काठमाडौं, २८  भदौ– भारत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयासमा छ । पाकिस्तानको ईस्लामावादमा प्रस्तावित सार्कको १९ औं शिखर सम्मेलन भारतकै कारण स्थगित भयो ।

काश्मिरको उरीमा रहेको भारतीय सेनाको पोष्टमा पाकिस्तानी सिमाबाट आक्रमण भएको र त्यसमा आफ्ना सैनिक मारिएको भन्दै नयाँदिल्लीले इस्लामावाद सम्मेलन बहिष्कारको निर्णय गर्यो । भारतको निर्देशनमा सार्कको अध्यक्ष नेपाल, भुटान र बंगलादेशले सहभागि नहुने निर्णय गरे ।

सार्कको १९ औं शिखर सम्मेलन स्थगित भयो । अव कहिले सम्मेलन हुने निश्चित छैन । तर यसबीचमा नयाँदिल्लीको एउटा रणनीतिक योजना बाहिर आयो–सार्कलाई असफल करार गरी बिमस्टेक र बीबीआइएन अघि बढाउने । किनकी दुबै क्षेत्रीय मंचमा पाकिस्तान छैन । अर्थात पाकिस्तानलाई क्षेत्रीय मंचबाट पनि एक्ल्याउने भारतीय योजनाको कार्यान्वयन यसरी सुरुभयो, जसलाई अन्य दक्षिण एसियाली सरकारले परोक्ष÷प्रत्यक्ष समर्थन गरिरहेका छन् ।

सार्कलाई ‘प्यारालाइज’ गरी समाप्त पार्ने भारतीय योजनामा पाकिस्तानबाहेक अन्य सरकारले सहयोगीको भूमिका खेलेपछि सार्क क्षेत्रका नागरिकहरुको साझा मंच त्यसको खुला प्रतिवादमा उत्रेको छ । त्यसको एक संगठित प्रयास बुधबार काठमाडौंबाट सुरुभयो ।  

‘चेन्जिङ पोलिटिकल ल्याण्डस्केप अफ साउथ एसिया एण्ड द रोल अफ पिपुल्स सार्क’ शिर्षकमा पिपुल्स सार्कको दुई दिने क्षेत्रीय भेला बुधबार काठमाडौंमा सुरुभयो, जसमा सहभागि दक्षिण एसियाली अगुवा नागरिकले भारतीय रणनीतिक स्वार्थमा सार्कलाई कमजोर बनाइएको भन्दै आक्रोस पोखे ।

नेपालमाथिको भारतीय नाकाबन्दीदेखि भारतको बैंगलुरुमा भएको पत्रकार गौरी लंकेशको हत्या हुँदै म्यानमारमा रोहिंग्या अल्पसंख्यक मुस्लिममाथि भएको नरसंहारमा भारतीय सरकारको भूमिका नकारात्मक भएको निश्कर्ष नागरिक अगुवाको थियो । 

आफूलाई उदार प्रजातन्त्र ठान्ने भारतले स्वतन्त्र र सार्बभौम छिमेकी नेपालमा नाकाबन्दी लगाउने आपराधिक कार्य गरेको, धार्मिक अतिवाद र अनुदारवादबिरुद्ध कमल चलाइरहेकी पत्रकार गौरीको हत्यामा सरकारको मौनता र म्यानमारका रोहिंग्या मुस्लिममाथि भएको दमनमा भारतीय मौनता प्रजातन्त्रका आधारभूत चरित्र अनुरुप नभएको बताएका थिए ।

भारतका तर्फबाट जनसार्क अभियन्ता राखी सेहगल, पाकिस्तानका अली हैदर, बंगलादेशका रशिद–ई– महबुब, नेपालका डा. नेत्र तिम्सिना र शर्मिला कार्कीले दक्षिण एसियाको परिवर्तित भूराजनीति र सार्कको सान्दर्भिकता शिर्षकमा आफ्ना धारणा राखेका थिए । 

सबै बक्ताले सार्कको औचित्य र सान्दर्भिकता स्थापनाकालको जत्तिकै रहेको भन्दै भारत र पाकिस्तानको द्धिपक्षीय तनावको छायाँमा सार्क पर्नु नहुने धारणा राखे । सार्कको प्रस्तावित ईस्लामाबाद शिखर सम्मेलन स्थगन हुनुमा भारत जिम्मेवार रहेको भन्दै तत्काल सार्क सम्मेलन गर्न जनसार्कले दबाब दिनुपर्नेमा सबै एकमत भए । 

भारतकी राखी सेहगलले नेपालमा भारतले नाकाबन्दी लगाउँदा भारतीय जनसार्कका तर्फबाट सबैभन्दा पहिलो बिरोध गरिएको भन्दै भारत सरकारको रबैयाको जति निन्दा गरे पनि कम हुने बताइन । जनसार्कलाई रणनीतिक निर्देशन दिन नागरिक केन्द्रित बिदेश नीति र नागरिक आयोग बनाउनुपर्ने प्रस्ताब राखिन् । सार्कको स्थापनाकालको भावनालाई भारतले अस्विकार गरेको भन्दै त्यसका लागि नागरिकको दबाब आवश्यक रहेको बताइन ।

जनसार्क दक्षिण एसियाली सरकारको छायाँ बन्ने कि वास्तविक नागरिक दबाब समुह बन्ने भन्ने वहस पनि अगुवाबीच भएको छ । दक्षिण एसियाली जनताका साझा समस्या जनसार्कले एकिकृत रुपमा आवाज उठाउन नसकेको महसुस गर्दै त्यसका लागि तत्काल बैकल्पिक योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिईएको थियो । 

कार्यक्रममा सार्कको चार्टरका मस्यौदाकार मध्येका एक पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले सार्कलाई असफल पार्ने प्रयास यसअघि बारम्बार आएको स्मरण गर्दै दक्षिण एसियाली सहयोग अवधारणाको भावना सरकारहरुले समात्न नसकेको बताउनुभयो । ठूला राष्ट्रहरुको आफू शक्तिशाली भएको र अरुलाई सानोको रुपमा व्यवहार गर्ने प्रवृतिका कारण समस्या आएको बताउनुभयो ।