काठमाडौ, ३० वैशाख– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो । नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो  ।

लोगो र मस्कट खुल्ला छनोट प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । लोगोमा शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ । जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने छ । लोगो डिजाइन गरेवापत पौडेलले १ लाख नगद पुरस्कार समेत पाउनुभएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि बिश्वकर्माले सागको तयारी आरम्भ भएको बताउनुभयो । त्यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले सागको प्रतिक चिन्हमा राखिएको चिन्हले शान्ति दर्शाउने बताउनुभयो । राखेप सदस्यसचिब बिष्टले पूर्वाधारको कारणले साग नरोकिने बताउनुभयो ।