सिरहा, २२ असोज - मेलाको विषयमा  झगडा हुँदा सिरहा नगरपालिका सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घाइते भएका छन्। 

झगडामा घाईते भएका फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुन लाई प्राथमिक उपचार पछि विराटनगर रिफर गरिएको छ।

जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ। घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा काटिएको छ। जिउमा लठीको डाम देखिएका छन्। 

मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको विषयमा झगडाको रुपमा लिएको स्थानीयहरूले बताएका छन् । उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईन उपर कुटपिट भएपछि झगडा झन बढेको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले झगडाबारे जानकारी पाएलगत्तै प्रहरी पठाइएको बताए। दुई टोलबाट सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

झगडा बढ्न नदिन गाउँमा प्रहरी टोली खटाइएको एसपी चतुर्वेदीले बताए।