काठमाडौं, ३० जेठ–सिंगापुरमा मंगलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । 

दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरेका छन् । ती पत्रिकाहरुमा बुधबार छापिएका शीर्षकहरुले सो वार्ताको प्रशंसा गर्दै त्यसमा भएको अमेरिका र उत्तर कोरिया सम्झौताको कार्यान्वयनमा दक्षिण कोरियाली नागरिकले खुसी व्यक्त गरेका बताइएको छ । 

सिंगापुर वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँको सो प्रतिवद्धताको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले प्रशंसा गरेका हुन् । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गर्नुभएको छ । 

दुई नेताबीच भएको यो पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनुभएका ट्रम्प उत्तर कोरियाली नेताले यसअघि गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपतिसँग गर्नुभएको सहमतिको कार्यान्वयनमा पनि सहमति जनाउनुभएको थियो । दक्षिण कोरियाली अखबारहरुले अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गरेको र एक्लाएक्लै वार्तामा बस्न पाएको अवसरको सदुपयोग गर्नुपर्ने समाचारमा दिएका छन् ।  

यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको दक्षिण कोरियाली अखबारहरुका बुधबारका शीर्षमा दिएका छन् ।  समाचारमा त्यस्तो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ भनिएको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ– ती अखबारका शीर्षकमा भनिएको छ । 

त्यस्तै सन् १९५३ मा अनायासै कोरिया विभाजन भएपछि आजका दिनसम्म जुन पीडा दुई देशको रुपमा दुई देशका अधिकांश नागरिकले भोगेका छन् । त्यस पीडाको अन्त्य यस शिखर वार्ताले गरिदिने अपेक्षा दक्षिण कोरियाली नागरिकले पनि गरेका समाचारमा जनाइएकोे छ । यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो भन्ने आसय यस शिखर वार्ताका क्रममा विश्वव्यापी रुपमा आएको पनि दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । 
रासस/एएफपी