतिष्ठामा आँच नपु¥याउने प्रतिवद्धता गर्नुभएको छ । नेपाल राष्ट्र र जनताको अपेक्षा पनि यही हो । तर भारतसँगको परम्परागत दुइ पक्षीय सम्वन्धको संस्कृतिलाई विश्लेषण गर्दा मुखमा रामराम बगलीमा छुरा जस्तो छ ।  भन्दा सकारात्मक गर्दा नकारात्मक परिणाम प्राप्त भएका छन् । 

त्यसैले नेपाली जनता भारतको भनाई, गराई र काममा शंका व्यक्त गर्छन् । भारत नेपालको सार्वभौमिकता, अखण्डता र स्वाभिमानमा दखल दिन्छ,  हस्तक्षेप गर्छ । भारतीय पक्षबाट भएका विगतका गल्ती कमजोरीको समिक्षा गर्दै २१ आंै शताब्दीको उचाइमा गएर भौगोलिक यथार्थतालाई बुझी दुइ पक्षीय सम्वध सुदृढ र विस्तार गर्न भारतीय पक्षको चाहना हो भने यो भ्रमणले नेपाली जनताले सोचेको परिणाम ल्याउन सक्छ । अन्यथा संयुक्त कार्यदल गठन गर्ने, संयुक्त बक्तब्य निकाल्ने तर समस्या जस्ताको तस्तै रहने स्थिति रहन सक्छ । यो नै पेचिलो विषय हो । 

जलवायु परिवर्तन र कृषि उत्पादनको बिषय मानवीय स्वास्थ्यको लागि पेचिलो बिषय हो । नेपाली निर्यात योग्य कृषि उपजमा अतिरिक्त भन्सार लगाउने निर्णयलाई अप्ठेरो पार्ने काम कारवाही भएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने नाममा  रासायनिक मल, विषाधी र हर्मनहरुको प्रयोगले खाद्यान्नमा विषाक्त भएका छन् । मानवीय स्वास्थ्यलाई गम्भिर असर गरेको छ । खाडी मुलक र अमेरिकाले भारतको ३१ वटा खाद्यन्नलाई अखाद्य भनि ति मुलुकमा प्रतिवन्ध छ । तर नेपालमा तिनै खाद्यन्न निर्वाध आएका छन् । मानिसमा नसर्ने खाले रोग क्यान्सर, मुटुरोग, मृगौला, मधुमेह, थाइराइड जस्ता रोगको मुख्य आधार विषयुक्त खाद्यपदार्थहरु हुन जुन भारतबाट नेपाल भित्रिन्छ । यि बिषयमा मानव अधिकार र स्वच्छ खाद्या अधिकारको हनन् भएको छ । यसमा नेपालले पनि खासै ध्यान दिएको छैन । यी मुद्दा भारत भ्रमणमा कहिल्यै बिषय बनेका छैनन् । यो भ्रमणमा यि मुद्दाले ठाउँ पाउने अपेक्षा नेपाली जनताको छ । 

भ्रमणको अन्त्यमा भ्रमण सफल र असफल भनेर टिप्पणी गरिन्छ । यो हर्नेको, बुझ्नेको र ग्रहण गर्नेको राजनीतिक आँखामा भर पर्दछ । तर यसपटकको राजकीय भ्रमणको बारेमा सर्वाधिक चासो र बहस छ । स्वदेश, विदेश र भारतमा पनि बहुचर्चित छ । भारतीय विपक्ष र सर्वसाधारणले पनि यो भ्रमणलाई सकारात्मक ढंगबाट हेरिरहेका छन् । सफल हुने विश्वास लिएका छन् । प्रधानमन्त्री मोदीलाई सम्बन्ध सुधार्न दवाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई पनि यो भ्रमण सफल र उपलब्धीमूलक  बनाउनुपर्ने चुनौती छ । भविश्यमा नेपाल–भारत सम्वन्धमा कहिल्यै समस्या नआउने गरि समाधानको दिशातिर जाने आशा र विश्वास लिएकोे छ । यो भ्रमण भारतीय पक्षलाई बिगतका गल्ती सच्याउने अवसर पनि हो ।
लेखक पूर्वमन्त्री हुनुहुन्छ ।