काठमाडौं– नेपाली कांग्रेसले मंगलबार सरकारबिरुद्ध सडक र सदन आन्दोलन घोषणा गर्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार नै भेटेर आन्दोलनको तयारी गरेको भन्दै माग सम्वोधन गर्न चेतावनी दिए । 

कांग्रेस सरकारबिरुद्ध आन्दोलनमा छँदैथियो । काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ कम्युनिष्ट सरकार बनेदेखि नै आन्दोलनमा छ । मंगलबार पनि नेबिसंघले सडक प्रदर्शन गर्यो । त्यसैले पार्टीका रुपमा मंगलबार उसले औपचारिक आन्दोलनको घोषणा गरेको मात्र हो । सरकारका निर्णय र क्रियाकलापमा असहमति राख्ने र त्यसमा आन्दोलनका मोर्चाहरु खुला गर्ने प्रतिपक्षको स्वभाबिक अधिकार हो । यसलाई अन्यथा लिनुपर्दैन ।

तर कांग्रेसले कुन माग र तर्कका आधारमा सडक र सदन तताउने भनेको हो, त्यो महत्वपूर्ण हो ।    अहिले कांग्रेस उठाएका मागहरु मूलत् दुई वटा छन् । त्यसमध्ये पहिलो माग हो– अनसनरत् डा. गोबिन्द केसीका मागको सम्वोधन । मुलुकका लागि यो एउटा मुद्दा हो तर कांग्रेसका लागि यो सरकारबिरुद्वको आन्दोलनको तार्किक एजेण्डा होइन । केसीको यो १५ औं अनसन हो, जवकि उनी यसअघि कांग्रेसकै प्रधानमन्त्रीहरु सुशिल कोइराला र शेरबहादुर देउवाका पालामा ७ पटक यही माग राखेर अनसन बसेका थिए । अहिले केसी आन्दोलनका प्रवक्ता कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री बन्दा डा. केसी दुईपटक अनसन बसे ।

स्वास्थ्यमन्त्री थापाले त्यसबेला नै केसीका माग सम्वोधन किन गरेनन ? र, अहिले किन यसलाई प्रमुख मुद्दा बनाइरहेका छन ? यो प्रश्नको तार्किक जवाफ उनले नदिंदासम्म आन्दोलनको अर्थ छैन ।  

अर्को एजेण्डा हो– सरकारद्वारा बिरोध प्रदर्शनका लागि तोकिएका स्थान । नेपालमा मात्र होइन, दुनियाँका सबै देशमा राजनीतिक प्रदर्शन गर्नका लागि केही निश्चित स्थान तोकिएका हुन्छन् । जतिबेला जहाँपायो त्यँहा बिरोध प्रदर्शन पाइदैन । यसको सामान्य सिद्वान्त सर्वसाधरणको भयरहित यात्राको सुनिश्चितता हो । सरकारले बिरोध गर्न निषेध गरेको भए, बिरोध गर्न सकिन्थ्यो । तर सरकारले बिरोधलाई व्यवस्थित गर्नका लागि केही ठाउँ तोकेको हो । बिरोध प्रदर्शनका लागि स्थायी स्थान तय गर्नु कसरी प्रजातन्त्र बिरोधी भयो ?    

यी दुबै मागलाई एकर ठाउँमा राखेर कांग्रेस, केही बुद्विजीवि र केही सञ्चारमाध्यमले थालेको योजनाबद्व प्रोपोगाण्डा हो–कम्युनिष्ट अधिनायकवाद । कम्युनिष्ट सरकार अधिनायकवादी सरकार भएको र अझ प्रधानमन्त्री ओली अधिनायकवादी भएको भन्दै त्यसका बिरुद्ध आन्दोलन । अधिनायकवादी भएको योजनाबद्ध प्रचारमार्फत कांग्रेसले राजनीतिक पुर्नजीवन खोजेको देखिन्छ, जुन सम्भव छैन ।  निर्वाचनमा लज्जास्पद पराजय भएको कांग्रेस अझै त्यो रन्थनाहटबाट बाहिर आउन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टीको सरकार, त्यसमा पनि प्रष्ट मार्गचित्रसहितको सरकार र प्रधानमन्त्री ओलीको बढ्दो राष्ट्रिय÷अन्तराष्ट्रिय छबी कांग्रेसका लागि त्रासदी भएर आयो ।

त्यही भएर राजनीतिक कुनै एजेण्डा नभएपछि कांग्रेसले अधिनायकवादको हौवा खडा गर्ने प्रयास गरेको हो, जो बिरोधका लागि बिरोधमात्र हो, यथार्थ होइन । पार्टी नेतृत्वको मात्र तुलना गर्दापनि  प्रजातन्त्रप्रतिको प्रतिबद्धता र संघर्षमा ओलीका सामु देउवा लिलिपुट नै हुन । ओलीसँग सपना छ, मार्गचित्र छ र कार्यान्वयन गराउने सामथ्र्य छ । देउवाबाट त्यस्ता कुनै योजना सार्वजनिक भएको छैन । गगन थापा र बिश्वप्रकाशहरुको सरकारबिरुद्धको चर्का आवाज पार्टीभित्र नेता बन्ने प्रयासमात्र हो ।

ओली सरकारले केही ऐतिहासिक उपलब्धी हासिल गर्यो ।  स्वतन्त्र नेपालको पहिचान स्थापित भयो भने सन्तुलित नीतिमार्फत नेपालमा चीन र भारत दुबैको लगानी भित्र्याउने समझदारी कायम भएको छ । अहिलेसम्मका सरकारले तोड्न नसकेको यातायात सिण्डिकेट लगायतका सबैखाले सिण्डिकेट तोड्ने काम भइरहेको छ । यस्ता कामले केही समय लिन्छन । त्यसकै आधारमा सरकारले काम नगरेको भन्नुको तुक छैन ।

यो सरकार जनमतबाट आएको सरकार हो । प्रधानमन्त्री ओली आफैं लामो समयको संघर्षपछि र आफ्नो काम प्रमाणित गरेर यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्रीले नयाँ ढंगबाट प्रणाली बसाएर काम गर्न खोजेको हो । तर त्यसलाई नै अधिनायकवाद भन्दै कोकोहोलो मच्चाउनुको औचित्य छैन । प्रधानमन्त्री स्वयले डा. केसीका मागलाई सम्वोधन गर्न टोली बनाएर वार्ता भइरहेको छ । सबैभन्दा महत्वपूर्ण डा. केसीको स्वाथ्य हो । उहाँको स्वास्थ्य नबिग्रियोस् भनेर उहाँलाई काठमाडौंमा ल्याएर उपचारको व्यवस्था गरी त्यस अनुसार प्रयास भएको हो । तर डा. केसीलाई मोहरा बनाएर सरकारबिरुद्ध प्रहार गर्ने काममा कांग्रेस र विवेकशिल साझाले गठबन्धन गरिरहेका छन् । यो दुर्भाग्य हो । 

त्यसैले पहिला डा. केसीलाई बचाउनुपर्छ, त्यसो भएमा उहाँका मागलाई क्रमश सम्वोधन गरेर जान सकिन्छ । तर सरकारले वारम्वार आग्रह गर्ने, वार्ता टोली बनाउने र वार्ता पनि गर्ने तर उहाँपछि रहेको एक समुहले भने जे गर्दा पनि नमान्ने हठले गर्दा अफ्ठ्यारो अवस्था उत्पन्न भएको हो । कांग्रेसले वा विवेकशिल साझाले आन्दोलनका लागि आन्दोलन गर्दा त भयो तर राष्ट्रका समस्या समाधान गर्ने हो भने रचनात्मक हुन सिक्नुपर्छ ।