काठमाडौं, २६ असार –  सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ ।

गत असार १५ गतेसर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीप्रहारबाट  सरोज सिंहको मृत्यू भएको थियो ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने निर्णय भएको जानकारी दिनुभयो ।