काठमाडौं, १८ मंसिर – सरकारले नागरिक योगदानमा आधारित सुरक्षा कार्यक्रम ल्यायो । सरकारले यसलाई नयाँ युगको आरम्भ भन्यो । जसका लागि ल्याइएको थियो, त्यसका लागि प्रचार गर्नुपर्ने थियो र प्रचार गरिएको भन्ने जवाफ पनि दियो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसको खुलेर प्रशंसा गर्न सकेन । कार्यक्रम राम्रो भएकाल सिधै बिरोध गर्दा ‘ब्याकफायर’ गर्ला भनेर किन यस्तो भड्किलो प्रचार भन्दै परोक्ष बिरोध गर्यो । प्रतिपक्षीलाई यति त छुट हुने नै भयो ।

फेरी लगत्तै एसिया प्यासिफिक समिट भयो । गिरिजाप्रसाद कोइरालालगायतका नेतादेखि अहिलेका नाम चलेका कांग्रेसका प्राय नेताहरुले विगतका यस्ता कार्यक्रममा सहभागिता जनाए  । कांग्रेसका नेताहरुमा अचानक  बुद्धत्व प्राप्त भयो कि विगतमा हामीले सहभागिता जनाउँदासम्म यो संस्था ठिकठाक थियो, अहिले त पुरै बिग्रेछ । अहिले भने जनाएनन् ।

राष्ट्रपतिको गाडी खरिदको मुद्दा होस् वा उपराष्ट्रपतिको निवासको बिषय होस् वा प्रहरी एकेडेमी सार्ने बिषय होस् । विना आधार र औचित्य कसैले निर्णय लिंदैन । कसैलाई बिरोध गर्न पनि आधार चाहिन्छ । तर बिरोधका लागि बिरोध गर्ने कि तर्कसहित बिरोध गर्ने भन्ने महत्वपूर्ण हो ।

राष्ट्रपतिको दशैंको टिका ग्रहण गर्न गएका पूर्वप्रधानन्यायाधिशलाई घुँडा टेकेरै टिका ग्रहण गर्न सजिलो हुन्छ भनेर आफैैले भनेपछि राष्ट्रपतिले टिका लगाइदिनुभएको थियो । तर प्रचार राष्ट्रपतिबिरुद्ध निरन्तर गरियो ।

नेपालको विदेश नीतिका प्राथमिकतामा भारत र चीन पर्छन्, यो स्वभाबिक हो । तर अरु राष्ट्रहरुसँग पनि सम्वन्ध भने उत्तिकै सोहाद्रपूर्ण हुनुपर्छ । यो सबैले जानेको कथन हो । सरकारले भारत र चीनलाई प्राथमिकता दिएको हो, अरु राष्ट्रसँगको सम्वन्ध बिच्छेद गरेको होइन । पहिला, भारत र चीनलाई हेर्ने, अरुलाई नहेर्ने भन्ने टिप्पणी आयो । जव परराष्ट्रमन्त्रीले अन्य देशको पनि भ्रमण गर्न थाल्नुभयो, फेरी परराष्ट्रमन्त्री बिदेश भ्रमण गरेको गर्यौ भनेर बुझ्ने र बुझाउने कामपनि भयो ।

सरकार कम्युनिष्ट पार्टीको छ, शक्तिशाली पनि छ । तर यो शास्त्रीय साम्यवादी सोच राख्ने कम्युनिष्ट होइन । अहिलेको सरकारबाट तर्सिनुपर्ने केही छैन । 
तर सरकारको बिरोध यसरी शुरुभएको छ कि प्रतिपक्षीसमेत अव सत्तापक्षकै एकथरीको बिरोधको छायाँमा परेको छ । कुनै बेला सत्तारुढ पार्टीकै बरिष्ठ नेता देश बचाउने माझी खोज्छन् भने कुनै बेला सत्तारुढ पार्टीकै नेतालाई सरकार देखेर ऐठन हुन्छ । देश बचाउने माझी खोज्ने नेता एसिया प्यासिफिक समिटका आफूं संयोजक हुन्छन किनकी उनलाई त्यो सही लाग्छ । फेरी त्यही समिटलाई देखेर अर्का नेतालाई ऐठन हुन्छ । कतिबेला कसलाई के ठिक लाग्छ र फुत्तै प्रकट हुन्छ । एकछिनमा फेरी सरकार त ठिकै ट्रयाकमा रहेको ज्ञात हुन्छ  किनकी त्यहाँ व्यक्तिगत स्वार्थ हावी हुन्छ ।

‘कन्स्ट्रक्टिभिष्ट’ र ‘पोस्ट मोर्डनिष्ट’ हरुको एउटा दृष्टिकोण छ – मेरो माइण्डले जे निर्माण गर्छ, त्यही नै सत्य हो । सत्य अरु नै केही हुनसक्छ तर मेरो सत्य भनेको मेरो दिभागले जे मान्छ, त्यही नै हो ।

सत्तारुढ पार्टीका नेताहरुमा प्रतिपक्षीभन्दा चर्को प्रतिपक्षी हुने प्रतिस्पर्धा यही ‘कन्स्ट्रक्टिभिज्म’ को परिणाम हो । सत्य अरु केही हुनसक्छ भन्ने समेत नठानी आफूचाही सही, अरु सबै गलत भन्ने दृष्टिकोण राख्दा त्यसले उपयुक्त बाटो लिंदैन । सरकारले अपेक्षित काम गर्न सक्यो कि सकेन भन्ने बिषयलाई पार्टीको आन्तरिक वहसको एजेण्डा बनाउँदै अघि बढ्नुपर्नेमा प्रतिपक्षीलाई समेत उछिनेर प्रमुख प्रतिपक्षी बन्ने प्रतिस्पर्धा कसैका लागि पनि सुखद हुँदैन ।