काठमाडौं, २ जेठ - नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेस्ट इन्डिजबिरुद्ध दुई हप्तापछि हुने आईसीसी वल्र्ड ११ खेल्नेभएका छन् । टि–ट्वान्टी अन्तराष्ट्रिय म्याचमा उनी छनौटमा परेका हुन् । जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो । उनको यो ऐतिहासिक अवसर हो ।

सन्दीपले इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनको कप्तानीमा खेल्नेछन् । टोलीका अन्य सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र स्वेएब मलिक, बंगलादेशका तमिम इक्बाल,श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन् ।

वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायतका छन् ।

‘म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु, यो सारा देश र नेपाली क्रिकेट प्रेमीको सम्मान हो । साथै हामीहरू अन्तर्राष्ट्रिय स्तर बनाउँदै गरेको हैसियतको संकेत हो,’ टिममा परेपछि सन्दीपले  भनेका छन, ‘हामीले  हुर्कँदै गर्दा टेलिभिजनमा देखेका ‘ट्रेन्ड सेटर’ हरूसँग सँगै अभ्यास गर्ने, एउटै ड्रेसिङ रूममा बस्ने र सँगै खेल्ने अवसरका लागि म प्रतीक्षारत छु। यो मेरा लागि सिक्ने र सुधार गर्ने अवसर हो। र यो अवसरको उपयोग गर्न म प्रतिवद्ध छु ।’