काठमाडौँ, २५ जेठ - मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । 

सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज आज टोखास्थित भूतखेल चौरमा उडाइयो ।

राष्ट्रिय विज्ञान प्रदर्शनीमा रु ४० हजारबाट प्रथम पुरस्कार जित्न सफल सो हवाइजहाजको बिहीबार प्रदर्शन गरिएको हो । 

कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अधिकारीले नमूना हवाइजहाज बनाएर राम्रो काम गरेकामा विद्यार्थीलाई धन्यवाद दिनुभयो । नमूना हवाइजहाजको निर्माता विश्वकर्माले सामाजिक सञ्जालमा हेरेर हवाइजहाज बनाइएको जानकारी दिनुभयो ।

सो अवसरमा टोखा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै एक हजार विद्यार्थीको सहभागिता थियो । 
रासस