धनुषा, ११ फागुन - प्रदेश–२ को नवनियुक्त प्रदेश प्रमुख डा राजेश झाले आफ्नो पदभार सम्हालेलगत्तै रेडियो नेपालको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको गौरीडाँडास्थित प्रादेशिक प्रशारण केन्द्रको निरीक्षण गर्नुभएको छ । निरीक्षण गर्नुहुँदै प्रमुख झाले सबै जातजातिको साझा धरोहरको रुपमा रहेको रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको अनुगमनबाट आफूले कामको थालनी गरेको बताउनुभयो । 

    उहाँले सबै जातजातिको भाषा, संस्कृतिको विकासमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसनीय रहेकाले यसको विकासमा सहयोग गर्ने बताउनुभयो । प्रमुख झाले रेडियो नेपालको प्रसारण पहुँच नेपालमा सबैभन्दा बढी भएकाले यो राष्ट्रिय धरोहर रहेको बताउँदै रेडियो नेपालको अझै विकास हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    सो अवसरमा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिवासका कार्यालय प्रमुख रामपुकार रामसहितका कर्मचारी तथा समाचार शाखाका समाचार सम्पादक हृदयकान्त झाले प्रदेश प्रमुख झालाई केन्द्रका बारेमा जानकारी गराउनुभएको थियो ।

रासस