अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच जेठ २९ मा सिंगापुरको पान प्यासिफिक होटेलमा पाँचघण्टा लामो ऐतिहासिक भेटवार्ता भयो । वार्तापछि दुवै नेताद्वारा हस्ताक्षरित र सार्वजनिक ४ बुँदे संयुक्त बक्तब्यमा प्रयुक्त भाषा र सारबस्तुले अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ आरम्भको संकेत गरेको छ । दक्षिण कोरिया वार्तामा प्रत्यक्ष सहभागि नभएपनि सौलको प्रतिनिधित्वसमेत वासिङटनले गरेको मान्दा कोरियाली प्रायद्धिपमा शान्ति प्रारम्भका लागि यो ठोस प्रारम्भ हो ।  

गोपाल खनाल 

चारबुँदे संयुक्त बक्तब्य होस् वा वार्तापछि राष्ट्रपति ट्रम्प र नेता किमका प्रतिक्रिया, तिनलाई आधार मान्दा विश्व राजनीति र कूटनीतिमा यो शिखर वार्ता नयाँ कुटनीतिक व्यवस्था निर्माणतर्फको यात्रा बन्नसक्छ । सहमतिको पहिलो बुँदामा दुबै देशका नागरिकको शान्ति र समृद्धिको चाहना अनुसार अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापित गर्न प्रतिवद्ध रहेको उल्लेख छ । विगत हेर्दा कल्पनासमेत नगरिएको र वार्ता हुनुअघि सम्मपनि शंका गरिएको शत्रुतापूर्ण सम्वन्ध भएका र सन्की विश्व कुटनीतिको विपरित ध्रुवका प्रतिनिधि नेताबीचको यो सहमतिलाई सामान्य विकास मान्न सकिदैंन् । कोरियाली प्रायद्धिपलाई स्थायी र दिगो शान्ति शासित क्षेत्र बनाउन संयुक्त प्रयास गर्ने,   कोरियाली प्रायद्धिपलाई निशस्त्रीकरण गर्ने र युद्धबन्दी देश फिर्ता पठाउन सहमत हुनु महत्वपूर्ण बिकास हो । 

चार बुँदे सहमतिका अतिरिक्त वार्तापछि ट्रम्प र किमले आफ्ना धारणा राखे, जसले वार्ता कता उन्मुख छ भन्ने थप प्रष्ट पार्छ । वार्तापछि ट्रम्पले ‘बिगतले भविश्य निर्धारण गर्दैन’ भन्दै प्रतिकूलताहरु समाप्त भएको घोषणा गरे भने नेता किमले पनि ‘बिगतलाई पछि छोडेर अघि बढ्ने’ र ‘विश्वले मुख्य परिवर्तन देख्ने’ प्रतिक्रिया दिए, जसले शान्तिको खोजीमा रहेका विश्व नागरिकलाई सुखद आश्चर्य दियो । महाद्धिपीय प्रतिक्रियाहेर्दा, एसिया युरोप र अमेरिकाभन्दा तुलनात्मक बढी आश्वस्त र उत्साहित देखिन्छ । अमेरिका र युरोपमा सचेतनापूर्ण प्रतिक्रिया आएका छन्, वार्ताको सफलता÷असफलता प्योङयाङको पूर्ण निशस्त्रीकरणमा भरपर्ने संशयपूर्ण विश्लेषण त्यहाँ हावी देखिन्छन् ।      

सिएनएनलगायतका समाचार एजेन्सीले उत्तर कोरियाको निशस्त्रीकरणमा ट्रम्पले  विगतको अडान छाडेको र पानमुन्जम् वार्ताभन्दा किम एकतह पनि अघि नबढेको भन्दै आलोचना गरिरहेका छन् । अझ बढी आपत्ती आणविक निशस्त्रीकरणको उधारो मूल्यमा दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्नेसमेत निर्णयमा जनाएका छन् । १७ महिनासम्म उत्तर कोरियाको जेलमा रहेका अमेरिकी नागरिक ओटो वाम्बियरको मृत्युभएको भएको प्रसङ र वार्तावारेको प्रश्नमा राष्ट्रपति ट्रम्पले सहज उत्तर दिए– ‘त्यही मृत्युले वार्तालाई योगदान गर्यो । ओटोविना यो सम्भव हुनेथिएन ।’ 

पर्यबेक्षक भएर हेर्दा, दुई देशबीचको सम्बन्धमा यो नयाँ अध्याय हो । नयाँ सकारात्मक सम्बन्धतर्फको सुरुवात हो । यो वार्ता राष्ट्रपति ट्रम्पले भनेजस्तो ह्वाइटहाउसदेखि प्योङयाङ प्यालेससम्म जारी रहनुपर्छ । यहाँ वहस गर्न खोजिएको बिषय यो वार्तारम्भसँगै वदलिंदै गरेको वैश्विक राजनीति र कूटनीतिको सम्भावनावारे त हो, त्यो सँगै समकालिन राजनीति र कूटनीतिवारे पनि हो । सर्वोच्च नेता किम र शक्तिशाली राष्ट्रपति ट्रम्पमा आएको नाटकीय सकारात्मक परिवर्तनवारे हो, जुन उनीहरुको स्थापित पहिचानभन्दा विलकुलै फरक छ । अर्थात् किम र ट्रम्पमा आएको परिवर्तनसँगै वैश्विक राजनीति र कुटनीतिमा आउँदै गरेको परिवर्तनमाथिको वहस पनि हो ।    

अमेरिका पहिला भर्सेज महाशक्ति  
२० जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले भने,‘आज उप्रान्त नयाँ दृष्टिकोणले शासन चलाइनेछ । अमेरिका फष्ट र अमेरिका फष्ट ।’ ट्रम्पको सबैभन्दा महत्वपूर्ण (अमेरिकी इतिहासमै) नीति हो – अमेरिका पहिला । सामान्यत् हरेक राष्ट्रप्रमुख र सरकार प्रमुखको पहिलो प्राथमिकता उसको आफ्नो देश नै हो । यसको सार्वजनिक घोषणा गरिदैंन् । त्यसमा पनि विश्वमा राष्ट्रप्रेमी शक्तिशाली नेतृत्वको उदय भइरहेका बेला यो पूर्व आवश्यकताका रुपमा आएको देखिन्छ । परराष्ट्र सम्वन्ध र नीतिको केन्द्रमा हरेकको आफ्नै देशको स्वार्थ हुन्छ, शासक नै वाह्य पपेट हुँदाको अवस्थामा वाहेक । त्यसरि हेर्दा ट्रम्पले लिएको ‘अमेरिका पहिला’ नीतिलाई अन्यथा ठान्नु हुँदैन । तर अमेरिका ग्लोवका १९५ देशहरुमध्येको एउटा देशमात्र होइन, यो अहिलेसम्मको महाशक्ति हो । महाशक्तिका निश्चित दायित्व हुन्छन् ।  

यदी अमेरिका महाशक्ति हो भने ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नीति लिएर ‘गिभ एण्ड टेक’ का आधारमा मात्र कूटनीति सञ्चालन गर्छु भन्न पाउँदैनन् । ट्रम्पले वारम्वार दोहोर्याएका छन् यदी अमेरिकाले कसैलाई सहयोग गर्छ भने सित्तैमा गर्दैन, उसले पनि सहयोग पाउनुपर्छ । भारतीय पूर्वप्रधानमन्त्री आइके गुजरालले नेपालजस्ता साना छिमेकीलाई भारतले ‘रेसिप्रोसिटी’ होइन, ‘नन–रेसिप्रोसिटी’ का आधारमा व्यवहार गर्नुपर्छ भनेको स्मरण गर्ने हो भने महाशक्तिका शक्तिशाली राष्ट्रपति ट्रम्प साना र कमजोरसँग पनि ‘रेसिप्रोसिटी’ को शर्त तेस्र्याउँछन् ।   

उनका मेक्सिको सिमामा पर्खाल लगाउने, ओवामाले बन्द गर्ने घोषणा गरेको ग्यान्टेनामो–वे चालु राख्ने, केही मुस्लिम राष्ट्रलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणादेखि पछिल्लो पटक आफ्नै युरोपेली साझेदार, क्यानडा र मेक्सिकोमाथि झण्डै व्यापारमा प्रतिवन्ध लगाउने तहको कर अमेरिका पहिलो नीति निर्देशित देखिन्छन् । अमेरिकी निर्वाचन प्रणाली अनुसार, राष्ट्रपति शक्तिशाली हुन्छन नै तर व्यक्तिगत स्वतन्त्रता उच्च भएको देशमा ट्रम्प भनेको अमेरिका र अमेरिका भनेको ट्रम्प जस्तो (कुनैबेला इन्दिरा भनेको इण्डिया, इण्डिया भनेको इन्दिराजस्तै) नीतिले अमेरिकी प्रजातन्त्रमाथि प्रश्न उठाएको छ । डेमोक्रेटिक अमेरिकीहरुले यसको डिस्कोर्स सुरुगरेको पनि देखिन्छ । यस्तो नीति लिएका र चरित्र भएका ट्रम्प आखिर किन उत्तर कोरियासँग यो वार्ता गर्दैछन ?

स्वीकारिएको सत्ताको खोजी 
अव उत्तर कोरियाली शासक किमलाई हेरौं । सत्तारोहणका दृष्टिकोणले ट्रम्पभन्दा विलकुल फरक बाजेदेखि बाबुहुँदै प्राप्त डाइनेष्टीका प्रतिनिधिपात्र हुन किम । पढाईमा स्वीजरल्याण्डमा पाएको वाह्य एक्स्पोजर बाहेक अर्को कुनै अनुभव नभएका यी शासन व्यवस्था र चरित्रमा डिक्टेटर नै हुन् । सन २०११ मा जव यी सत्तामा आए, उनले अमेरिका, जापान, दक्षिण कोरियालाई पहिला तर्साए र पछि आतकिंत पारिरहे । आणहिक क्षेप्यास्त्रको परिक्षण गरिरहे, दक्षिण कोरिया र जापानतर्फ फर्काएर बेलाबेला बिस्फोट पनि गराए, अमेरिकालाई सिध्याउने आणविक क्षेप्यास्त्र बनाएको घोषणा गरिरहे । 

एक्लो पारिवारिक सत्ता सञ्चालन गरेका, महाशक्तिलाई समेत आंतकित पारेका किमलाई किन अमेरिकासँग वार्ता गर्नुपर्यो ? आखिर ट्रम्प र किमले किन स्थापित नीति  र चरित्रभन्दा फरक बाटो समाते ? यसमा बदलिंदो विश्व कूटनीति र वदलिंदा विश्व शक्ति सन्तुलन जस्ता कारण छन् । नेता किमले विश्व शान्तिको चाहनाबाट मात्र वा राष्ट्रपति ट्रम्पले महाशक्तिको चरित्र अनुसार वास्तविक विश्व नेता बन्ने चाहनाबाट मात्र यो वार्ता गरेका होइनन् । दुबै नेतामा एउटा समानता भने छ–स्थापित मान्यता भत्काउने लहडी चरित्र । यसमा किम भन्दा ट्रम्प अगाडि देखिन्छन् । 

त्यसोभए के हो कारण ? किमको हकमा वाह्य जगतद्वारा स्विकारिएको सत्ता र ट्रम्पको सन्दर्भमा प्रमाणित महाशक्तिको राष्ट्रपति, जसले सम्भवत उनको दोश्रो कार्यकाय संरक्षित गर्न सहयोग पुर्याउँछ । राष्ट्रपति ट्रम्प र नेता किमको सत्ता अहिले जोखिममा छैन । तर उनीहरुका सत्ताबिरुद्ध घरेलु र वाह्य असन्तुष्टी संग्रहित हुँदै गएको देखिन्छ । बिद्रोह वा क्रान्तिका लागि घरेलु वातावरण जत्तिकै महत्व वाह्य वातावरणको हुन्छ । चीन महाशक्तिउन्मुख भइरहँदा उत्तर कोरियालाई अहिलेकै जस्तो ‘आइसोलेटेड’ अवस्थामा पहिला जस्तै सहयोग बेइजिङको गरिरहन सक्छ भन्ने सुनिश्चितता छैन भने ट्रम्पको अमेरिका पहिला नीतिबाट एक्लिंदो वासिङटनलाई विश्व कूटनीतिको प्लेयरका रुपमा पुनः स्थापित हुन गाहे हुनसक्छ ।        

‘द वासिङटन पोष्ट’ मा डान बाल्जले ट्रम्पको उत्तर कोरिया र अन्तराष्ट्रिय ब्यापारमा लिएको अनुदार नीतिलाई दुई महत्वकाँक्षी विदेश नीति र दुई व्यक्तिगत जुवाको नाम दिएका छन् । के यी दुई मुद्दामा प्रदर्शनयोग्य उपलब्धीविना राजनीतिक रुपमा ट्रम्पले कुनै लाभ लिन सक्छन ? ट्रम्प उत्तर कोरियासँगको आणविक निशस्त्रीकरण गर्न सफल भए भने अमेरिका महाशक्ति भएको प्रमाणित गर्नेछन्, अर्को कार्यकालका हकदारपनि, यस्तो बिश्लेषण उनको छ । 

नेपालले वार्तालगत्तै उपलब्धीको स्वागत गर्दै त्यसले कोरियाली प्रायद्धिपमा शान्ति र स्थायित्व आउने बिश्वास गर्यो, यो सकारात्मक छ ।