विश्वको करीब ५० प्रतिशत जनसंख्या साना, मझौला र ठूला शहरमा बसोवास गर्दछ । अबको ३० वर्षपछि ६५ प्रतिशत मानिसहरू शहरमा बस्ने अनुमान गरिएको छ । तीब्ररूपमा शहरीकरण भइरहेको वर्तमान प्रवृत्तिलाई हेर्ने हो भने भविष्यप्रतिको उक्त आँकलन सजिलै सहि साबित हुनेछ । यस्तो अवस्थामा विश्वको कृषि तथा खाद्य प्रणालीको गम्भीर समीक्षा गरीकन त्यसमा व्यापक परिवर्तन नगर्ने हो भने भविष्यमा कुपोषण र भोकमरीले ठूलो मानवीय क्षति हुने निश्चित छ । यसबाट हिंसा, अशान्ति र अराजकताले समाजलाई आक्रान्त तुल्याउनेछ । 

संसारमा यहि रफ्तारमा जनसंख्या बृद्धि हुँदा अहिलेको भन्दा ६० प्रतिशतसम्म खाद्यान्न उत्पादन बढाउनु पर्ने हुन्छ, अनिमात्र सबैले खान पाउने मानव अधिकारको सुरक्षा गर्न मद्दत मिल्दछ । यसबाट विकासशील राष्ट्रका शहरका सुकुम्बासी वस्तीमा बस्ने ४५ प्रतिशत मानिसहरूको जीवनलाई भोकबाट जोगाउन सहयोग पुग्नेछ । शहरका झुपडीको साँघुरो ठाउँ, कमजोर भौतिक संरचना, अपर्याप्त खाना तथा पानी एवं फोहर परिवेशबाट नागरिकलाई सुरक्षित र मर्यादित आवासमा स्थानान्तरण गर्न सरकारहरूले ठूलो मिहिनेत गर्नुपर्ने आवश्यकता छ । मानिस बस्न अयोग्य संरचनामा ज्येष्ठ नागरिक, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति, महिला तथा बालबालिकाहरूले त झनै कष्टकर जीवन विताउनु पर्ने अवस्था रहेको छ । 

आधुनिक विज्ञान प्रविधिको विकास र औद्योगिक क्रान्तिपछि औद्योगीकरण प्रक्रियाले गति लिएसँगै विश्वमा शहरीकरण प्रक्रिया तीब्र बनेको हो । ग्रामीण क्षेत्रको तुलनामा शहरमा भौतिक पूर्वाधार बढि हुने, रोजगारीको अवसर पाइने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध हुने र एकढङ्गले भन्ने हो भने विश्वमा फैलिएको आधुनिक संस्कृतिको प्रभाव पनि अलि बढि नै पर्ने भएकाले शहरमा मानिसको आकर्षण बढ्नु स्वभाविक हो । यति मात्र होइन शहरमा बस्नेको ठाँटबाँठ अलि बढि नै हुन्छ भन्ने परेर आफूलाई आधुनिक एवं सभ्य देखाउन र आर्थिकरूपमा प्रतिष्पर्धा गर्न तथा सामाजिक पहिचान बढाउन शहरीया जीवनप्रति मानिसहरू लालायित हुन्छन् । यही भएर पनि विश्वमा अहिले शहरीकरण प्रक्रिया तीब्र बनिरहेको हो । यस प्रक्रियाले शहरवासीलाई धेरै अवसरहरू सिर्जना त गरेको छ तर सँगसँगै विभिन्न प्रकारका समस्याहरू सहित खाद्य असुरक्षाको चुनौति पनि थपेको छ । 

विश्वभरि नै विगतमा योजनाबद्धरूपमा शहरको विस्तार तथा विकास नगरी हचुवाका भरमा र परम्परागतढङ्गले शहरीकरण हुन दिइएकाले समेत अन्य चुनौतिका अतिरिक्त खाद्य सुरक्षाको समस्या उत्पन्न भएको हो । उर्वर, मलिलो र खेतीयोग्य भूमिमाथि महलहरू ठड्याउने तथा कमसल जमिनमा बाध्यतापूर्वक र त्यसमा पनि परम्परागत तवरमै खेती गरिने भएकाले उत्पादन र उत्पादकत्वमा ह्रास आउने अवस्था उत्पन्न भएको हो । अनि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण गर्न कठिन भयो । फलस्वरूप राष्ट्रिय खाद्य सञ्चिती कमजोर बन्यो । खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि विदेशबाट आयात गर्नुपर्ने भयो, खाद्यान्न महँगो हुने भयो र वितरण प्रणाली चुस्त नहुने भयो, जसले गर्दा खाद्य सुरक्षामा ठूलो चुनौति थपिन थाल्यो । 

विश्वका शहरीकरण हुन नसकिरहेका देशहरू भित्र नेपाल पनि पर्दछ । यहाँको २० प्रतिशत जनसङ्ख्याले पनि शहरमा बस्ने अवसर पाएको छैन । यति हुँदा हुँदै पनि पछिल्लो अवधिमा मुलुक शहरीकरण प्रक्रियामा तीब्रतम् रूपमा अगाडि बढ्ने आँकलन गर्न थालिएको छ । राज्यले नै शहरीकरण प्रक्रियालाई सघन तुल्याउनका लागि नगरपालिकाहरूको संख्या ह्वात्तै बढाएर आम जनतालाई मनोवैज्ञानिकरूपमा नगर वा शहरका वासिन्दा बनाउन कोशिस गरिरहेको पाइन्छ । यसमा आमजनता खुशी नै भएको पाइन्छ । यसबाट देशले विश्व शहरीकरणको प्रक्रियालाई आत्मसात गरेकोे र त्यही लयमा अगाडि बढ्न चाहेको स्पष्ट हुन सकिन्छ । 

नेपालमा पछिल्लो अवधिमा अर्थात् २०६२÷६३ सालभन्दा पहिले जटिल राजनीतिक संक्रमणकालमा मुलुक फसेको तथा हिंसात्मक द्वन्द्व भएकाले आन्तरिक आप्रवासन तीब्र बन्दा शहरीकरण प्रक्रियामा सामेल हुनुपर्ने दबाबमूलक परिवेश पैदा भएको हो । स्वदेशमै रोजगारी पाउन नसकेर विदेश गएको युवा जनशक्ति अन्तर्राष्ट्रिय वा भनौँ विदेशको चमकदमकमा पर्ने र फर्किएपछि वा परिवार ग्रामीण इलाकामा नबसी शहरउन्मुख क्षेत्रमा स्थापित हुने प्रवृत्ति देखिएपछि वा स्थानान्तरण भइसकेपछि विप्रेषणबाट प्राप्त रकम खर्चेर वा ऋण काढेर भएपनि शहरीकरणको प्रक्रियामा जबर्जस्त अगाडि बढ्नु पर्ने अवस्था उत्पन्न भएको पाइन्छ । शहरीकरण प्रक्रिया विस्तारित भएसँगै अर्थतन्त्रको आयतन फैलियो भने आर्थिक गतिविधिहरू पनि तीब्र बनेको देखिन्छ । त्यसो त शहरीकरणले आधारभूत वितरण प्रणाली सुदृढ तुल्याउन, अर्थतन्त्रमा सुधार ल्याउन, जीवनस्तर माथि उठाउन मद्दत पु¥याएकै छ । मुलुकमा राजनीतिक परिवर्तनले शहरीकरणलाई तीब्र तुल्याएको छ र शहरीकरणले राजनीतिक परिवर्तनमा पनि मद्दत पुर्याएको छ । 

शहरीकरणको एउटा ठूलो चुनौति भनेको यसले वातावरण प्रदुषण बढाउन भूमिका खेल्दछ । जलवायु परिवर्तनका कारण पानीको समस्या, पर्यावरणीय समस्या, बाली उत्पादन तथा वितरणमा समस्या उत्पन्न भएको छ । विश्वका गरिब मानिसहरू जसले जलवायु परिवर्तनमा कमै मात्र भूमिका खेलिरहेका छन्, त्यही समुदायले जलवायु परिवर्तनको बढि चपेटामा पर्नुपर्ने दुःखद अवस्था समेत उत्पन्न भएको छ । बजार मूल्यमा अस्थिरता ल्याउन र मूल्य बढाउनमा समेत शहरीकरण जिम्मेवार छ । भिडभाडले गर्दा सडक सञ्जाल साँघुरो हुन्छ भने यसले यातायात सेवामा प्रतिकूल प्रभाव पारेकोले सार्वजनिक वितरण प्रणाली पनि चुस्त बन्न सकिरहेको छैन । 

गरिबी र खाद्य असुरक्षाबीच गहिरो सम्बन्ध हुने भएकाले शहरमा गरिबी बढेसँगै खाद्य सुरक्षा सुदृढ तुल्याउन समस्या पैदा हुने गर्दछ । खाद्य पदार्थमा हुने मूल्य बृद्धिले न्यून आय भएका शहरका गरिबमा असर पर्ने र भोकमरीको शिकार बन्नुपर्ने अवस्था बनेको हो । शहरको सुकुम्वासी वस्तीमा यसको नकारात्मक प्रभाव बढि र प्रत्यक्ष रूपमा पर्दछ । शहरीकरण बढेसँगै उपभोक्ताको खाद्य रुची तथा खाद्य संस्कृतिमा पनि परिवर्तन हुने भएकाले खाद्यपदार्थको माग बढ्दछ र सो अनुसारको खाना आपूर्ति नहुँदा खाद्य संकट उत्पन्न हुन्छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई थप खाद्य असुरक्षाको ठूलो चुनौति शहरी क्षेत्रमा रहेको छ । शहरमा आम्दानी गर्ने श्रमजीविहरूको ठूलो रकम खाद्यान्न तथा आधारभूत सामग्री खरिदमा लगाउनु पर्ने बाध्यता भएकाले भोजनका निम्ति सधै डर त्रासमा नै रहनुपर्ने अवस्था छ । 
नवउदारवादी आर्थिक नीतिका कारणले विश्वका गरिब र न्यून आय भएका मानिसको खाद्य सुरक्षाको अधिकार दिन प्रतिदिन जोखिमयुक्त बन्दै गइरहेको छ । यस गलत नीतिले क्रमशः मध्यम वर्गलाई समेत लपेट्दै लगेको छ । त्यसैले लोककल्याण र समन्यायिक वितरणमा आधारित राष्ट्रिय, आत्मनिर्भर एवं स्वावलम्बी अर्थतन्त्र निर्माणको दिशामा राज्यहरु अग्रसर बन्नुको विकल्प छैन । दिगो कृषि विकासको अवधारणाको कार्यान्वयनले नै दिगो खाद्य सुरक्षा संभव हुने भएकाले सम्बद्ध पक्षले यसमा यथोचित ध्यान दिनु पर्दछ । 

तीब्र बनेको भूमण्डलीकरणले देशहरूको अन्तरनिर्भरता र समन्वय बढाएको छ । यो प्रक्रियाको असर शहरहरूलाई अझ बढि परेको छ । एउटा शहरमा परेको खाद्यान्न समस्याको प्रभाव र प्रवृत्ति अर्को शहरमा पनि पर्दैछ । यसरी मौलिक खाद्य संस्कृति अतिक्रमित बन्दै गइरहेको छ । फलस्वरूप ग्रामीण भेगको तुलनामा शहरका मानिसमा मोटोपन र अधिक तौल बढेको पाइन्छ । शारीरिक श्रम कम गर्ने तथा तारेको, झानेको, नुनीलो र अधिक चिल्लो पदार्थ भएका खानेकुरा सेवन गर्नाले विभिन्न प्रकारका नसर्ने रोगहरू पनि शहरी क्षेत्रमा बढिरहेका छन् । 

ग्रामीण तहमा भन्दा शहरमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको पहुँच र उलब्धताले गर्दा पौष्टिक आहारको जानकारी तथा ज्ञान अधिक हुने, शिक्षाको विस्तार हुने र सार्वजनिक स्वास्थ्यमा केहि हदसम्म सुधार हुने भएकाले शहरमा खाद्यान्नको माग बढ्ने गर्दछ । शहरमा माछा मासु बढि उपभोग हुने गर्दछ । शहरीकरण बढेसँगै घरबाहिर खाना खाने प्रवृत्ति अधिक हुने भएकाले मानिसको स्वास्थ्यमा प्रतिकूल असर त पर्छ नै यसले विदेशबाट आपूर्ति हुने खाद्यान्नमा पनि बढोत्तरी ल्याएको छ । आवश्यकता भन्दा बढि खाद्यान्न उत्पादन गर्नुपर्ने, भण्डारणमा समस्या व्यहोर्नु पर्ने र ढुवानी गर्दा खाद्यान्न नष्ट हुनपुग्ने अवस्थालाई झेल्नु परेको छ । यसबाट प्रकृतिको अत्यधिक दोहन हुनगई जलवायु परिवर्तनमा समेत थप प्रतिकूल प्रभाव परिरहेको छ । जलवायु परिवर्तनका कारणले कतिपय बाली तथा प्राणीहरू लोप भइरहेका छन् । ठूलाठूला कम्पनीहरूले नयाँनयाँ बालीको विकास गरिरहेका छन् जसका कारणले जलवायु परिवर्तन र मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको छ । विश्वको ठूलो जनसंख्यालाई खाद्यपदार्थ प्रदान गर्ने धान खेती खुम्चिने संभावना बढेको छ । धान खेतीले खाद्य सुरक्षा मात्र प्रदान गर्ने होइन बरु यसले त व्यापक मात्रामा पानीलाई संचित र संरक्षण गर्दै वातावरण प्रवद्र्धनमा समेत भूमिका खेलिरहेको हुन्छ । 

शहरमा ‘सुपरमार्केट’को विस्तारले खाद्य उपभोग गर्ने प्रवृत्तिमा ठूलो फेरबदल ल्याएको छ । संसारमा बहुर्राष्ट्रिय निगमद्वारा सञ्चालित करिब तीन दर्जन ठूला ‘सुपरमार्केट’को सञ्जालले एकतिहाइ भन्दा भन्दा बढि खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरूको बिक्रीवितरण गरिरहेका छन् । उपभोक्ताहरूलाई यिनै व्यापारिक केन्द्रमा खरिद गर्ने लत परेकाले नाफामुखी कम्पनीका नयाँनयाँ खाद्य तथा पेय पदार्थका पुरीयावन्द उत्पादनहरू खरिद गर्ने संस्कृति उपभोक्तामा मौलाएको छ, जुन कुरा स्वास्थ्यका लागि असाध्यै हानिकारक छ । सडकपेटी खाना, रात्री खाद्य बजार, होटल तथा रेष्टुरेण्ट व्यवसाय पनि खुबै फष्टाएको पाइन्छ । यसबाट खाद्य संचिती कमजोर बन्ने, मूल्य अस्थिरता हुने तथा वितरण प्रणालीमा प्रतिकूल असर पर्ने प्रवृत्ति देखिएको छ ।  

ग्राम–शहर साझेदारीको अहिले नै विकल्प खोज्न सकिँदैन । खाद्य आपूर्ति तथा वितरण प्रणालीमा अन्तरनिर्भर गाउँ र शहरी क्षेत्रको समन्वयकारी बलियो सम्बन्ध आजको आवश्यकता हो । शहरले ग्रामीण क्षेत्रको खाद्यान्नमा पूर्णरूपमा भर नपरी प्राकृतिक वातावरण सिर्जना गर्दै कौसी र करेसाबारी खेती गर्नसकिने किसिमका भौतिक संरचना एवं परिवेश निर्माण गर्न सक्दा तरकारी, फलफूल तथा माछा मासुमा शहरी खेतीले पनि योगदान पु¥याउन सक्दछ । शहरी क्षेत्रको भूमि, पोखरी, सार्वजनिक उद्यान तथा जमिनमा उच्च मूल्यका सागशब्जी तथा फलफूल लगाउन तथा माछा पालन गर्न सदुपयोग गर्दै खानाको स्रोत बढाउनु पर्दछ । यस दिशामा सम्बद्ध सबैले ध्यान दिनुपर्ने खाँचो टड्कारो बनेको छ ।