काठमाडौँ, १६ असार - १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरस (कोभिड १९)का कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि प्रतियोगिता २०२१ का लागि सार्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

यसै बैठकले साफ यू-१५ च्याम्पियनसिप, साफ यू-१५ साफ महिला च्याम्पियनशिप र साफ यू-१८ महिला च्याम्पियनसिप पनि स्थागित गरिएको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै युवा प्रतियोगिताको सन्दर्भमा भने कोरोनाको स्थितिको समीक्षा गर्दै सेप्टेम्बरको शुरुमा बस्ने बैठकसम्मका लागि स्थगित गरिएको जनाएको छ ।