काठमाडौं – तुलना हुँदैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच ।  एक महाशक्ति अमेरिकाका राष्ट्रपति र अर्काे संघर्षरत् निरकुंश सत्ता अभ्यास गरिरहेको राष्ट्रका सर्वोच्च नेता, कमाण्डर ।

दुईबीच वार्ता छैन, भेटघाट छैन । तर पनि एक अर्काबीच सबैभन्दा बढी तनावको बिषय संभवत उनीहरु एक अर्का नै हुन । अर्थात अमेरिकाका लागि उत्तर कोरिया र उत्तर कोरियाका लागि अमेरिका । प्योङयाङले एकपछि अर्को आणविक भण्डार बढाएको छ भने नयाँ नयाँ मिसाइल अमेरिकातिर तेस्र्याएर परिक्षण गरिरहेको छ । 

यसमा अमेरिका र उत्तर कोरियाबीच एक अर्कामा आरोप प्रत्यारोप चलिरहेकै छ । यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली शासक किमसँग वार्ता गर्न चाहेको संकेत दिंदै दक्षिण कोरियामा हुने संयुक्त सैन्य अभ्यास रोक्ने सहमति गरे ।

यो निर्णय अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्वमा भएको थियो । संभवत उनी चाहन्थे त्यसमा प्योङयाङले सोभैm वासिङटनलाई ‘रेस्पोन्स’ गरोस । तर त्यस्तो भएन । अमेरिकाले उत्तर–दक्षिण वार्तामा मध्यस्थकर्ता हुन चाहेको भएपनि उत्तरले भने आफै दक्षिण कोरियासँग वार्ता गर्न सक्षम रहेको सन्देश दिएको छ । त्यसैको परिणाम हो  मंगलबारको पान्मुन्जोम वार्ता । दुई बर्षपछि दक्षिण र उत्तर कोरियाबीच मंगलबार सिमामा रहेको युद्वबिराम स्थल पान्मुन्जोममा वार्ता भयो । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको नयाबर्षको सन्देश दिएपछि दक्षिण कोरियाली स्वभाबिक रुपमा त्यसलाई स्वीकार गर्यो । 

जस अनुसार, दुबै देशले वार्ताका लागि तीन÷तीन सदस्यीय वार्ता टोली बनाएर घोषणा समेत गरे । त्यसै अनुसार, वार्ताविच्छेद भएको झण्डै दुई बर्षपछि दुई कोरियाली अधिकारीबीच पान्मुन्जोममा ऐतिहासिक वार्ता भयो । दक्षिण कोरियामा अगामी हिउँदमा हुने पियोङचाङ ओलम्पिकमा उत्तर कोरियाले प्रतिनिधिमण्डल पठाउनेवारेमा दुबै पक्षबीच सकारात्मक छलफल भयो भने त्यसले कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्नमा सहयोग पुर्याउने संकेत पनि दियो । 

दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जेइ–इन निर्वाचित भएपछिको र सन २०१५ डिसेम्बरमा भएको उपमन्त्रीस्तरीय बैठकपछिको यो पहिलो बैठक हो । वासिङटन र सौलबीच ४ जनवरीमा हिउँदे ओलम्पिक नसकेसम्म संयुक्त सैन्य अभ्यास नगर्ने सहमति भएको थियो । यो सहमतिपछि प्योङयाङले वार्ताको प्रस्ताव स्वीकार गरेको थियो । यो वार्ता निकै अर्थपूर्ण भएको चिनियाँ बिश्लेषकहरुको टिप्पणी छ ।

वार्तामा मूल्त  दुई एजेण्डा हावी थिए । पहिलो– ओलम्पिकमा सहभागिता र दोश्रो बिछोडिएका परिवारको पुर्नमिलन । सन १९५० देखि ५३ सम्म तीन बर्ष भएको कोरियाली युद्वमा छिन्नभिन्न भएका परिवारका सदस्यहरुलाई पुर्नमिलन गराउनेबारेमा सहमति पनि भयो । चाखलाग्दो के छ भने वार्ताको सबै प्रक्रियाका प्रेसलाई खुला गर्ने प्रस्ताव उत्तरकोरियाको थियो भने दक्षिण कोरियाले भने आवश्यक भएका बिकासमात्र मिडियालाई ब्रिफिङ गर्ने बतायो । न्युर्योक टाइम्सका अनुसार, खुला र प्रजातान्त्रिक राष्ट्र दक्षिण कोरियाले गोपनीयता चाह्यो भने स्वतन्त्रताबिरोधी र बन्द समाज रहेको उत्तर कोरियाले वार्ता नै खुला गर्न चाह्यो । 

बेइजिङ र वासिङटनले वार्ताको स्वागत गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ओलम्पिकपछि पनि सकारात्मक बिकास हुने बिश्वास लिएको बताएका छन् । तर फेरी पनि प्योङयाङले राष्ट्रपति ट्रम्पलाई कुनै महत्व दिएको छैन ।