काठमाडौँ, २३ फागुन- आर्किटेक्ट तथा इञ्जिनीयर शङ्करनाथ रिमालले जीवनको ८४ औँ वसन्त पार सक्दासम्म पनि अझै जीवन के हो भन्ने अनुभूति गर्न पाउनुभएको छैन । बहुआयामिक व्यक्तित्वका धनी रिमाल यही फागुन शुक्ल द्वितीयाका दिन ८५ औँ वसन्तमा प्रवेश गर्न लाग्दा पनि जीवन यही हो भन्ने परिभाषा दिन कठिन ठान्नुहुन्छ । 

इञ्जिनियरिङ, आर्किटेक्चर, चित्रकला तथा मूर्तिकलामा सिद्धहस्त रिमालले जीवन के हो भन्ने जिज्ञामा हाँस्दै भन्नुभयो,“मैले जिन्दगीलाई अहिलेसम्म बुझ्न पाएकै छैन ।” रिमालले जीवनमा सुख र दुःखलाई पनि फरक देख्नुभएको छैन । “के कुरालाई सुख भन्ने केलाई दुःख भन्ने ! सुख र दुःख अनुभव गर्ने कुरा हो” सरल स्वभावका रिमालले सुनाउनुभयो, “तर मैले आफ्नो जीवनमा जति पनि काम गरँे, ती कामप्रति म सन्तुष्ट छु ।” 

नारायणहिटी दरबारदेखि लिएर उहाँले सार्वजनिक महत्वका भवन, मठमन्दिर थुप्रैको डिजाइन गर्नुभएको छ । विसं २०१९ अघि आआफ्नो तरिकाले प्रयोग भइरहेको राष्ट्रिय झण्डालाई सही तरिकाले आधुनिकीकरण गर्नमा उहाँको ठूलो योगदान छ । अहिलेको राष्ट्रिय झण्डाको स्वरुप उहाँकै डिजाइनमा बनेको हो जुन नेपालको संविधानमा पहिलो पटक समाविष्ट भयो । “नेपालको राष्ट्रिय झण्डामा आधुनिकता दिएर मैले कुनै ठूलो काम गरेको होइन, आफ्नो जन्मभूमिप्रति मैले कर्तव्य निर्वाह गरेको मात्र हुँ ।” उहाँले वैदिक कालदेखि नै प्रचलनमा आएको नेपालको राष्ट्रिय झण्डालाई आफूअनुकूल प्रयोग भइरहेकामा त्रिभुज आकारलाई निश्चित मापदण्ड बनाई त्यसको वैज्ञानिक रुपमा रङको छनोट गर्नुभयो । त्यो झण्डाको माथि चन्द्रमा र तल सूर्य किन उचित लाग्यो भन्ने जिज्ञामा उहाँले थप्नुभयो, “ सूर्य भनेको प्रज्ञा हो, चन्द्रमा भनेको करुणा हो, प्रज्ञामा करुणा भएन भने काम लाग्दैन, त्यसकारण प्रज्ञालाई भन्दा बढी महत्व दिएर करुणालाई माथि राखिएको हो ।” 
नेपालको राष्ट्रिय झण्डाको रङको पनि उहाँको आफ्नै व्याख्या छ । “हिन्दूको रातो समृद्धि र खुशीयाली हो,गोरखालीको वीरता हो,” एकै छिनमा कागजको झण्डा बनाएर देखाउँदै कलाकार रिमालले भन्नुभयो,“नीलो भनेको अनन्त हो, नागसँगै विष्णु भगवान् नीलोे आकाशमा बस्नुहुन्छ, नीलो अन्तरिक्ष पनि हो ।” नेपालको राष्ट्रिय झण्डाको तल र माथि रातो रङको भूइँ छ । आकाशमा चन्द्रसूर्य रहेसम्म नेपाल राज्य रहिरन्छ भन्ने सन्देश झण्डाले प्रवाह गरिरहेको छ । 

वास्तुकलाका क्षेत्रमा निकै अब्बल रिमालको जन्म बाबु देवेन्द्रनाथ र आमा सीतादेवीको जेठो सन्तानका रुपमा विसं १९९१ फागुन २२ गते भएको हो । श्रीमती शशी पनि साहित्यकार हुनुहुन्छ । दुई छोरा सुजन र प्रेम तजथा छोरी इडाका पिता रिमाललाई आफूले बनाएका घरका डिजाइन अरुले चोर्दा भने नमज्जा लाग्छ । “सार्वजनिक महत्वका भवन, पुल मेरै नक्शा चोरेर कतिले बनाएका छन्”, उहाँले आफूले बनाएको नक्शा कसैले चोरेको देखाउँदै भन्नुभयो,“नक्शा चोरेको उजूरी कहाँ गर्नू ? यहाँ देश नै चोर्न लाग्दा त ध्यान जान सकेको छैन ।” 

ठिटौले उमेरमै इञ्जिनीयर रिमालले गरेको डिजाइनअनुसार शहीदढोका(नेपालस्मारक) बनेको हो । दरबारको आग्रहअनुसार रिमाल वंशकै पहिलो इञ्जिनीयर उहाँले नारायणहिटी दरबारको मङ्गल सदन, दरबार परिसर, पशुपति यज्ञशाला, उन्मत्त भैरवलगायत धेरै डिजाइन बनाउनुभयो । तत्कालीन राजा महेन्द्रको छनोटमा पर्नुभएका ‘शङ्करप्रसाद’ रिमालले बनाएका डिजाइनमा राजा प्रसन्न हुन्थे । तत्कालीन राजा वीरेन्द्रको आग्रहमा उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको डिजाइन गर्नुभएको हो । गोरखा भूकम्पमा नढलेको प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी उहाँको घरमै आएर बधाइ दिएका थिए । सो दिन मुलुकका ठूला व्यक्तिहरु सहभागी भएको एक कार्यक्रम एकेडेमीमा भइरहेको थियो । 

नेपाल कला परिषद्का महासचिव रिमाललाई परम्परागत नेपाली कला एकदमै राम्रो लाग्छ तर परम्परागत महत्वका कुरालाई आधुनिकतासँग जोड्दै लानुपर्छ भन्ने सुझाव दिनुहुन्छ । “पुरानै सामग्री पुरानै शैलीमा बनाउँदा आकर्षक देखिँदैन, नयाँ र पुराना मिलाएर बनाउनुपर्छ ”, लैनसिंह बाङ्देलका शिष्य रिमालले भन्नुभयो । चन्द्रागिरिमा रहेको भालेश्वर महादेव, पशुपतिनाथको उन्मत्त भैरव र सिङ्गापुरमा विष्णुको मन्दिरमा सोही डिजाइन बनेका हुन् ।

परराष्ट्र मन्त्रालय(सिंहदरबार,१९६६), राष्ट्रिय सभागृह( १९६७), जैन मन्दिर, साइमन्दिर(नक्साल), नारायणहिटी दरबारको नानीगञ्ज, टीकापुर नगर, रामानन्दचोक द्वार(जनकपुर), होटेल सोल्टी, तारागाउँ, एभरेष्ट होटेल, पशुपतिनाथ पूर्वीढोका, गुड्ने घर(पुल्चोक), खुट्टेघर(बागबजार), शारदा सदन, शान्तिकुञ्ज, शोभागृह, अस्कल, दियालो बङ्गला, रेयुकाइ भवन (धोबीधारा), अध्यात्मज्योति भवन, नेपाल विश्वसम्बन्ध परिषद् आदि उहाँकै कृति हुन् । सदर पब्लिक निक्सारी अड्डाबाट काम शुरु गर्नुभएका उहाँको अर्काे ठूलो काम भनेको साल्मेडाँडा(स्याङ्जा)को गोरखास्मारक पनि हो जहाँ बेलायती गोर्खा सैनिकको सम्मानमा अर्बाैको बृहत् परियोजना चलिरहेको छ । 

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको नौमहीने अल्पमतको सरकारका पालामा राष्ट्रिय योजना आयोगका सदस्य रिमाललाई अधिकारी निकै विलक्षण प्रतिभा भएका व्यक्ति लाग्छ । “मनमोहन विरलै मान्छे हो, मलाई उहाँ अब्बल राजनीतिज्ञ लाग्छ, फ्रान्क, स्टेट फर्वार्ड हो,” उहाँले भन्नुभयो, “असाध्यै कुरा बुझ्ने र के कुराले भविष्यमा कस्तो असर पार्छ भन्ने ज्ञान उहाँमा थियो, त्यस्तो शक्ति अरु राजनीतिज्ञमा देखेको छैन मैले, लपनछपन केही थिएन ।” उहाँले बनाएका योजनाहरु अधिकारीले निकै राम्रो मान्नुभएको थियो । ‘लुम्बिनी चक्र’ कृतिका लेखक उहाँ अहिले ‘श्रीयन्त्र’ र ‘तन्त्रविद्या’ का पुस्तक लेखनमा केन्द्रित हुनुहुन्छ । 

रासस /कालिका खड्का र मीना घोरासैनी