काठमाडौं, ३२ साउन – वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । 
काठमाडौंको असनमा वि.सं. २००३ सालमा गायिका नूरा देवीको कोखबाट जन्मिएकी अधिकारीको निजी निवास डल्लुमा शनिबार बिहान ८ बजे निधन भएको हो ।
उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।  

शुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’,  ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गर्नुभएकी अभिनेत्री अधिकारीको पहिलो नाट्य अभिनय ‘कची मचा’ हो । 
बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उहाँले  अभिनय गर्नुभएको थियो ।

अधिकारीको पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो ।   निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ अधिकारीको  पहिलो फिल्म हो । यसमा उहाँले हरिप्रसाद रिमालकी पत्नीको भूमिका खेल्नुभएको छ ।  यो फिल्ममा अभिनय गर्दा अधिकारी २२ वर्षकी हुनुहुन्थ्यो । 
स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले जनाको छ।