खोटाङ, २८ माघ - संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले थामखर्क विमानस्थलको अन्य संरचना बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

थामखर्क विमानस्थल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रको काम भइरहेको लामीडाँडा विमानस्थल दुई महीनाभित्र र धावनमार्ग भत्किएर निर्माणाधीन अवस्थामा रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल पनि एक वर्षभित्र सञ्चालनमा आउने आश्वासन दिनुभयो । 

खोटाङका तीनै वटा विमानस्थल सञ्चालनसँगै त्रिधार्मिकस्थ हलेसी, बराहापोखरीलगायत पर्यटकीय क्षेत्रको पर्यटन विकासमा मन्त्रालयकोतर्फबाट यथोचित कदम चालिने उहाँले बताउनुभयो । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्क विमानस्थलमा हप्तामा दुईपटक उडान भर्ने गरी तालिका निर्माण गरिने बताउनुभयो । यद्यपि कुनकुन बार उडान सञ्चालन गर्ने भन्ने टुङ्गो भने भइनसकेको उहाँले बताउनुभयो । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक सबै संरचना निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा सांसद विशाल भट्टराई र हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतले बोल्नुभएको थियो । कालोपत्रको काम थालिएसँगै लामो समयसम्म अवरुद्ध रहेको विमानस्थल उद्घाटन भएपछि स्थानीयवासी हर्षित भएका छन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विमानस्थलको कालोपत्र बेलामा काम नसकेको बारे चौतर्फी आलोचना भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम नसकिँदा खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका सर्वसाधारण आक्रोसित बनेका थिए । 

पन्ध्र महीनाभित्र पूरा गर्ने गरी विसं २०७३ असोज २० गते सम्झौता गरिएको थामखर्क विमानस्थल कालोपत्रका काम २८ महीनामा पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताउनुभयो । प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लागतमा रौता कन्स्ट्रक्सन प्रालिले उक्त विमानस्थल कालोपत्र गरेको हो ।

(रासस)