कञ्चनपुर, ३० जेठ - जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो ।

भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य ऊर्जा जडान भइरहेको सूर्योदय ऊर्जा प्रालिका प्राविधिक नरेन्द्रराज जोशीले बताउनुभयो । 

“झलारी र आदर्श खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको काम पूरा भएको छ”, उहाँले भन्नुभयो, “बेलौरी र त्रिभुवनबस्तीमा एक साताको अवधिमै सौर्य ऊर्जा जडान हुन्छ ।” 

प्रत्येक खानेपानी आयोजनमा सौर्य ऊर्जाका ४५ वटा पाता जडान गरिएका छन् । एउटा पाताबाट ३१५ वाट सौर्य ऊर्जा प्राप्त हुन्छ । एउटा आयोजनाका लागि जडान गरिएका पाताबाट करीब १४ किलोवाट सौर्य ऊर्जा प्राप्त हुन्छ । 

विद्युत्को आपूर्ति नहँुदा खानेपानीबाट समेत वञ्चित हुनुपरेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कमलापति भट्टले बताउनुभयो । सौर्य ऊर्जा जडानपछि अब उपभोक्ताले बिना झन्झट चौबिसै घण्टा सहज रुपमा खानेपानी पाउने भएका छन् । आयोजनाले बुझाउँदै आएको विद्युत् महशुलसमेत न्यून हुने भएको छ । तराई क्षेत्रमा सौर्य ऊर्जा भरपर्दो रहे पनि बादल लागेका बेला मात्रै आकस्मिक रुपमा विद्युत्को प्रयोग गर्नुपर्ने र अन्य बेला सौर्य ऊर्जाले कार्य गर्ने बताइएको छ । 

बीस लाखमा तटबन्ध 
शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा जग्गा भू–क्षय हुनबाट जोगाउन रु २० लाखको लागतमा तटबन्ध निर्माण गरिएको छ । बाढीको जोखिमा रहेका स्थानको पहिचान गरी आवश्यकताका आधारमा तटबन्ध निर्माण गरिएको हो । 

स्याली नदी र टोटी खोलामा तटबन्ध निर्माण गरी जग्गा भूक्षय हुनबाट जोगाइएको वडाध्यक्ष जगता रानाले बताउनुभयो । टोटी र स्याली नदीमा रु १०/१० लाखको लागतमा तारजाली र ढुंगाको प्रयोग गरी पक्की तटबन्ध निर्माण गरिएको हो । 

तटबन्ध निर्माणपछि करीब १५० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ । उनीहरु बाढीको खतराबाटसमेत मुक्त भएका छन् । स्याली नदीले बर्षेनी जग्गा कटान गर्दै आएको छ । 
रासस