काठमाडौं, ८ फागुन - पर्यटन मन्त्री योगेश कुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईवटा रोवोट सेवा शुभारम्भ गर्नुभएको छ ।

पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरूले विमानस्थलमा आएका यात्रुहरुलाई अभिवादन गर्ने काम गर्नेछन्। रोबोटहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ। त्यस्तै, रोबोटहरुले सेट गरिए अनुसारका सूचनाहरु टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन्।

नेपाली प्राबिधिकले नेपालमै तयार पारेका उक्त रोबोटले विमानस्थल प्रयोग गरेर आवत जावत गर्ने यात्रुहरु संग अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरूलाई नेपालका पर्यटन गन्तव्य, भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारका कामलाई अझ सहज बनाउनुका साथै सुचना मैत्री वनाउन रोबोट सेवा शुभारम्भ गरिएको मन्त्री भट्टराईको भनाई छ ।

उक्त रोबोट सञ्चालनमा मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा थालनी गरिएको   हो। प्रति रोबोट रु २० लाख रुपैयाँ लगानी भएको छ।