मर्निंगवाक सकेर यसो चियापसलतिर लस्कने बानी मेरो पुरानै बानी हो । पसलको चिया मुखमा परेन भने त के नभएको के नभएको जस्तो लाग्छ । म पसल पुगेपछि पसलका राजनीतिक जिज्ञासुहरुसंग राजनीतिक छलफल, अड्कल र बहस शुरु भईहाल्छ । काँठका चियापसलहरु त्यसै त ठूल्ठूला राजनीतिक गफगर्ने अखडा मानिन्छन् । आज त्यस्तै छलफल भयो ।

“यो सरकार त दशै अगाडि नै ढल्छ भन्छन् नि दाई ? त्यस्तै हो र ?” सुरुप्प चिया तान्दै एक छिमेकीले म तिर प्रश्न तेस्र्यायो । 

“कस्ले सुनाउछ यस्ता हावादारी कुरा तिमीलाई ?” मैले सोधें ।

“ख्वै सरकार ढाल्ने ठूलै चलखेल हुँदैछ रे काठमाण्डौमा, ठूलै मान्छेले भनेको मलाई”–उसले ठाँटका साथ भन्यो ।

निर्मल भट्टराई

मास्टरले कमजोर विद्यार्थीलाई बुझाउने शैलीमा म उसलाई बुझाउन थालें–“हेर भाई, यो सरकालाई संघीय संसदको दुई तिहाई समर्थन प्राप्त छ । सत्तारुढ नेकपा भर्खर एकता प्रक्रियामा गएको छ । यसको विभाजन नभई वार्ता तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेर तत्कालीन एमाले बाहेकका सबै राजनीतिक पार्टी एक ठाँउमा आएको अवस्थामा मात्र वर्तमान ओली सरकार ढल्न सक्छ । तर त्यो अहिले विल्कुल असंभव कुरा हो किनभने सरकार ढाल्न सक्ने त्यो बाटोमा फलामे तगारो नेकपा एकताले लगाइदिएको छ । ”

“प्रचण्डलाई उक्साउने, नेकपाको एकता भाँड्ने र सरकार ढाल्ने भनेको होलानि त दाई”– नजिकै बसेको अर्को अधवैंसे बोल्यो । 

वरिपरि हाम्रो गफ सुन्नेहरुको भीड लागिसकेको थियो ।

अब मेरो भाषण शुरु भयो ।

“हेर्नोस् साथी हो, प्रचण्ड यो समयको एक महान नेता हुनुहुन्छ । उहाँलाई केवल आफू प्रधानमन्त्री बन्न छिर्के दाउ खेल्ने नेताको हैसियतमा मात्र बुझ्न जे प्रयत्न भईराखेको छ, त्यो दुर्भाग्य हो । बाम गठबन्धन बनाएदेखि पार्टी एकताका अहिलेसम्मका उहाँका प्रयत्नहरुले यी सबै आरोपको खण्डन गर्दैनन् र ? जनताको अभिमतलाई कदर गरेर उहाँले के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने र पाँचबर्ष टिकाउने काममा प्रचण्डले खेलेको सकारात्मक भूमिका पनि देख्न सक्नु पर्यो नि!”

“हेर हेर आफ्नो नेता बचाउन कुर्लेका यी दाई”–अर्को ठिटोले गिज्यायो,“अस्तिमात्र प्रचण्डलाई भारतीय गुप्तचर सस्था रअका प्रमुखले भेटेको होईन  ? प्रधानमन्त्री बन्न पाउने आशामा डा.बाबुरामले उपेन्द्रको नेतृत्व स्वीकारेर पार्टी एकता गरेको होईन ?खेल कता कता पुगिसक्यो ।”

“यस्ता वेतुकका हल्लाको पछि लाग्नु ठीक छैन । दुई तिहाई जनमतप्राप्त सरकार एउटा कुनै कूटनीतिक भेटघाटले ढल्छ भाई ? हाम्रो देशको सरकार बनाउने र ढाल्ने कुरा विल्कुल हाम्रो मामिला हो, अरुको होईन ।” मैले निष्कर्ष सुनाउने शैलीमा भनें ।

“कतिदुई तिहाईको रट लगाउछौ बाबु ? १५ सालमा विपीलाई जनताले दुई तिहाई मत दिएका होईनन् ? पर्चा बाड्ने हात यिनै हुन् । भोट हाल्न पो उमेर पुगेन त । दुई बर्ष नपुग्दै राजाले कर्याप झ्याप ”– असीबर्ष उमेर पार गरेका मेरा टोलवासीे बोले,“अहिले पनि के भन्न सकिन्छ र ?”

जनताको सेवामा सरकार तल्लीन भएर लागेको छ । अल्पकालीन र दीर्घकालीन परिवर्तका लक्षण देखिदैछन् । अब फेरि राजतन्त्र फकिन्छ भन्नु दाह्रा नङ्ग्रानिकालेर फलामको बार भित्र थुनिएको सिंहले मत्ताहात्तीको शिकार गर्छ भन्नुजस्तै हो । 

“१५ सालको चेतना र अहिलेको चेतना विल्कुल फरक छ बाजे”– मैले भनें,“तपाईंलाई थाहा छ, १५ सालमा शक्तिशाली राजतन्त्रको छहारी भित्र विपीको दुईतिहाई थियो । भर्खर राणाको हातबाट सत्तापाएको राजतन्त्र सो सत्ता जनतामा जानदिन ईच्छुक थिएन । विपीको पार्टीभित्र विपीको नेतृत्व स्वीकार्नेभन्दा राजतन्त्रको टाङ्मुनी छिर्न चाहने थुप्रै नेता थिए । अन्तराष्ट्रिय परिस्थिति अहिलेको भन्दा निकै भिन्न थियो । तर अहिले के पी सरकारको जग त्यति कमजोर छैन । दाह्रा नङ्ग्रानिकालेर राजारुपी सिंहलाई कतै निस्कन नसक्ने गरी बन्द गरिसकिएको छ । अन्तराष्ट्रिय सम्बन्ध मजवुत र सन्तुलनमा राखिएको छ । सरकारलाई ब्याकिङ्गगर्ने लोकप्रिय र लडाकु नेताकार्यकर्ता सम्मिलित शक्तिशाली पार्टी छ, बन्दैछ । १७ साल पछिका विभिन्न तुमुलकारी आन्दोलनले खारिएको जनताको चेतना छ । जनताको सेवामा सरकार तल्लीन भएर लागेको छ । अल्पकालीन र दीर्घकालीन परिवर्तका लक्षण देखिदैछन् । अब फेरि राजतन्त्र फर्किन्छ भन्नु दाह्रा नङ्ग्रानिकालेर फलामको बार भित्र थुनिएको सिंहले मत्ताहात्तीको शिकार गर्छ भन्नुजस्तै हो । ”

पसलमा उपस्थित धेरै मानिसहरु सहमत भएजस्ता देखिन्थे । कोहीकोही उपबुज्रुकहरु चाहिँ “यिनले भनेर हुन्छ, यहाँ कसैको केही दाल गल्नेवाला छैन, नेपालमा भारत र अमेरिकाले जे चाह्यो त्यही हुन्छ, नेता त सबै गोटी त हुन” भन्ने जस्ता बकम्फुसे तर्क गर्दै थिए । भीडबाट कसैले भनेको सुनिदै थियो—“पाँच बर्षसम्म यही सरकारको कुरा गर्नु पर्नेभो, पहिले जस्तो सात दश महिनामा नयाँनयाँ सरकार आएपो !”