काठमाडौं, २ जेठ–उत्तर कोरिया र दक्षिण कोरियाबीच हुने भनिएको उच्चस्तरीय शिखर वार्ता प्योङयाङले रद्द गरेको छ । बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने बताइएको थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनसार, दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यासले सृजना गरेको प्रतिकूल परिस्थितिले गर्दा वार्ता रद्ध गर्न बाध्य भएको जनाएको छ ।  

प्योङयाङले उत्तर कोरिया र अमेरिकाबीच सिंगापुरमा हुने योजनाबद्ध भेटवार्ताको भविश्यका वारेमा गम्भीर हुन अमेरिकालाई चेतावनी दिएको छ । 

जुन १२ मा हुने किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्ता तय भएका बेला भएको यो सैन्य उक्साहटले उक्त वार्तालाई समेत अनिश्चित बनाएको छ । यस्तै अवस्था रहने हो भने वार्ताको वातारण बिग्रने चेतावनी उत्तर कोरियाले दिएको छ ।

सीमा क्षेत्रको डिमिलिट्राइज जोन, पानमुनजोममा उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबिच बुधबार वार्ता हुने तयारी थियो । उच्च स्तरीय शिखर वार्ता हुनेबारे गत साता दुई देशबीच सहमति भएको थियो ।