प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदको सपथ ग्रहण र मन्त्रिमण्डल विस्तार गरिसकेका छन् । प्रदेश सरकारका लागि चाहिने कानुन र सरकारका नीति योजना ल्याउने तयारीमा उनी अहिले छन् । प्रदेश १ को मुख्यमन्त्री निर्वाचित भएपछि यस प्रदेशलाई समृद्ध बनाउन उनका तयारी के छन् भन्ने विषयमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 

पहिलो पटक देश संघीयतामा गएका बेला तपाईं प्रदेश १ को मुख्यमन्त्री निर्वाचित हुनुभएको छ । मुख्यमन्त्रीका रुपमा आफ्ना चुनौती के देख्नु भएको छ ? 
ब्यवहारिक रुपमै संघीयताको अभ्यास गर्ने घडीमा हामी पुगेका छौं । हाम्रा लागि यो नयाँ अभ्यास नै हो । शासन ब्यवस्थालाई विकेन्द्रित गर्न संघीयताको अवधारणामा हामी गएका हौं । यस्तो बेला जनताको अपेक्षा हामीसँग रहनु स्वाभाविक हो । तर, जनताको यो अपेक्षालाई हामी ऊर्जाको रुपमा लिन्छौं । जनताको अपेक्षा छ, सँगै चुनौती पनि छन् । एक नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा स्रोतसम्पन्न छ । प्रदेशको विकासमा ती स्रोतलाई कसरी प्रयोग गर्ने भन्ने योजना हामी बनाउँदैछौं । 

काम सुरु गर्दा जुनसुकै काम होस् केहि चुनौती सामाना गर्नै पर्छ । तर हामी कुनै द्विविधा र अलमलमा छैनौं । तत्काल आफ्ना लागि कानुन बनाउनु छ  । त्यो काम सकेर हामी विकास सँगै सुशासनको दिशामा अघि बढ्छौं । त्यस्तै पूर्ण रुपमा सामाजिक सुरक्षाको प्रत्याभूत भएको प्रदेशका रुपमा यसलाई अघि बढाउने प्रयासमा म छु । मैले भ्रष्टाचारमुक्त गर्न  अपनाउनु पर्ने हदसम्मका निर्णयहरु गरेर जाने पक्षमा हामी छौं  । 

संघीयताको मर्म र भावना अनुरुप विकासको जनचाहनालाई जनताको घरघरसम्म कसरी पुर्याउने भन्ने नै हाम्रो मुल योजना हो ।  त्यो योजना विद्युतसँग सम्बन्धित छ । सडकसँग सम्बन्धित छ  । त्यो खानेपानीसँग, शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित छ । विकास र समृद्धिको जनअपेक्षालाई सम्बोधन गर्दै हामी अघि बढ्नेछौं । यसलाई चुनौतीको रुपमा भन्दा पनि मुख्यमन्त्रीको हिसावले समृद्ध नेपाल निमार्ण गर्ने अवसरको रुपमा लिएको छु । 

जनताले तत्काल महसुस गर्ने काम के गर्दै हुनुहुन्छ ? 
पहिलो कुरा त, हामीले काम थाल्नुअघि कानुनहरु बनाउनु पर्नेछ । कानुनको अभावमा धेरै काम अघि बढाउन सकिन्न । आफूलाई चाहिने कानुन बनाएपछि हामी प्रदेश १ मा विकास र समृद्धिको खाका अघि सार्नेछौं र त्यसलाई कार्यान्वयनमा लैजानेछौं । 

प्रदेश नम्बर १ को ऐतिहासिक पक्ष छ । जस्तो नेपालको लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट आन्दोलन सफल पार्न महत्वपूर्ण योद्धाहरु जन्माएको प्रदेश हो यो । यहाँ केहि यस्ता ठाउँहरु छन् ती आन्दोलनको सहादतसँग जोडिएका छन् । ती सहिदभूमिलाई नमुना गाउँका रुपमा विकास गर्ने काम गर्नुपर्छ । अर्काेतिर यहाँ उत्पादनको ठूलो क्षेत्र छ । कृषि, पशुपालन, पर्यटन उद्योगका क्षेत्रहरु हामी निर्धारण गर्छाैं । त्यस सम्बन्धी योजना बनाउँदैछौं । ती योजना कार्यान्वयन हुँदा विकास र समृद्धिको अनुभूति हुन्छ । खासगरी सामाजिक सुरक्षा र सुशासनको अनुभूति दिलाउने हिसावले हामी काम अगाडि बढाउँछौं ।

सहिदभूमी भन्नु भयो, त्यस्तो नमुना विकास गर्न सकिने ठाउँहरु कुन कुन हुन् ? 
झापा आन्दोलनसँग जोडिएको सुखानी देखि धनकुटाको छिन्ताङ हत्याकाण्ड भएको छिन्ताङ, इलाममा रत्नकुमार वान्तवाको गाउँ, ताप्लेजुङमा मदन भण्डारीको जन्मस्थान ढुंगेसाँघु र विराटनगरमा बीपी कोइरालाको राजनीतिक कर्मथलो छ । परिवर्तनको आन्दोलनका बलिदानी संघर्षसँग जोडिएका त्यस्ता ठाउँलाई हामी पर्यटक आउने ठाउँ बनाउन चाहन्छौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत भएको प्रदेशको तपाईं मुख्यन्त्री हुनुहुन्छ । उहाँका विकास सपनाहरुलाई पूरा गर्न प्रदेशको कस्तो भूमिका हुन्छ ? 
हो प्रधानमन्त्री केपी शर्मा ओली हाम्रै प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्नु भएको छ । उहाँ पहिलो पटक प्रधानमन्त्री रहनु भएका बेला राष्ट्रको स्वाधीताका लागि महत्वपूर्ण थालीन गर्नुभयो । सँगसँगै विकास र समृद्धिका सपनाहरुलाई उहाँले योजनामा बदल्ने संकल्प गर्नुभयो । जनताले पनि त्यसलाई अनुमोदन गरे । 

हाम्रो प्रदेशमा छिमेकी देश भारत र चीन दुबै तर्फको नाका छ । त्यो पनि  अवसर हो हाम्रा लागि । चुनौती पनि नभएका होइनन्  । तर त्यसलाई ब्यावस्थापन गर्नेछौं । मुलतः यो केन्द्रीय सरकारको विदेश नीतिसँग गाँसिने कुरा हो । तर प्रदेशले त्यसबाट लाभ लिन सक्ने ठाउँ प्रशस्तै छ । दक्षिण तर्फ मात्र हैन उत्तर तर्फ पनि हामी सिधा सम्पर्कको लाभ लिन सक्छौं । हाम्रा उत्पादनहरु विदेशी वजारमा पठाउन सक्छौं ।  चीन तर्फ संखुवासभाको किमाथाङ्का , ताप्लेजुङको ओलाङचुंगोला, भारततर्फ जोड्ने झापा र बिराटनगर नाका छन् । त्यति मात्र नभएर अब हामी बंगलादेश र भुटानसँग पनि सिधा जोडिनेछौं । हाम्रा प्रधानमन्त्रीको विकास र समृद्धिको सपना प्रदेश १ को पनि समृद्धिसँग जोडिन्छ । 

यस प्रदेशका अवसर के हुन् ?  
प्रदेश १ लाई सिंगो नेपालको प्रतिबिम्बका रुपमा यसलाई चिन्न सकिन्छ । यहाँ धेरै जाति भाषा बोल्नेहरुको बसोवास छ । तराईको उब्जाउ भूमि देखि विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि यहिँ छ । यो हिमालै हिमालको प्रदेश पनि हो । संसारका १० वटा अग्ला हिमाल मध्ये ६ वटा अग्ला हिमाल यहिँ पर्छन् । चिया, चरा, जडीबुटीको क्षेत्र पनि हो यो प्रदेश । 

पानी र नदीनालको को पनि ठूलो  स्रोत भएको ठाउँ हो यो । तराईका समथर फाँटलाई अन्न भण्डारको रुपमा पनि यो प्रदेशलाई हेर्न सक्नुहुन्छ । यसले सिंगै देशलाई धान्ने खाद्यान्य उत्पादन गरेर हामी सप्लाई गर्नेछौं । यसरी कृिष, पर्यटन जलस्रोतमा आधारित भएर हामी विकास कार्यक्रम ल्याउँछौं । यस्ता धेरै अवसर छन् । अहिले यत्ति भनौं काम हुँदै गएपछि जवाफ आफैं मिल्छ । 

आन्तरिक उत्पादकत्व बढाउन तपाईंहरु के गर्नुहुन्छ ?  
एउटा कुरा तपाईंलाई भनौं, हामीले यहाँको उत्पादकत्व बढाउने जस्तो योजना ल्याउन खोजेका छौं, त्यसलाई कार्यान्वयन गर्ने हो भने केहि वर्षपछि रहरले बाहेक विदेश जाने स्थितिको अन्त्य हुन्छ । रोजगारीको लागि जायजेथा बेचेर, ऋण काढेर थोरै तलवमा खाडी मुलुक जानु पर्ने बाध्यताको अत्य गर्छु । त्यसका लागि हामी कृषिको आधुनिकिकरण गर्ने बाटो पहिल्याउने छौं ।  यति धेरै पर्यटन क्षेत्र छन् । यहाँ पर्यटक भित्र्याउनेगरी पूर्वधारको विकास गरेपछि एक पर्यटक बरावर सात जनाले रोजगारी पाउने अवस्था हुन्छ । हामी त्यसको भरपुर उपयोग गर्नेछौं । 

त्यसका लागि पर्यटन र पुर्वाधार विकासका कुरामा जोड दिन्छौं  । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज कोसीटप्पु राष्ट्रिय निकुञ्ज यहाँका आकर्षण केन्द्र हुन् । यस प्रदेशको विकासमा पर्यटक भित्र्याउन यसको हामी भरपुर उपयोग गर्नेछौं । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विराटनगरलाई विकास गर्छौं  । हाइड्रोपावरको यति ठूलो सम्भावना छ । अरु उद्योगधन्दा खोल्छौं । यसले सबै युवाको श्रमलाई यहिँ खपत गर्छ । कसैले बिदेशिनु पर्नेछैन । त्यसैले युवा केन्द्रित भएर अगाडि बढ्नेछौं । 

अव प्रदेशको नामाकरण र राजधानीका विषयमा विवाद आउलान्, कसरी समाधान गर्नुहुन्छ ? 
प्रदेशको नाम के राख्ने र राजधानी कहाँ राख्ने भन्ने विषय प्रदेश सभाले टुंग्याउँछ ।  प्रदेश सरकार त त्यसको साछी मात्र बस्ने हो । तर यस्ता विषय जनताको आकांक्षा र देशको अवस्थिति हेरेरै अघि बढिनेछ । 

अबको १० वर्ष पछि प्रदेश १ मा के के कुरा फरक देख्न र भोग्न पाइन्छ ? 
निश्चय नै अबको १० बर्षमा प्रदेश नम्बर एकको रुप पूर्ण रुपमा फेरिनेछ । १४ वटै जिल्लामा मौलिक र एकीकृत वस्तीहरु हुनेछन् । सडक संजालले सबैतिर छोएको हुनेछ । त्यसपछि हरेक ठाउँमा गाडी चल्नेछ र कुनाकुनामा पर्यटक पुगेका हुनेछन् । धेरै उद्योगधन्दा हुनेछन् । जसले गर्दा मान्छेहरु व्यस्त जीवन जिइरहेका हुनेछन् । बेरोजगारी मुक्त, सभ्य समाजमा परिणत हुनेछ ।