काठमाडौ, २८ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रोजस्तो आर्थिक अवस्था, राजनीतिक संकट, नाकाबन्दीलाई पार गर्दै संघीयताको नयाँ संरचनामा गइरहेको अवस्थामा पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धी हुनुलाई असाधारण प्रगति भएको बताउनुभएको छ ।    

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा आज प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई अत्यधिक रुचीमा राखेर प्राथमिकता दिएको स्पष्ट पार्दै पुनर्निर्माणमा प्राप्त उपलब्धीले नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले पुनर्निर्माणका बाँकी कामलाई सम्पन्न गर्न उपलब्ध बजेट र स्रोतको सिमामा रहेर वास्तविक योजना बनाइ काम गर्न निर्देशन दिनुभयो ।  बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणको अवस्था, आगामी कार्ययोजना र वित्तीय आंकलन प्रस्तुत गर्नु भएको थियो । उहाँले चालू आर्थिक वर्षको १ सय ४१ अर्ब रुपैयाँ बजेटमध्ये ३८ अर्ब रुपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चिता नभएको जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, सम्पदा र गुम्बाको पुनर्निर्माणका लागि स्रोतको सुनिश्चतता हुनुपर्ने बताउनुभएको थियो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले स्रोतको सीमा रहेको भन्दै आगामी वर्षमा बजेट विनियोजनका लागि अर्थमन्त्रालयसँग परामर्श गर्न आग्रह गर्नुभयो । उहाँले थप स्रोत परिचालनका लागि धेरै ठाउँ नभएको बताउनुभयो ।  बैठकमा पुनर्निर्माण प्राधिकरणले प्राधिकरणका काम राम्रोसँग अघि बढेको निष्कर्ष निकाल्दै प्राधिकरणको म्याद थप्ने र नथप्ने सिफारिस गर्न कार्यदल गठन गरेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा गठित सो कार्यदलमा अर्थ, गृह, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग  र प्राधिकरणका सचिव हुनुहुन्छ।  कार्यदललाई पुनर्निर्माणको वर्तमान अवस्था,  आगामी कार्ययोजना, वित्तीय व्यवस्थापनको अध्ययन गरी प्राधिकरणको म्याद थप्नेरनथप्ने सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलको प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको अर्को बैठकमा पेश हुनेछ । पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा प्राधिकरणको म्याद एक वर्ष थप्नसक्ने प्रावधान छ।