लुम्बिनी, १७ जेठ –‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ । 

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो । 

उहाँले देवदहमा आयोजित काष्ठकलामा सहभागी मूर्तिकारको प्रशंसा गर्दै प्राचीन कोलिय गणराज्यको झझल्को दिनेगरी बनाइएको मूर्तिको संरक्षणका लागि राज्यकोतर्फबाट आवश्यक सहयोग दिने बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहको ऐतिहासिकता झल्किने गरी मूर्तिकारले एक हप्तासम्म गरेको मेहनत र परिश्रमले बुद्धकालीन सभ्यताको प्रतिकात्मक सन्देशलाई प्रवाह गर्न सहज बनाएको बताउनुभयो ।

देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले जङ्गलमा फालिएका काठलाई मूर्तिकारले सीप र कौशलले जीवन्त बनाएको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका सदस्यसचिव विपीन घिमिरेले देवदहमा कलाकारले देखाएको सीप र कौशलले कला र संस्कृतिको संरक्षणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  
 
ड्रिम देवदह युनिटी फर चेञ्जका संयोजक सिद्धीचरण भट्टराईले काम नलाग्ने काठका मुढालाई आकर्षक ढङ्गले प्राण भरेर कलाकारले राम्रो काम गरेको बताउनुभयो । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले देवदहको ऐतिहासिकताका लागि काष्ठकला कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । 

प्राज्ञ लालकाजी लामाले देवदहवासीका लागि मूर्तिकारले मायाको चिनो स्वरुप मायादेवी, प्रजापति, बुद्ध, सप्रबुद्ध लगायतको मूर्ति छाडेर जान लागेको बताउँदै त्यसको संरक्षणमा स्थानीयवासी तथा स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । 

सो कार्यशालामा बुद्धत्व झल्किने विभिन्न १७ वटा काठका मूर्ति तयार गरेर आयोजकलाई हस्तान्तरण गरिएको छ । उक्त मूर्ति स्थानीय आमा समूहको सहभागितामा राष्ट्रिय गौतमबुद्ध उद्यान समितिले संरक्षण गर्ने भएको छ ।