रुकुम, १ असार – रुकुम पूर्व र पश्चिममा मगर समुदायहरुको ठुलो चाड भूमे नाचको रौनक शुरु भएको छ । 

मगर समुदायहरुको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा सहिदमैदानमा पनि भूमे नाचको रौनक शुरु भएको हो । रुकुम पूर्वमा घर भई ब्यापार व्यवसायका लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बस्ने उनीहरुले आफ्नो समुदायमा मनाउने खाम मगरको चाड बल पूजा तथा भूमे नाच मनाई रहेका हुन । 

हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई भुमी पूजा गरेपछि बलपुजा तथा भूमे नाच शुरु हुन्छ । अघिल्लो दिन पुजापाठको काम हुने भएपनि असार १ गते देखि ५ गतेसम्म भूमे नाच नाचेर समापन हुने गर्दछ । 

मगर जाती मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ । रुकुम पूर्वका सिस्ने, पुथा उत्तरगंगा, र भुमे गाउँपालिकामा रहेका आदीवासी जनजातीले खासगरी खाम मगर जातिले विशेष महत्वका साथ मनाउने यो पर्वले रुकुम पश्चिमको सदरमुकाम खलंगामा पनि विशेष महत्वका साथ मनाउने गरिएको लाङघाली समाजका उपाध्यक्ष राजकुमार पुनले बताए । उनका अनुसार मगर जातीले पृथ्वी अर्थात् भूमीलाई  मुख्य देवताको रुपमा  पुज्ने चलन छ ।