काठमाडौँ, १२ असार -  आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले अवलोकन गर्नुभएको छ ।    

असार ५ गतेबाट शुरु भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको रिमालले जानकारी दिनुभयो । “आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु”, उहाँले भन्नुभयो । प्रदर्शनीका क्रममा आफ्नो कलालाई आगामी दिनमा थप निरन्तरता दिँदै जानुपर्नेलगायत अन्य सकारात्मक सुझाव आएको उहाँले बताउनुभयो । उहाँको निजी निवास नक्साल, नारायणचौरमा शशिशङ्कर ग्यालरीसमेत प्रदर्शनीमार्फत विस्तार गर्नुभएका रिमाल भन्नुहुन्छ, “निजीस्तरबाट सञ्चालित भएकाले सधैँभरि खुला हुँदैन, अवलोकन गर्न चाहनेले सम्पर्क गरेर आउन सक्नेछन् ।”    

रिमालको चित्रकला र मूर्तिकला आधुनिक परम्परागत शैलीसँग सम्बन्धित छन् । रिमालको ग्यालरीमा ३५ चित्र, १५ मूर्ति, लगभग ५० भन्दा बढी आर्किटेक राखिएका छन् । रिमालको यो पहिलो एकल प्रदर्शनी हो । रिमालको परिवारका सदस्यहरुको पारिवारिक जमघटबीच प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।    
रासस