राजनीतिमा महिला आन्दोलनका बिषयमा लिम्वु समुदायबाट पहिलो पीएचडी गर्ने महिला हुन अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फे । २ सय १ मतसहित उपसभामुखमा चयन भएकी उनले चैत ४ गते  पदको सपथ लिइन । फरक समुदाय र फरक परिवेशबाट आफनो भूमिका निर्वाह गरिरहेकी उपसभामुख तुम्वाहाम्फे ठान्छिन्– ‘प्रतिस्पर्धामा अब्वल हुन्छु भनेर त्यसै अनुसार काम गर्नुपर्छ । सफलता टाढा छैन ।’  

हरेक महिलाले आफू क्रियासिल, अध्ययनशिल र समयको व्यवस्थापन गर्न जान्ने क्षमताको विकास गर्नुपर्छ । ति तीन कुरालाई व्यवस्थापन गर्न सकियो भने राजनीतिमा सफल हुन सकिन्छ भन्ने उनलाई अनुभवले सिकाएको छ । एमाले केन्द्रीय सदस्य र मोरङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेर सक्रिय राजनीति गरिरहेकी तुम्बाहाम्फेको अव राजकीय पदमा छिन् । उनको भूमिका एकाएक फेरिएको छ । राजनीति, जीवन र फेरिएको भूमिका लगायतका बिषयमा तुम्वाहाम्फेसँग चक्रपथ डटकमका लागि कविता अधिकारीले गरेको कुराकानी:

उपसभामुख हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
म ३५÷३६ सालको बिद्यार्थी आन्दोलनदेखि राजनीतिमा लागेको हुँ । जतिबेला म १५ बर्षको मात्रै थिएँ त्यससमय मैले राजनीति भनेर बुझेको थिएन । मैले राजनीतिमा प्रवेश गर्दा समाज परिवारमा छोराछोरी वा महिला पुरुषको बिभेद छ भन्ने अनुभव गरे । त्यसबेलाको परिवेश के थियो भने हाम्रो समुदायमा त छोराछोरी बीच बिभेद थिएन तर वल्लो घर पल्लो घरमा छोराछोरीबीचको बिभेदले पनि केही सिकायो ।

२०३५ सालमा झापाको महारानी झोडामा नापी आयो । जुन महारानीको बिर्ता थियो रे । त्यति बेला नापी आउँदा प्रतिव्यक्ति तीन विगाहको दरले जग्गा दिने भन्ने कुरा थियो । हाम्रो जग्गा २०÷२२ बिगाह जति थियो । दाजुभाई ४ जना अनि म र मेरा बाबुआमा  । छिमेकी प्रधानपन्चले चार भाई छोरालाई तिन तिन विगा अनि वाबुआमाको भाग दिएर बाँकी रहेको जग्गा हामी मिलाएर लिउँ भन्ने गरेको सुन्थें । त्यो बुझेपछि हदबन्दी भन्दा बढि भएको जग्गा मेरो नाममा राखिदिनु भनेर मैले  बुबालाई भनें, बोल्नु भएन । तर छिमेकीहरुले छोरीलाई जग्गा दिन हुँदैन भन्न थाले । हद्बन्दी भन्दा बढिको जग्गा बेचियो, त्यही समयदेखि छोरा र छोरी बीच विभेद रहेछ भन्ने थाहा भयो । 

हाम्रो किरांत धर्म मान्नेमा छोराछोरीबीच फरक व्यवहार गर्ने भन्ने हुँदैन । तर म विभेद पाउँथे । त्यही समयदेखि म मा एकखालको छाप बसेको थियो । भोली यो समाज परिर्वतन गर्न राज्यको उच्च तहमा पुग्न पर्छ भन्ने सोच चाँही सानै देखि हुन्थ्यो, यो कसैले भनेर सिकाएर भएको कुरा हैन । त्यसबेलाको समाजमा छोरीले पढ्न हुँदैन, छोटो लुगा लगाउनु हुँदैन,पेन्ट लगाउन हँुदैन भन्ने समाज थियो । ९÷१० कक्षा पढिसकेपछि छोरीले पढ्न हुँदैन भन्थे । मलाई जसरी भएपनि पढ्न पर्छु भन्ने थियो । पछि ३५÷३६ सालतिर कति साथीहरु भूमिगत जाउँ पनि भन्थे तर मैले चाँही पढ्छु भनेरै भूमिगत भइन । त्यसबेलाको सोचाईले अहिले आएर थोरै पूर्णता भएको छ भन्ने लाग्छ । तर यो नै सबैथोक भने हैन । 

यस्तो गहन राजकीय जिम्मेवारीमा रहँदा र सक्रिय राजनीतिक कार्यकर्ता÷नेता भएर काम गर्दा कस्तो फरक हुँदोरहेछ ?
अहिलेको उपसभामुखको पदमा भइसकेपछि फरक त भइहाल्छ नि । हिजोको सार्वजनिक जीवन र अहिलेमा धेरै फरक छ । पदमा नहुँदा प्रत्येक क्षण प्रत्येक मिनेट जनतासँग सँगै हिड्ने छलफल गर्ने काम गर्ने हुन्थ्योे तर अहिलेको भूमिकामा फरक पर्दोरहेछ । हुन त अहिले पनि जनताकै काम गर्ने हो तर अलिक फरक ढंगले निर्वाह गर्नुपर्ने हुन्छ । अहिले म पार्टीको मात्रै नभएर देशको साझा व्यक्ति भएको छु । त्यसैले कुनै व्यक्ति कुनै पार्टी भन्दा पनि सबैलाई समान रुपले लिनुपर्ने एउटा स्वतन्त्र व्यक्ति भएर हिड्न पर्छ भनेर त्यसै अनुसारको भूमिका निर्वाह गरिरहेको छु । 

हिजो केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा इजरायलका लागि राजदुतमा सिफारिस हुनुभएको थियो । पछि संसदिय सुनुवाई नहुँदा राजदुत बन्न पाउनु भएन । फेरी अहिले ओली नेतृत्वको सरकारमा उपसभामुख हुनुहुन्छ ? उपसभामुख हुन जुरेको रहेछ नि, हैन ?
अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मलाई पार्टीले राजदुतका लागि एमोलेले सिफारिस गर्यो । पछि अर्को सरकारले हटायो, त्यो सही निर्णय थिएन । कुनै एउटा सरकारले निर्णय गर्छ, अर्कोले हटाउँछ । एउटा सरकारले निर्णय गरेको कुरा अर्को सरकार आउने बित्तिकै हटाउनुपर्छ भन्ने जुन ट्रेण्ड छ नि, त्यो चाँही गलत हो नै भन्छु । ओली सरकार ढल्यो, प्रचण्ड नेतृत्वको अर्को सरकार आईसकेपछि अगाडिको सरकारको निर्णय फिर्ता लिनु राम्रो हैन । त्यसमा मलाई त खासै नराम्रो महसुस भएन तर त्यो ट्रेण्ड चाँही राम्रो हैन । मलाई त जे गर्दा पनि खासै फरक पर्दैन थियो । हामी त राजनीतिक जिम्मेवारीले जे आउँछ, त्यही गर्ने हो । हिजो राजदुतमा सिफारिसमा भएं, त्यस समय त्यही ठिक थियो तर अहिले फेरी म उपसभामुख भएको छु, यो झन महत्वपूर्ण ठाउँ हो । यसमा पनि महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । 

राजनीतिमा सक्रिय हुँदाहुँदै लिम्वु समुदायबाट पहिलो महिला पिएचडी गर्नेमा पर्नुहुन्छ । कसरी सम्भव भयो यो ?
नेपालमा राजनीतिक महिला आन्दोलन भन्ने बिषयमा मैले पिएचडी गरे । हाम्रो देशमा महिला आन्दोलनका बारेमा खासै लेख रचना या भनौं इतिहासमा पढिने कुरा केही थिएन । 

त्यसै भएर मैले यसमा अनुसन्धान गरौं भनेर लागेको हुँ । यसमा पिएचडी गरेकी हँु । महिलाले गरेका राजनीतिक आन्दोलनमध्येको एउटा महिला आन्दोलनका बारेमा मात्रै २०६४ मा पिएचडी पुरा गरें । नेपालमा राजनीतिक महिला आन्दोलन भन्ने शिर्षकमा मैले पिएचडी गर्दा हामीले जे अनुभूत गर्यौ वास्तविकता त्यही हो भन्ने पाएँ । 

महिलाहरुको आफनो भूमिका र पार्टीले हेर्ने तरिका जे छ, त्यही अनुभव मैले रिसर्चमा गरेकी छु । मेरो अध्ययनले पनि के देखाउँछ भने महिलालाई राजनीतिक रुपमा सबै राम्रो छ तर व्यवहारिक रुपमा चाँही केही कमि छ । अब चाँही अलिकता फरक ढंगले नेपालको महिला आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने पाएँ । 

कस्तो फरक ढंगले आन्दोलन अघि बढाउने हो ?
अबको आन्दोलन भनेको महिलाको साझा इस्युमा सबै पार्टीका महिलाहरु एक हुनुपर्छ भन्ने हो ।  विचारको आधारमा सबै महिला एक ठाँउमा हुन्छन् भन्ने हैन तर साझा मुद्दामा एक हुनुपर्छ भन्ने हो ।  जुन मेरो अध्ययनको निश्कर्ष थियो, अहिले त्यही खालको अभ्यास अगाडि बढिरहेको छ । साझा मुद्दामा सबै पार्टीका महिला एक भएका छौं । 

अवको अभियान भनेको महिलाको इस्यु उठ्दा महिलाले मात्रै गर्ने होइन, अव महिला र पुरुष दुवैले संयुक्त रुपमा अगाडि बढ्नुपर्छ भन्ने छ । यो अहिलेको आवश्यकता हो, महिला र पुरुषसँगै उठेर महिलाको मुद्दामा बोल्नुपर्छ भन्ने छ । सदनमा महिलाका मुद्दामा महिला सांसदले मात्र हैन, पुरुष सांसदले पनि बोल्नुपर्छ भनेको छु ।  

अव पोष्ट डक्टरेट गर्ने इच्छा छ । अहिले त पढ्ने समय छैन, उपसभामुखको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्नु छ । संविधान कार्यान्वयनमा जुट्नु छ । तर समय भएपछि पोष्ट डाक्टर गर्छु ।  विद्यावारिधि नेपालमा गरें, यो पोष्ट डक्टरेट विदेशमा गर्ने इच्छा छ । यो इच्छा म पुरा गरेरै छाड्छु । अहिले उमेरले ५३ बर्षको भएँ । उमेरले पढाई रोक्दैन । म पढाईमा बिश्राम लिन्न । म प्रतिस्पर्धीभन्दा तिव्र यात्रा तय गर्न सक्छु । यही भूमिकामा पनि म सृजनात्मक हुनेछु ।   

महिलाको मुद्दामा महिलामात्रै अघि सर भन्ने हैन । पुरुषले पनि बोल्ने, महिलाले पनि बोल्ने । सिंगो राष्ट्रको सवालमा महिला पुरुष दुबैले बोल्नुपर्छ । अहिले महिलाको सहभागिता ३३ प्रतिशत छ तर यतिले मात्रै हुँदैन, ५१ प्रतिशत पुर्याउनुपर्छ भन्ने हो । अहिले जुन खालको टे«ण्ड देखियो, त्यसमा केही चेन्ज गरेर लैजानुपर्दछ । 

दाईपनि पिएचडी बहिनीपनि पिएचडी, दुवै जना सांसद ।  लिम्बु समुदायमा कति हुनुहुन्छ, पिएचडी गर्ने ?
लिम्बु समुदायमा कति छन् भन्ने त मलाई थाहा छैन तर धेरै चाँही छैनन् । तर लिम्बु समुदायको महिलामा चाँही म नै पहिलो  पिएचडी गर्नेमा पर्छु । अव त अरु भाई बहिनीहरु पनि पढन थालेका छन् । दाजु माननीय (डा.विजय सुब्वाले) त भर्खरै भयो पिएचडी गर्नुभएको । मैले त पहिला नै गरे । दाईले आदिवासी जनजातिका बारेमा पिएचडी गर्नु भयो, मैले महिला आन्दोलनमा गरेको हो । 

हिजोको महिला आन्दोलनमाथि तपाईले गरेको अध्ययन र आजको महिला आन्दोलनमा के फरक पाउनुभएको छ ?
हिजोको आन्दोलनमा खाली हामीलाई यो चाहियो भन्ने बढी हुन्थ्यो । दाइजो प्रथा, कु–संस्कार, महिला र पुरुषमा बराबरीका कुराहरु बढी थिए । त्यही कुरा अझैपनि हामीले उठाइरहेका छौ । महिला सहभागिता त्यतिबेला पनि हामीले उठाएका हौं तर के फरक छ भने पहिला संविधान बोलेको थिएन । अहिले संविधानमा ३३ प्रतिशतको कुरा लेखिएको छ । पहिला शून्य सहभागिता थियो, सहभागितामा ऐन कानुनमा ३३ प्रतिशत सुनिश्चित छ । पहिला उपलब्धीका लागि लागिरहेका थियौं, अहिले सुनिश्चित भइसक्यो । 

उपसभामुख भइसकेपछि संसदमा तपाईको भूमिको के हो ? 
उपसभामुख भइसकेपछि संविधानमा व्यवस्था भएअनुरुप सभामुखको अनुपस्थितिमा उपसभामुखले त्यो रोल प्ले गर्ने भन्ने छ ।  त्यसभन्दा बाहिर आफ्नो भूमिका कसरी निभाउने त्यो आफैंमा भर पर्छ  । भूमिका आफैंले सृजना गर्ने हो । म हिजो कामगर्दा देखि नै एक्टिभ हुँ । मलाई महिला अधिकारकर्मी मानवअधिकारकर्मी, प्राध्यापक राजनीतिककर्मी र कानुन व्यवसायी पनि हो । जुन फिल्डमा म  आवश्यक हुन्छ, त्यहाँ म गएं । त्यही भएर मैले गरिरहेको कुरा भएकाले यी क्षेत्रका लागि काम गर्ने पहल गर्नेछु । 

संविधान कार्यान्वयनका लागि तपाई महत्वपूर्ण भूमिकामा हुनुुहुन्छ । संसदलाई अर्डरमा राख्ने दायित्वमा पनि हुुनुहुन्छ । कसरी यी काम संपादन गर्नुहुन्छ ? 
नयाँ फिल्डमा नयाँ जिम्मेवारी त हुन्छ । तर सबै नयाँ भएपनि हामीले बाहिर पनि त्यस्तो कार्यक्रम त चलाइरहेको हुन्छौं । अहिले फरक भनेको शव्द चयन, वाक्य गठन हो, यसमा त ध्यान दिनैपर्छ जथाभावी शब्द चयन गरेर पनि हुँदैन । वाक्य गठनमा पनि शव्द अपाच्य हुन्छ भने त्यो शब्दको प्रयोग गर्न हुदैन । संसदमा चेयर गर्दा पनि जे भन्नुपर्ने हो, त्यो भन्दा बढि बोल्न पाइदैंन । तर त्यस्तै प्रकृतिका भूमिका हामीले बाहिर निभाइसकेका छौ । चेयर गर्ने, बैठक सन्चालन गर्ने त पहिला नै गरिसकेकै हो । त्यही भएर खास समस्या अनुभव गरेकी छैन । 

राजनीतिसँगैं उच्चतहको अध्ययन गर्नुभयो । कसरी पढाईमा समय ब्यवस्थापन गर्नुहुन्छ ? 
नेपालमा के हुँदैछ भनेर विहानको ५ बजे सबैभन्दा पहिला समाचार हेर्छु – अनलाइनबाट । त्यसबाट के हुँदैछ भन्ने एकखालको तस्विर आउँछ । त्यो पढिसकेपछि एउटा कन्सेप्ट हुन्छ, अनि आफूलाई अपडेट गराउने हो । मैले अध्ययन गर्ने किताव सबै बिराटनगरतिरै छन् । यता किताव ल्याएको छैन । म आफु अध्ययनशील छु ।  साथै मसँग संगत गर्ने साथीहरुलाई पढ्नुपर्छ भनेर हौसला दिन्छु । अहिले त उपसभामुख भएपछि पढ्न पाएकी छैन । मोरङमा चाही मेरो किताव धेरै नै छन् । 

पिएचडीपछि पोष्ट डक्टरेट गर्ने इच्छा छ । अव अहिले पढ्ने समय नभएर मात्रै हो । समय भएपछि पोष्ट डाक्टर बन्ने इच्छा छ । विद्यावारिधिमाथि एक स्टेप हुन्छ, त्यो विदेशमा पढने हो ।  त्यो इच्छा म पुरा गरेरै छाड्छु । अहिले उमेरले ५३ बर्षको भएं ।  जे होस पढने कार्य त रोक्नु हुँदैन । 

राजनीति, पढाई र घरपरिवार पनि सम्हाल्दै अघि बढ्न चाहने नेतृहरुलाई केही सुझाव छन् कि ? 
हरेक महिलाले आफुलाई क्रियासिल बनाउनु पर्छ । दोस्रो हरेक हिसावले अरु प्रतिस्पर्धी भन्दा म तिब्र गतिमा हिड्न सक्छु भन्ने सोचको विकास गर्नुपर्छ । अध्ययनशिल पनि हुन पर्यो, समयलाई व्यवस्थापन गर्न जान्न पर्यो । यति गर्यो भने महिलाले सफलता हासिल गर्न सक्छन् ।