काठमाडौँ, २८ भदौ  । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल)खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार  यूएई जानुभएको हो ।  

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । 

आईपीएल खे सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ जानुभएको छ  । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले  लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लाग्नुभएको हो । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । 
सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उहाँलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो । 

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो जानुभएको हो । नियमित उडान बन्द भएको अवस्थामा उहाँ कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जानु भएको थियो ।

यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ । 

सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिनुभएको थियो । 

उहाँ सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहनुभयो ।