रौतहट, २८ भदौं– रौतहटको गजुरा नगरपालिकामा एमालेका तर्फबाट मेयर रामेश्वरी चौधरी दशजना पुरुष उम्मेदवारसँग भिड्दै हुनुहुन्छ । थारु समुदायकी यी महिला असोज २ गते हुने निर्वाचनमा सफलता पाउन मतदाताको घरदैलोमा ब्यस्त हुनुहुन्छ । उहाँ आफूले जित्ने ठोकुवा गर्नुहुन्छ । 

‘पार्टीको निर्णय त छंदैछ, म नगरवासीकै आग्रहमा उम्मेदवार वनेकी हुँ’ चुनावी अभियानमा घरदैलो गरिरहनु भएकी चौधरीले भन्नुभयो, ‘त्यसै कारण पनि म जित्छु भन्नेमा ढुक्क छु ।’ तराईमा महिलामाथि हुने कुरितीजन्य हिंसा अन्त्य गर्ने आफ्नो अठोट रहेको उहाँले वताउनुभयो । ‘समाजमा महिलामाथि हुने थिचोमिचो र भेदभावहरु अन्त्य गर्नुछ , महिलाहरु वुर्का र घरमा मात्र सिमित हुने भन्ने मनोविज्ञानलाई यसपल्ट म विस्थापित गर्छु’ उहाएले भन्नुभयो, ‘त्यसमाथि महिलाले नेतृत्व गरेको स्थानीय तह कसरी राम्रोसँग अगाडि बढ्छ भन्ने उदाहरण पनि म पेश गर्दैछु ।’ 

नगरपालिकामा भौतिक र मानवीय विकासका धेरै विषयहरु आफूले चुनावी एजेण्डा बनाएको उहाँको भनाई छ । ‘हामी विकास चाहन्छौं, जनताका अधिकारका धेरै विषय विकासले मात्र सम्बोधन गर्न सक्छ’ चौधरीले भन्नुभयो, ‘विकासका लागि भिजन बोकेको पार्टीबाटै त्यो सम्भव छ ।’ नगरपालिकाबाट नगरबासीले पाउनु पर्ने न्युनतम सेवा सुबिधा ब्यवस्थित गर्ने र किसानको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम आफूसँग भएको उहाँको दावी थियो । 

गजुरा नगरपालिकामा अधिकांश थारु समुदायको बसोबास छ । यहाँका थारु समुदाय धेरै पछि पारिएको कारण तिनीहरुको उत्थानमा आफ्नो विजय आवश्यक भएको चौधरीको भनाई छ । ‘यस नगरको बिकास गर्न निस्वास्र्थ रुपमा काम गर्ने मान्छेको आवश्यकता छ । त्यो संभावना म मा देखेका कारण नगरवासीले मलाई उम्मेदवार वन्न हौस्याउनु भएको हो’,उहाँले भन्नुभयो, ‘त्यसकारण मैले जित्छु ।’ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट शेख दाउद, माओवादीको तर्फबाट पलट चौधरी,राष्ट्रिय जनता पार्टीको तर्फबाट सन्तलाल चौधरी लगायतले प्रमुखमा उमेदवारी दिनुभएको छ । सो नगरपालिकामा साबिकका कनकपुर ,रंगपुर,प्रतापपुर पल्टुवा, सिमरा भवानीपुर र लक्ष्मीपुर दोस्तीया गाबिसहरु समाबेश गरिएको छ ।