काठमाडौँ, २४ भदौ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाहिर अपराध गरेर लुक्छु भनेर नेपालमा आउने अपराधीहरुको योजना सफल नहुने बताउनुभएको छ ।

महानगरीय प्रहरी परिसर, महानगरीय अपराध नियन्त्रण महाशाखा र नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवन शिलान्यासपछि आज पुलिस क्लबमा आयोजित समारोहमा उहाँले विदेशी अपराधीहरु अब प्रहरीको नजरबाट भाग्न नसक्ने दावी गर्नुभयो । “बाहिर अपराध गरेर लुक्न आउन सम्भव छैन, हामीले नियन्त्रणको संयन्त्र बनाइसकेका छौँ, विमानस्थलमा वा नभए जहाँ पनि प्रहरीले समात्छ, पक्राउ गरिरहेको पनि छ, कानूनको दायरामा आउन र सुध्रनका लागि आए हुन्छ”, प्रहरी महानिरीक्षक खनालले भन्नुभयो । उहाँले विदेशबाट आएका अपराधीहरु विमानस्थलमा, भाग्दाभाग्दै र अपराध गर्दागर्दै समातिएको भन्दै प्रहरी अपराध नियन्त्रणमा चुस्त भएर लागेको जिकिर गर्नुभयो ।

भूकम्पका कारण हनुमानढोकाका प्रहरी रातारात टेकु गएर पानी, घाम, हावाहुरीको परवाह नगरी जनताको सेवामा तल्लीन भएको स्मरण गर्दै प्रहरी महानिरीक्षक खनालले विभिन्न आरोहअवरोहबीच प्रहरी कर्मचारीले राष्ट्रप्रति देखाएको समर्पणभावको प्रशंसा गर्नुभयो । अहिले बन्न लागेका भवनहरु बालबालिका, अपाङ्गता भएका र नागरिकमैत्री तथा काठमाडौँको आवश्यकता पूर्ति हुने खालको बन्ने उल्लेख गर्नुभयो । उहाँले समयमै निर्माण सम्पन्न नगर्ने र गुणस्तरमा ध्यान नदिने ठेकेदार या जोकोहीलाई पनि कारवाही गर्ने भन्दै सबै प्रहरी अधिकृतहरुको ध्यानाकर्षण गराउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिलान्याससँगै भौतिक पूर्वाधारको दयनीय अवस्थाबाट माथि उठ्ने प्रयास शुरु भएकाले भवन निर्माणपछि प्रहरीको सेवा थप चुस्त हुने विश्वास व्यक्त गर्नुभयो । भवनको बारेमा जानकारी दिँदै नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा महानगरीय प्रहरी परिसर, नौ रोपनीमा महानगरीय अपराध नियन्त्रण महाशाखाको भवन निर्माण हुने र नेपाल पुलिस क्लबको आधुनिक समयअनुसारको बहुउद्देश्यीय भवन निर्माण हुने जानकारी दिनुभयो । यसमा ७५० क्षमताको अडिटोरियम हलसमेत निर्माण गरिनेछ । प्रहरीका अन्य भवनसमेत सुविधायुक्त बनाउने उहाँले जानकारी दिनुभयो ।