लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा न्यूनीकरणका लागि  विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्दै  प्रत्येक वर्ष विश्व भरि नै यो अभियान सञ्चालन हुँदै आएको छ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष यो अभियान मनाईदैछ । यस वर्ष कोरोनाको कहर तथा लकडाउनका बिचमा पनि  लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरू बढेर गएको समाचारहरू आइरहेका छन् ।

महिलालाई महिला भएकै कारणले तथा पुरुषलाई पुरुष भएकै कारणले अथवा लिङ्गका आधारमा महिला वा पुरुषमाथि हुने कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा  हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । लैङ्गिक हिंसाले मानव अधिकारको उपहास गरिरहेको हुन्छ ।  विशेष गरी पितृसत्तात्मक समाजमा पुरुषभन्दा महिलाहरूकै बढी लैङ्गिक हिंसाको सिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथि पुरुषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अवस्थामा महिलामाथि महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् ।

विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र पनि श्रीमान्, सासू, ससुरा, नन्द, भाउजू, दाजुभाइबाट महिलाहरू लैङ्गिक हिंसाको सिकार हुने गरेका छन् । महिला र पुरुषबिचको लैङ्गिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेका छैनन् ।

महिला हिंसाका कारणहरू
पितृसत्तात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठुलो प्रभाव पारिरहेको हुन्छ । त्यसैगरि परम्परा,  धर्म,  संस्कृति र रीतिरिवाजका आडमा समेत महिलामाथि हिंसा भइरहेको हामी पाउँछौ । जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा  बढाएको देखिन्छ।

महिला हिंसाको अन्य कारणहरूमा शिक्षा , चेतनाको कमी , महिलाहरू आफैमा सबल र  सक्षम हुन नसक्नु , सधैँ अरूमाथि आत्म निर्भर भई रहनु  पनि  हुन । कतिपय अवस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरू हुन सक्छन् ।

घरपरिवार तथा  समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरू  बाहिर नल्याई भित्रभित्रै सुल्झाउने, ढाकछोप गर्ने वा उल्टै पीडितलाई दोषी देखाउने  गरेको घटनाहरू समेत पाइन्छ ।

यस्तो कार्यले  महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने, सधैँ अन्यायमा परेको  महसुस गर्ने, आत्मविश्वास गुम्ने, नैरस्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या  समेत गर्ने गरेका घटनाहरू छन् ।

महिलामाथि हुने हिंसाका स्वरूपहरू
महिला माथि लैङ्गिक हिंसाका विभिन्न रूपहरू रहेका छन् ।बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेड छाड,  दाइजो प्रथा , जबरजस्ती गर्भ पतन,  छाउ प्रथा, दाइजो प्रथा, आर्थिक अधिकारबाट वञ्चित  गरिनु, विभिन्न किसिमका लाञ्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु । महिलाहरू माथि हुने लैङ्गिक हिंसालाई यसरी वर्गीकरण गर्न पनि सकिन्छ ।

शारीरिक हिंसा
कुटपिट गर्ने , एसिड छ्याप्ने , घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरू महिलाहरूमाथि हुने शारीरिक हिंसाका रूप हुन् ।

यौन हिंसा
जबरजस्ती यौन व्यवसायमा लगाउने,  यौन कार्यमा लाउन किनबेच गर्ने , बलात्कार वा अन्य यौन दुर्व्यवहार महिलाहरूमाथि हुने  यौन हिंसाका रूप हुन् ।

मानसिक हिंसा
अपशब्दको प्रयोग गर्नु, लाञ्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाङ्क्षा दबाउनु, दुर्व्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु अश्लील तस्बिर ,  भिडियो  सार्वजनिक गर्नु मानसिक हिंसाका उदाहरण हुन् ।

परम्परागत हिंसा
बालविवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ ।

आर्थिक हिंसा
महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अवरोध पुर्‍याउनु , समान काममा असमान ज्याला, श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको सिकार भइरहेका हुन्छन् ।

सामाजिक तथा राजनीतिक हिंसा
महिलाहरूलाई राजनीति वा  समाजसेवामा लाग्नबाट वञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् ।

लैङ्गिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखा पर्ने गरेका छन् ।

लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम
लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको विश्व भरि गरिएको विभिन्न अध्ययनहरूले देखाएको छ ।  नेपालमा पनि  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालयले सन् २०१२ मा देशका  ६ जिल्लाहरूमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौ सय नमुना उत्तरदाता महिलाहरू मध्ये ४ सय ३२ जनाले लैङ्गिक हिंसाको अनुभव गरेको उल्लेख गरेकाछन । लैङ्गिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोच आएको साथै ७ प्रतिशतले आत्महत्याको प्रयास गरेको पाइएको छ । लैङ्गिक हिंसामा परेका व्यक्तिहरूमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरू देखिने गर्दछन् ।

मन उदास हुने, अनावश्यक डर लाग्ने, चाँडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने,  साथी भाइहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने, कसैलाई विश्वास गर्न नसक्ने, विभिन्न शारीरिक समस्याहरू देखा पर्ने, कमजोर भएको महसुस गर्ने, केही काम गर्न मन नलाग्ने, दिक्दार लाग्ने, एक्लो महसुस गर्ने, आफूलाई नै दोषी ठान्ने, आत्महत्याको सोच आइरहने, निन्द्रा नलाग्ने, रुन मन लाग्ने, के होला, कसो होला भनेर भविष्य तथा घर परिवारको चिन्ता गरिरहने जस्ता लक्षणहरू देखिन सक्छन्। लैङ्गिक हिंसाका कारण देखा परेका समस्याको समाधानको निम्ति, औषधि उपचार, मनोविमर्श एवं भावनात्मक सहयोगका साथै कानुनी तथा अन्य आवश्यक सहयोग प्रदान गर्नुपर्छ ।

( मनोविद् ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत हुनुहुन्छ)