भोजपुर, २८ कात्तिक- भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।

सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । 

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । रोल्पमा वर्षमानमाथि बम प्रहार गर्नेलाई रिहाई गर्न कांग्रेस रोल्पाका सभापति तथा मन्त्री अमरसिंह पुनले वक्तब्यमार्फत दवाव दिएपछि भूमिगत सशस्त्र आक्रमणमा कांग्रेस कार्यकर्ता सामेल भएको आशंका बढेको छ । चुनाव रोक्ने अस्त्रका रुपमा देशैभर बमप्रहारका घटना द्धटाइएको हुनसक्ने वताइएको छ ।