सरोज कुईकेल
नेकपाको दुईतिहाई बहुमतको सरकार निर्माण भएयता मुलुकको जेठो राजनीतिक दल नेपाली काँग्रेसले लोकतान्त्रिक मुल्य अनुसार आफ्नो राजनीतिक भूमिका स्पष्ट गर्न सकेको छैन । खासगरी आफ्नै पार्टी भित्रको आन्तरीक लोकतन्त्रलाई सुदृढ गर्न नसक्दा उत्पन्न किचलोलाई सामान्य व्यवस्थापन गर्न नै उसलाई समय लाग्यो । लोकतन्त्रको एकमात्र पहरेदारको दावा गर्ने नेपाली काँगे्रसले यतिबेला आन्दोलनको मुद्धाको व्यापक खोजी गरिरहेको छ । सरकारका विधि सम्मत निर्णयहरु र त्यसको कार्यान्वयनको बिषयलाई उसले मुद्धा बनाउन खोजेको छ । जसमा द्धन्द्ध पिडित अनसनकारी गंगामाया अधिकारीको जीवन रक्षा र अर्का चिरपरिचित अनसनकारी डाक्टर गोविन्द के.सी.ले उठान गरेका बिषयलाई काँग्रेसले खुलेरै आफ्नो पार्टीको मुद्धा बनाएको छ । जुन कुरा आफंैमा उदेक लाग्दो बिषय हो किनकी नेपाली काँग्रेसको नेतृत्वमा रहेको शुशील कोईरालाको सरकार र शेरबहादुर देउवाको तत्कालिन सरकारका बिरुद्ध पनि यी दुई अनसनकारीले अनसनकै माध्यमबाट आन्दोलन गरेकै हुन् । तत्कालिन सरकारले त्यसको हल किन गरेन भनेर यतिबेला जनस्तरमा चर्चा चलिरहेकै छ । यो कुरालाई मनन नगरी काँग्रेसले उनीहरुको मुद्धा उठाउनु भनेको के पाउँ कनिका बुकाउँ भने झैं मात्र हो ।

प्रजातन्त्र प्राप्तिका निम्ति भएको जनक्रान्तिको सफल नेतृत्व गरेर मुलुकमा स्थापित भएको पार्टी नेपाली काँग्रेसले उतिबेला उठान गरेका नागरीकका मौलिक हक र उसले अघि सारेको राज्यको अधिकारको बिषयलाई यतिबेला काँग्रेस डोकाले बिरालो छोपे झैं गरीरहेको छ । स्पष्ट बहुमत प्राप्त सरकारले सम्पादन गरेका काम कार्वाही उपर औंला उठाउनु पूर्व काँग्रेसले त्यसको कार्यान्वयन पछि परिणाम हेरेर बिरोधका आवाजहरु बुलन्द गर्नु पर्नेमा राजनीतिक विश्लेषकहरुको जोड देखिन्छ । कुनै पनि बिषय निर्णय हुने बित्तिकै त्यसको प्रभावको अनुभव र मुल्याँकन गर्ने अवसर नै नदिई विरोध गर्नु लोकतान्त्रिक चरित्र होईन । आफ्ना पालामा निर्वाह गर्नु पर्ने दायित्वबाट विमुख भएर यतिबेला रोईलो छोड्नु काँग्रेसका लागि उपयुक्त हुँदै होईन । डाक्टर गोविन्द के.सी. जस्ता सरकारी कर्मचारीले सशक्त सरकारलाई अनसनका भरमा कमजोर बनाउँछु भनेका भरमा गत मंसीरमा मात्रै सम्पन्न भएको आम निर्वाचनको परिणामलाई भुलेर साथ दिने काँग्रेसको मुख्र्याईंलाई के भन्नु र खोई ! 
नेपाली काँग्रेसले यतिबेला देश, जनता र आफ्नो पार्टीको भलो चिताउने हो भने निम्न कुराहरु तर्फ आफ्नो ध्यान केन्द्रित गर्नु जरुरी छ ।
१. संगठन सुदृढिकरण 
दाउपेच, षड्यन्त्र, नातावाद, कृपावाद र  शुभलाभको राजनीतिले गत मंसीरमा सम्पन्न आम निर्वाचनमा नराम्रो धक्का खाएको काँग्रेसले नेकपा नेतृत्वको पाँचबर्षे स्थायीत्ववाला सरकारलाई पर्ख र हेरको नीति अनुकूल राजनीतिक व्यवहार गर्न सक्नु पर्दछ । जतिबेला आफ्नो पार्टी संगठनका विभिन्न तहमा खुस्केका जुईनाहरु कस्ने काम गर्नु उपयुक्त हुन्छ । हिजो योग्यलाई पञ्छाएर नजिककालाई उम्मेदवार बनाउँदा होस् वा शुभलाभ लिएर कमजोर पात्रलाई उम्मेदवार बनाउँदा नै किन नहोस् । हार बेहोर्नु पर्नाका तथ्य र कारण केलाएर आउँदा दिनमा त्यसलाई नदोहो¥याउने प्रतिवद्धता गर्दै कमजोर भएका मातहत समिति तथा जनवर्गिय संगठन बलियो बनाउनु जरुरी छ । जथाभावी क्रियाशील सदस्यता बितररण गर्ने देखि मन नपरेका नेता कार्यकर्ताको क्रियाशील सदस्यता काट्ने सम्मका जुन कामहरु भए त्यसलाई सच्याएर सक्षम, योग्य र साँच्चै सक्रियलाई क्रियाशिल सदस्यता वितरण गर्न सक्नु पर्छ काँग्रेसले । यस अघि नेताको अनुकूलता र प्रतिकुलताका कारणले भङ्ग गरिएका मातहतका समिति र जनवर्गिय संगठनलाई पुनःस्थापित गर्न पनि सक्नु पर्छ काँग्रेसले । नयाँ सदस्यता वितरण, कार्यकर्ता प्रशिक्षण र जिम्मेवारी प्रदान गरी परिचालन गर्न सके चार बर्षमा काँग्रेसको संगठन सुदृढ नहुने कुरै छैन तर त्यो संगै पार्टीमा फरक मत राख्नेलाई कहिं कतै अवसर नदिने र उनीहरुका मतको कदर नगर्ने प्रवृत्तिले काँग्रेसको आन्तरीक लोकतन्त्र कमजोर भएको छर्लङ्ग पारेको हँुदा त्यसलाई पुरै सुधार्न सक्नु पर्छ काँग्रेसले । अन्यथा, आज सडक र सदनमा उठान गरेकै मुद्धाका भरमा कार्यकर्ताले चुनाव जिताउने छन् भन्ने भ्रमबाट काँग्रेस मुक्त हुनै पर्छ । 

२. आजको सन्दर्भमा पार्टीको बिचार विकास 
आजको एकाईसौं शताब्दीमा हाम्रो मुलुक र मुलुकको दिगो विकासलाई नेतृत्व गर्न कस्तो बिचार विकास गर्नु पर्छ भनेर सोच्न सम्म नचाहने मुख्य नेतृत्वले काँग्रेसलाई वैतर्णी तार्नेवाला छैन । प्रजातान्त्रिक समाजवाद र विपि कोईरालाका बिचार मात्रले अबको दिनमा काँग्रेसलाई धान्न सक्नेमा शंका छ । आजको जनचाहना, राष्ट्रिय आवश्यकता, राष्ट्रिय राजनीतिक सन्तुलन र सहकार्य, अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई हेरेर काँग्रेसले बिचार विकास गर्नु अपरिहार्य ठान्छन् कार्यकर्ताहरु तथापि काँग्रेसले बिचार विकास गर्नु  त परै जाओस् कार्यदिशा सम्म पनि स्पष्ट गर्न सकेको छैन । आवधिक निर्वाचन र त्यसले दिने परिणाम मात्रले जनताको आवश्यकता र मुलुकको विकास हुन्छ भन्ने काँग्रेसका बुझाई हो भने त्यो काँग्रेसको अवसानको आधार हुनेछ । शान्तिपूर्ण बहुदलिय प्रतिष्पर्धा मात्रले अब यो मुलुकमा काँग्रेस थेगिनँ मुस्किल छ । अन्यथा काँग्रेसमा नयाँ बिचार विकासको आवश्यकता टड्कारो छ ।

३. समय सापेक्ष नेतृत्व हस्तान्तरण 
सत्तरी नाघेका बुढा हड्डीबाट आर्यघाट सम्म पार्टी चलाउने परम्पराको थालनी नेपाली काँग्रेसले नै यो मुलुकमा गरेको हो । किशोरावस्था देखि युवा हुँदै बुज्रुकावस्था सम्म त ठिकै हो तर जेष्ठ नागरीक भएर राज्यको सम्मान लिएर आराम गर्नु पर्ने अवस्था सम्म पनि पार्टीको बागडोर हाँक्न सक्छु भनेर जिद्धी गर्ने नेतृत्वलाई काँग्रेसले विदा गर्न सक्नु पर्छ । व्यक्ति प्रधान ठानेर पदमा टाँसिरहने हो भने त केहि छैन तर संगठनलाई प्रधान मान्ने हो भने यीनको विदाई अपरिहार्य भई सकेको छ । पदिय शक्तिका अघिल्तिर चूँ सम्म बोल्न नसक्ने विगतको तितो यथार्थताबाट माथि उठेर हिम्मतका साथ नेतृत्व परिवर्तनको आवाज बुलन्द गर्ने युवा नेतृत्वलाई साथ र समर्थन दिनु आम काँग्रेस कार्यकर्ताको दायित्व हो । जसले नेतृत्व हस्तान्तरणमा यथोचित बल पु¥याउने छ । 

४. सरकारका कामहरुमा रचनात्मक सहयोग 
बहुमतको होस् वा अल्पमतको सरकार नै किन नहोस् ! विपक्षीले रचनात्मक सहयोग गरोस् भन्ने बुझाई सत्तापक्षको भई नै हाल्छ । त्यसमा पनि पाँचबर्षका लागि बनेको स्पष्ट बहुमतको सरकारले विपक्षले आफुले ल्याएको कार्यक्रमलाई सफल बनाउन सहयोग गरोस् भन्ने ठान्नु गलत होईन । निर्णयको मसी सुक्न नपाउँदै विरोध गर्न तम्सिएको विपक्षी देखेर यतिबेला सत्ता पक्ष दंग परेका छन् । लोकतन्त्र र लोकतान्त्रिक पद्धति स्थापित गर्न लामो समय खर्चेको काँग्रेसले यतिबेला राख्न नसकेको धैर्यता खुद् काँग्रेसका धेरै जसो कार्यकर्ताहरुलाई नै मन परेको छैन । आफ्ना कमीकमजोरीहरुका कारण चुनाव हारेको काँग्रेस दुई तिहाई बहुमतको सरकारका निर्णयलाई हठात चुनौती दिने हैसियतमा यतिबेला छैन भन्ने बुझेका काँग्रेसी कार्यकर्ताहरु काँग्रेस आफ्नो घर बनाउन लाग्नु पर्ने मा जोड दिईरहेका छन् । दिर्घकालिन राजनीतिक मुल्य नबोकेका र जनतामा सकारात्मक सन्देश नपुग्ने विगतमा आफैंले पञ्छाएका मुद्धालाई स्यालले सिनो बोकेझैं यतिबेला काँग्रेसले बोकेको कुरा लोकप्रिय बिषय हुनै सक्दैन ।

५.विकासका अभियानमा पार्टी परिचालन 
तीनै तहका सरकारले अघि सारेका जनपक्षिय विकास कार्यक्रमहरुलाई सफल पार्न काँग्रेसले पुरै पार्टी परिचालन गर्न सके त्यो उसका लागि पलदायी हुनेछन् । जनताको बिचमा पार्टीलाई गाँस्ने काम यसै पनि काँग्रेसका लागि उपयोगी नै हुनेछ । पटक पटक सरकारमा गएर पनि जनताका निम्ति प्रभावकारी कार्यक्रम ल्याउन नसकेको, प्राकृतिक विपत्तीमा परेका जनताले दिलै देखि महशुस गर्ने कुनै पनि योजना अघि बढाउन नसकेको र सत्ता मोहले जनताबाट टाढिएको काँग्रेसका लागि जनताको दैलामा सम्बन्ध नविकरण गर्न जाने यतिबेला यहि बिषय मात्रै हो । हैन आन्दोलनको आँधी सिर्जना गरेर सरकारका काममा बाधा पार्छु भन्ने उसले सोचको छ भने त्यो दिवास्वप्न मात्रै हो । आफैंले स्थापित गरेको व्यवस्था र पद्धतिको बर्खिलाप हुने कुनै पनि काममा काँग्रेस लागे उसको राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा उसको लोकतान्त्रिक छवि सधैंका लागि समाप्त हुनेछ । त्यसैले यी पाँच बिषयमा काँग्रेसले ध्यान दिन सके सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नाराले परिणाम दिन्छ भने काँग्रेस पार्टी आगामी चारबर्ष पछि पुनः शक्तिमा पुग्न सक्छ ।