दिनेश घिमिरे
यत्तिखेर केही थान मान्छेहरु संसदमा समाननीय राष्ट्रपतिले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम बारेमा बहस गर्न छाडेर राष्ट्रपतिले व्यक्त गर्नुभएको ‘मेरो सरकार’ शब्दलाई  आकाश खसे झैं गरि प्रचार गर्न उद्दत छन् । विरोधका नाउँमा विरोध गर्नेहरुका लागि त राष्ट्रप्रमुखले बोल्नु भएको उक्त शब्द विरोधको राम्रै मसला भयो होला तर गरिएको विरोध संकिर्ण मानसिकता र सम्मानित संस्थालाई बदनाम र कमजोर गराउने दोषी चश्माको उपज बाहेक केही हैन । 

दोष दिनेहरुले ‘मेरो सरकार’ शब्द राजा महाराजाहरुले प्रयोग गर्ने शब्द भएको जिकिर गरिरहेका छन् । उनीहरुलाई त्यो शब्द राष्ट्रपतिले भन्नु भनेको अब यो सरकार राजामहाराजाहरुकै सरकार जस्तै भयो रे ! यहाँ विचारणिय कुरा के छ भने के यो सरकार वा यो संस्था राजामहाराजा जसरी खडा भएको हो ? हैन भने विचारमा दरिद्रता भएकाहरुले बुझ्नु पर्ने कुरा के हो भने यो सरकार जनताको मतबाट आएको सरकार हो । यो सरकार मुलुकमा जनताले बगाएको रगत र पसिनाले सृजित संविधान अनुसार विधिमा खडा भएको सरकार हो । र सरकार संविधान अनुसारको विधिमा चलेको छ र बिधि अनुसार यसको बहिर्गमन हुन्छ ।

विरोध गर्नेहरुका लागि यहाँ केही यक्ष प्रश्नहरु छन् – मुलुकको सर्वोच्च संस्थाले संविधान अन्तर्गत बनेको सरकारलाई मेरो सरकार भन्नु किन अनुचित भयो ? मेरो देश, मेरो राष्ट्र, मेरो सरकार भन्दा कसरी सामन्तवादको गन्ध आउँछ ? कुनै शब्द हिजो सामन्तहरुले प्रयोग गरेका थिए भनेर के आज ति शब्द हामी प्रयोग गर्नै छोड्ने त ? विकास निर्माण गर्नुपर्छ भनेर हिजोका समान्तहरुले पनि भने के आज हामीले विकास गर्नुपर्छ भनेर  भन्नु हुँदैन त ?

एउटा कुरा चाँहि के स्पष्ट छ भने संविधान अनुशार बनेको सरकारलाई स्विकार्न नचाहने, महिनौं पिच्छे सरकार बदलेर सत्ताको स्वाध चाँख्न चाहनेहरुका लागि यत्तिखेर मुलुकमा कम्यिूनिष्टहरुको दुई तिहाईको सरकारले हनहनी जरो हाइरहेको छ । त्यसैले उनीहरु बर्तमान सरकारलाई जनताको मतद्घारा स्थापित सरकार हो भन्ने भुलेर फगत कम्यिूनिष्टहरुको सरकार मात्र बुझिरहेका छन् देखिरहेका छन् । सरकारले गरेको विकास निर्माण, सरकारले देखेको दुर दृष्टि र सरकारले रोकेको अनियमितता, भ्रष्टाचार र लुटतन्त्रले उनीहरुको टाउको नराम्री दुखेको छ  । त्यसैले र्साभौमराष्ट्रको सर्वोच्व संस्थाबाटै मेरो सरकार भनेपछि उनीहरुको टाउको दुख््नु स्वभाविक नै हो ।

विरोध गर्नेहरुका कुरा यत्ति संसदमा प्रस्तुत नीति तथा कार्यक्रमका राम्रा वा नराम्रा पक्षमा पनि भएका भए त ठिकै हो भनेर पत्याउने आधार हुने थियो तर नीति तथा कार्यक्रमका राम्रो वा नराम्रा पक्षमा चुइक्क बोल्न नसक्ने उनीहरु कित सरकारलाई भद्दा गाली गर्नुमा मज्जा मान्छन् कि त मुलुकको सर्वोच्व र सम्मानित संस्थालाई हिलो छ्याप्दा आनन्द मान्छन् । 

लोकतन्त्रको दुहाई दिन सिपालु उनीहरु आफैंले गरेको कुप्रचार र झुटो अभिव्यक्तिले लोकतन्त्रकै मर्ममा प्रहार गरेको कुरा भुल्छन् । यसो गरिरहँदा उनीहरुलाई अलिकति पनि लज्जा बोध हुँदैन । किनकी, उनीहरुको दृष्टिकोण हरतरहले सरकार विरोधी छ । उनीहरुलाई यो सरकारलाई राष्ट्रपतिले त के सामान्य नागरिकहरुले समेत मेरो सराकार भनेकोमा तनाव छ । संविधान अनुसार बनेको सरकारलाई उनीहरु तानाशाही देख्छन् । विकास र संवृद्घिका कुरा उनीहरुका लागि केवब उखान र टुक्का मात्र लाग्छन् । विकास, संवृद्घि र सुशासन  उनीहरुका लागि देख्नै नहुने , बोल्ने नहुने र सुन्नै नहुने शब्द हुन् । त्यसैले मुलुकको  सर्वोच्व संस्थाले संसदमा मेरो सरकार भन्नु उनीहरुको लागि आँठौ आश्चर्य हो । 

राष्ट्रपतिको सम्बोधनका क्रममा  कतिपटक ‘मेरो सरकार’  भन्ने शब्द प्रयोग भयो र कतिपटक  ‘गरिनेछ’ भन्ने शब्द प्रयोग भयो वा कतिपटक रेल र , पानी जहाज शब्द प्रयोग भयो यो उनीहरुको चासो छ । कतिवटा बाटो बने, कतिबटा बस्ती बने, कतिवटा पुल बने वा कति वटा आयोजनाहरु सम्पन्न हुँदैछ त्यो उनीहरुको चासो र चर्चा गर्ने विषय नै होइन । सरकारले हजारौं हजार रोपनी जग्गा मिचिएको वा हडेपेकाहरुको खोजि गरेकोमा उनीहरु देख्दैनन् देख्छन् त उनीहरु सरकारसँग जोडिएका मान्छेहरुले किनेको ८ आना जग्गामा मात्र पर्छ  । किनकी आफ्नो हजारौं हजार रोपनी छल्न अन्य कुनै उपाय नै छैन उसँग । स्पष्ट छ विरोध गर्नेहरु राष्ट्रपतिको चिन भ्रमण र त्यसको उपलब्धीबाट समेत त्रसित छन् । हालै भएको राष्ट्रपतिको भ्रमणबाट मुलुकले पारवहन सम्झौतादेखि अन्य धेरै क्षेत्रमा गरेको प्रगतिले उनीहरुको राजनीति धुलिसाथ गरिदिएको छ । अझ राष्ट्रपतिलाई चीनमा भएको संम्मानले उनीहरुको आत्मवलमा ठेस पुगेको छ । 

अन्तमा, मुलुकको सम्मानित संस्थाले संसदमा मेरो सरकार भन्नु गर्वको विषय हो । मुलुकका पक्षमा र हितमा भएका थुप्रै उपलब्धीहरुलाई देख्न नचाहने दृष्टिदोष भएकाहरुले सरकार वा संवैधानिक संस्थाको उपलब्धिको चर्चा न हिजो गरे न त भोली नै गर्नेछन् । उनीहरु आफ्नो आंङ्मा भएको भैंसी नदेखेर अर्काको आंङ्को जुम्रा केलाउनमा सधंै उद्दत हुने नै छन् । सफेद भित्तामा एउटा सानो कालो मसी देखाउँदैमा पुरै भित्ताको सफेदपनलाई छोप्न चाहनेहरु ससाना शब्दलाइ उछालेर चियाको कफमा तुफान ल्याउने कोशिस गरिरहने छन् । राष्ट्रपति जस्तो सबैको साझा र सम्मानित संस्थालाई विवादमा तानेर गरिएका कूप्रचारहरु इतिहासले आफै किनारा लगाउने त छँदै छ, तीनै कूप्रचारसँगै लोकतन्त्र विरोधी, विकास विरोधी, र दोषी चश्माहरुको समेत पतन अवश्यम्भावी छ ।