काठमाडौँ, २८ पुस - इटालियन सिरी ए मा युभेन्ट्सले महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थानमा उक्लिन सफल भएको छ । जितसँगै युभेन्ट्स स्पष्ट दुई अङ्कको अग्रता लिएको छ ।


रोमालाई उसको घरेलु मैदानमै युभेन्ट्सले २–१ ले हरायो । युभेन्ट्सको जितमा मेरिह डेमिरल र स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले एक एक गोल गर्नुभयो ।

खेल सुरु भएको तेस्रो मिनेटमै डेमिरलले पाउलो पिजानिकको फ्रि किकलाई गोलको दिशा दिनुहुँदै खेलमा युभेन्ट्सलाई १–० को अग्रता दिलाउनुभयो ।

पहिलो गोल गरेको सात मिनेट नबित्दै क्रिष्टियानो रोनाल्डोले अग्रतालाई दोब्बर पार्नुभयो । रोमाका जोर्डन भेरेटाउटले पाउलो डिबालालाई लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पायो । रोनाल्डोले उक्त अवसरलाई गोलमा परिणत गर्न कुनै गल्ती गर्नुभएन ।


दोस्रो हाफमा रोमाका लागि डिएगो पेरोटीले गोल फर्काउनुहुँदै खेल २–१ मा ल्याउनुभयो । ६६ औं मिनेटमा कोलारोभको क्रसलाई एलेक्स सान्द्रोले गोललाइनबाट क्लियर गर्नुभयो । भिडियो रिभ्युमा एलेक्स सान्द्रोको हयाण्ड देखिएपछि रोमाले पेनाल्टीको अवसर पायो ।

जसलाई पेरोटीले गोलमा परिणत गर्दै खेलमा वापसी गराउनुभयो ।


इटाली सिरी ए मा जुभेन्ट्सले १९ खेलबाट ४८ अङ्क जोड्दै शिर्ष स्थानम ाउक्लिएको छ । दोस्रो स्थानको इन्टर मिलान त्यत्तिकै खेलबाट ४६ अङ्क जोडेको छ ।

लाजियोले १८ खेलबाट ४२ अङ्क प्राप्त गरेको छ । रोमा भने १९ खेलबाट सामान ३५ अङ्क जोडेर एटलान्टाभन्दा एक स्थान तल पाँचौं स्थानमा छन् ।

एजेन्सी