काठमाडौँ, ७ असोज - कोरोनाको कारण सरकारले लकडाउन घोषणा गरेपछि ठप्प रहेको फिल्मी क्षेत्रमा चहलपहल सुरु हुन थालेको छ ।

निर्माताहरुले महामारी सकिएपछि छाँयाँकन गर्ने योजना बनाउँदै नयाँ फिल्मको घोषणा गरिरहेका छन् त्यस्तै झण्डै ७ महिना कामविहीन भएर बसेका कलाकारहरुले पनि अहिले धमाधम फिल्म साइन गरिरहेका छन् । 
 
यसबीच, अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं ‘कृष्ण लीला’ नामक फिल्ममा अनुबन्ध भएका छन् । फिल्मलाई ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले केही हप्तादेखि फिल्मको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् । 

कमेडी विषवस्तुमा निर्माण हुन लागेको फिल्ममा पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।  फिल्ममा पुष्प लभर ब्वाईको भूमिकामा देखिनेछन् ।
 
फिल्मका निर्माता रत्न श्रेष्ठ हुन् भने उक्त फिल्मलाई शिव ढकालले खिच्नेछन् ।