सिन्धुली, २६ माघ– सिन्धुलीको मरिण गाउँपालिका ६ धमिरेमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुई जना घाईते भएका छन् भने स्थिती तनावपूर्ण बनेको छ ।

 स्थानीय सूर्य गोले गणेश गोले, दोर्जे गोले र शंकर गोलेबीच दुई दिनअघि विवाह भोजमा भएको भनाभनको विषयलाई लिएर शनिबार गणेश गोलेलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको हो । 

यसअघि प्रहरीले शंकर गोले र दोर्जे गोलेलाई पक्राउ गरेको  थियो। शनिबार बेलुका करिब ७ बजे गणेशलाई प्रहरी चौकी र्पुयाएलगत्तै स्थानीयको एक समूहले प्रहरीमाथि आक्रमण गरेको हो । 

उनीहरुले  प्रहरीमाथि नै ढुंगामुडा गरेपछि पझडप भएको हो । जिल्ला प्रहरी कार्यलयका डिएसपी लोकदर्शन थापाका अनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २० राउन्ड हवाई  फायर गरेको छ ।

झडपका क्रममा दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष पानीराज बोम्जनले बताए। उनका अनुसार गोली लागेर शार्किमान मोक्तान घाइते भएका हुन्। अर्का एक जना प्रहरी रहेको तर उनको नाम नखुलेको उनको भनाइ छ। झडपकै क्रममा दुईवटा सिलिन्डर ग्यास प्रहरी चौकीभित्र भेटिएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले अहिलेस्थिति सामान्य भएको बताए।

 स्थितिलाई मध्यनजर गर्दै तनावग्रस्त क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। उनले स्थानीले ग्यास सिलिण्डर ल्याएर प्रहरी चौकीमै विस्फोट गराउने प्रयास गरेको र हातहतियारसहित प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले बाध्य भएर जवाफी कारबाहरी गरेको बताए।