काठमाडौँ , २६ पुस  -  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्ले पुनः निर्माणको काम छिटो गरी आइपरेको समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन दिएको छ ।    

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बसेको परिषद्को पाँचौँ बैठकले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको संरचना पुनःनिर्माण सन्तोषजनक रुपमा भइरहेको प्रस्तावसमेत पारित गरेको छ ।

बैठकले पुनःनिर्माणका क्रममा प्राप्त भएका अनुभवलाई लिपीबद्ध गरी भावी पुस्ताका लागि हस्तान्तरण गर्ने सम्बन्धमा परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको प्रस्ताव पनि पारित गरेको छ ।    
    
बैठकलाई सम्बोधन गर्दै उहाँले पुनःनिर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनःनिर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले आफूसँगको भेटमा पुनःनिर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको स्मरण गर्नुभयो ।    
    
प्रधानमन्त्री ओलीले समस्या र जटिलतालाई समाधान गर्दै पुनःनिर्माण अघि बढेको उल्लेख गर्दै पुनःनिर्माण अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न सुझाव दिनुभयो । “काम गर्ने तरिकामा सुधार गर्नुस्, सामाजिक जागरण बढाउनुस्, संगठीत संस्थालाई परिचालन गर्नुस् र स्थानीय तथा प्राविधिकलाई अझ सक्रिय तुल्याउनुस्”, उहाँले भन्नुभयो ।    
    
कार्यक्रममा सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनःनिर्माणका धेरै क्षेत्रमा काम भएको बताउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरी गुनासोको सम्बोधन गर्न, सम्पदा पुनःनिर्माण, पुस्तकालय पुनःनिर्माण, विश्व विद्यालय पुनःनिर्माणमा जोड दिन सुझाव दिनुभयो ।    
    
सांसद यज्ञराज सुनुवारले पुनःनिर्माणका कार्य उत्साहजनक रुपमा अघि बढेको भन्दै पुनःनिर्माण प्राधिकरणलाई धन्यवाद दिनुभयो । उहाँले निजी आवास पुनःनिर्माणमा ओखलढुङ्गा अग्रस्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनःनिर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।    
 

सांसद प्रेम सुवालले भक्तपुरको कला सङ्ग्रहालय नेपाली शैलीमा बनाउन सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनःनिर्माणको अनुदान र सहुलियत ऋण बढाउन आग्रह गर्नुभयो ।    
    
सांसद पम्फा भुसालले पुनःनिर्माणका राम्रा कामप्रति धन्यवाद दिँदै व्यवहारिक रुपमा स्वबासी र गुठीको समस्या अझै रहेको बताउनभुयो । उहाँले ललितपुरमा देखिएको समस्या समाधानका लागि विशेष कार्यदल बनाएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।    
    
सांसद विरोध खतिवडाले प्रबलीकरण र स्वास्थ्य संस्था पुनःनिर्माणको सङ्ख्या कम भएको भन्दै त्यसको कारण दिन आग्रह गर्नुभयो । सांसद हितबहादुर तामाङले व्यवहारिक रुपमा ‘छुट्टिएका’ तर लालपूर्जा नबनेका कारण लाभग्राही हुन नसकेका भूकम्पपीडितलाई सम्बोधन गर्न सुझाव दिनुभयो । सांसद हरिराज अधिकारीले गोरखाको एउटा वस्ती जोखिममा रहेकोले त्यसको स्थानान्तरणका लागि प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।    
    
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको वर्तमान अवस्था र कार्ययोजना पेश गर्नु भएको थियो । उहाँले निजी आवास पुनःनिर्माणअन्तर्गत ६२ प्रतिशत पूरा भएको, २५ प्रतिशतको पुनःनिर्माण जारी रहेको र १७ प्रतिशत पुनःनिर्माण शुरु हुन बाँकी रहेको जानकारी दिनुभयो ।    
    
उहाँले पुनःनिर्माणबाट सुरक्षित नेपालका लागि आधार तयार भएको, भूकम्प प्रतिरोधी प्रविधिको विकास र प्रविधि हस्तान्तरण भएको, मागमा आधारित एकीकृत बस्तीको पुनःनिर्माण र बसोबासको सुनिश्चितता भएको बताउनुभयो ।    
    
 बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, परामर्श परिषद्का उपाध्यक्ष विजयकुमार गच्छदार तथा मन्त्री उपस्थित हुनुहुन्थ्यो ।