राज्यको राष्ट्रिय शिक्षा नीतिमा राष्ट्रको आवश्यकता अनुरुप शिक्षालाई समतामूलक, अनुसन्धानमूलक, व्यवसायिक र गुणस्तरीय बनाइनेछ भनेर प्रष्ट लेखिएको छ । संविधानमा पनि शिक्षालाई मौलिक हक अन्र्तगत राखी विशेष प्राथमिकतामा राखिएको छ । तर शिक्षाको पाठ्यक्रम निर्माण र हाम्रो आवश्यकताबीचको तादम्यताबारे धेरै बहस छलफल भएको पाइदैंन । शिक्षामार्फत समाजलाई सकारात्मक रुपान्तरण गर्नु एउटा चुनौतीको विषय हो । शान्ति र भाइचाराबिनाको समृद्धि पनि ओजपूर्ण हुँदैन । 

हाम्रो समाजमा दैनन्दिन सुन्नुपर्ने बलात्कार, अपहरण, बोक्सी, छाउपडी जस्ता कुराले कहिलेसम्म निरन्तरता पाउने ? यस्ता घटनाबीचको समृद्धि बेकार हुन्छ । एउटा बालकमा बिकास भएको सोच, व्यवहार र भोगाईले उसको जीवनको लक्ष्य निर्धारण हुनेगर्छ । 

हामीले आधारभूत तहको अध्ययनदेखि नै नैतिक शिक्षा प्रदान गर्नुपर्दछ । आज विश्वलाई साँघुरो घेराबाट हेरेसँगै अंग्रेजी भाषाको अनिवार्य आवश्यकता जसरी महसुस गरिएको छ त्यो भन्दा महत्वका साथ नैतिक शिक्षा सिकाउन जरुरी छ । असल चरित्रवान व्यक्तिको निर्माण यो शिक्षाको बलियो धरातलबिना सम्भव छैन । 

बालबालिकालाई असल संस्कार र मुल्यमान्यता सिकाउन सकेमात्रै सदाचार, सद्धभाव् भएको असल नागरिकको निर्माण हुन्छ । सामाजिक व्यवहारको निर्माण व्यवहारिक ज्ञानबाट सम्भव छ तर आजभोली बालवालिीकालाई प्रविधि मैत्री बनाउने, शिक्षाको गुणस्तरलाई अंगे्रजी भाषाको ज्ञानको स्तरमा मात्रै मापन गर्ने प्रचलनले आफ्ना अभिभावक, आफन्तको उपस्थिती झन्झटिलो मान्ने तर युटुब च्यानल नभई नहुने व्यवहारको विकास भइरहेको छ । 

नेपाल सरकारद्धारा विकसित गरिएको नैतिक शिक्षाको पाठ्यक्रममा चारित्रिक विकास, मानवीय मूल्य, मान्यता र नागरिक कर्तव्य र दायित्व, सामुहिक जीवन पद्धति र विविधता, अनुशासन तथा सकारात्मक चिन्तन जस्ता विषयवस्तु समावेश गरिएका छन् । 

यसको उदेश्य बालबालिकालाई सानैदेखि नैतिक शिक्षा प्रदान गरेर भोलि चरित्रवान नागरिक तयार गर्नु हो । तर यसको अध्ययन अध्यापनप्रतिको प्रभावकारिताप्रति ध्यान दिइएको तथा अनुगमन भने भएको देखिदैंन । समाजमा बढेका यी घटनाक्रमले हामी कहिकतै यो शिक्षाको प्रयोगमा चुकेको महसुस हुन थालेको छ । 

भनिन्छ – घर नै मानिसको पहिलो पाठशाला हो । सामाजिक चेतनामा भएको वृद्धिसँगै अभिवावकहरुमा बढेको व्यस्तताले बालबालिका औपचारिक ज्ञानमा मात्र समेटिन थालेका छन् । जसमा पाठ्यक्रम त समेटिएको होला तर व्यवहार समेटिएको हुँदैन ।  

विद्यालयमा बालबालिका असल र चरित्रवान भएमात्र विश्वविद्यालयबाट सकारात्मक आचरण सहितको दक्ष जनशक्तिको निर्माण हुन्छ । नैतिक शिक्षाले मात्रै सबै धर्म, लिङ्ग, वर्ण, जातजातिप्रति सद्धभाव प्रदर्शन गर्न अभिप्रेरित गर्दछ । यसले आफ्ना भाषा, धर्म, संस्कृति र साहित्यप्रतिको सम्मान गर्दछ । दिनानुदिनका घटनाक्रमहरु हेर्दा र सुन्दा विश्वको सबै ठाउँमा नै नैतिक शिक्षाको आवश्यकता महसुश गर्न थालिएको छ । विकासोन्मुखदेखि विकसितसम्म सबै किसिमका मुलुकमा हिंसाले प्रश्रय पाउँदै गएका छन । हरेक दिन महिला हिंसा र बलात्कारका घटनाले सञ्चार माध्यममा आफ्नो स्थान सुरक्षित गरेझैं हुन थालेको छ । 

सामाजिक जिवनमा यो भन्दा ठूलो बिडम्बना के हुन सक्छ र ? पछिल्लो समय भित्रिएका प्रविधी र हाम्रो सामाजिक अवस्था बिलकुल फरक प्रकृतिको छ । विज्ञानको तिव्र विकाससँगै विकसित भएका सूचना, प्रविधि र त्यसको प्रयोगका कारण बढ्दै गएको मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले पनि समाज बिना लगामको घोडा झैं भएको छ । 

सामाजिक सञ्जालको सहज पहुँच तर प्रयोगमा एकरुपता छैन । यसलाई सार्थक बनाउने मानिसको प्रयोगले सकारात्मक परिणाम आएको भएता पनि यसको दुरुपयोग पनि बढ्दो क्रममा रहेको विषय हो । हामी नेपाली विकासोन्मुख अवस्थामा रहेका छांै । र, विकासको उच्चतम तहमा पुगेका देशको सिको गर्ने अभ्यास बढिरहेको छ । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्रयाइनु अवश्यपनि राम्रो होइन । संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावमा आधारित हुन्छ । 

हाम्रो देशमा हरेकका घर, समाजका आफ्ना आफ्ना संस्कृति र संस्कार छन् । जो आफंैमा उत्कृष्ट छन् । कैयन विदेशी पाहुना यहाँको सांस्कृतिक परम्परा र इतिहासको अध्ययन गर्न आउने गर्दछन । यिनीहरुको खास महत्व छ । तर पछिल्लो समय शहरमा बस्ने युवा पुस्ता मार्फत गाउँगाउँ सम्मपश्चिमा शैलीको अनुसरणले डरलाग्दो रुप लिइरहेको छ । 

समाज नै ज्ञानको अथाह भण्डार हो । विश्वको कुनै पनि विश्वविद्यालयको किताबमा समेटिन नसकेको शिक्षा समाजबाट प्राप्त हुन्छ । नैतिक शिक्षा र सामाजिक शिक्षाका निम्ति बाबुआमाले दिने शिक्षा कुनै विश्वविद्यालयको भन्दा कम हुदैन । त्यसैले भनिन्छ– घर नै मानिसको पहिलो पाठशाला हो । सामाजिक चेतनामा भएको वृद्धिसँगै अभिवावकहरुमा बढेको व्यस्तताले बालबालिका औपचारिक ज्ञानमा मात्र समेटिन थालेका छन् । जसमा पाठ्यक्रम त समेटिएको होला तर व्यवहार समेटिएको हुदैन । सूचना प्रविधिको अनेकन यन्त्रसँग दिन रात घोत्लिनुमै आजका बालबालिकाको दैनिकी बनेको छ । 

यसमा सरोकारवाला सबैले समयमा नै ध्यान दिनु जरुरी छ । प्रयोगको अभ्यासबाट निस्किने दुरुपयोगको परिणामले विकृती निम्त्याउने गर्दछ । कुनैपनि घटनामा घटना पछिको सजायको पाटो फरक कुरा हो । विद्यमान कानुनमा पनि कार्यान्वयनको प्रभावकारितामा प्रश्न उठिरहेका छन् । कुनै पनि दायराले नसमेटीने अक्षम्य अपराधका श्रृंखलाले समाजिक जिवन उथलपुथल बनाइरहेको छ । तथापी गलत कदमप्रतिको निर्मम कानुन निर्माण गर्नुपर्ने कुरामा दुइमत छैन । तर त्यसबाट सिंगो परिवार र समाजलाई पर्ने मनोवैज्ञानिक असर भने कुनै प्रकारको सजायबाट अपुरणीय हुन्छ । 

त्यसैले समाजमा घट्ने यस्ता असामाजिक घटनाको न्यूनिकरणका लागि नैतिक शिक्षाको प्रभावकारी कार्यान्वयन हो । यो शिक्षालाई सैद्धान्तिक विषयको रुपमा भन्दा बढी व्यावहारिक बनाउनुपर्दछ । बालमनोविज्ञानमा परेको चेतनाको प्रतिबिम्व समाजमा देखिने घटनाको उपज भएको हुनाले व्यवहारिक नैतिक शिक्षा प्रदान गर्ने कुरामा शिक्षक तथा अभिभावकले आफ्नो जिम्मेवारीलाई यही महत्वकासाथ निर्वाह गरेमा सामाजिक सुशासनमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।

– अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको यो स्तम्भ ‘संकल्प’ अवदेखि हरेक बिहीवार चक्रपथ डटकममा प्रकाशित हुने जानकारी गराउँछौं । पाठकहरुको प्रतिक्रियाको अपेक्षा राखेका छौं ।