पहिले भारतको मुम्बईमा नेपाली चेली पुर्याइनुलाई मानव बेचबिखन ठानिन्थ्यो । तर, अहिले मानव बेचबिखनका रुप र आयामहरु फेरिएका छन् । पछिल्लो पटक भाडाको कोख किन्ने, वच्चाचलाई दूध खुवाउने, विवाह गर्ने लगायत वैदेशिक रोजगारीका अन्य रुपमा पनि बेचबिखन हुने गरेको छ । बेचबिखन विरुद्ध अभियान चलाइरहेकी शक्ति समुहकी अध्यक्ष सुनिता दनुवारसँग मानव बेचबिखनका पछिल्ला रुपबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 
 
बच्चै हुँदा मानव तस्करको हातमा पुग्नु भयो, एउटा नारकीय जीवनबाट छुटेर आएर पनि मानव बेचविखन बिरुद्ध अभियानमा चलाउनु भएको छ । यो लामो अन्तरालमा मानव बेचबिखन कम भएको हो या उस्तै छ  ? 
हो मैले दलालको चंगुलमा परेर कालो कोठीको बसाई देखि कोठीमा पुर्याउने दलाललाई कठालो समाएर जेलसम्म पुर्याउने र सरकारलाई पोलिसी परिवर्तनका लागि दवाव दिनेसम्मका काम गरेँ । अहिलेसम्म आउँदा पनि समस्या उस्तै उस्तै नै देखिन्छ । बेचबिखन गर्ने दलालले पटक पटक रुट परिर्वतन गरेका छन् । हिजो भारतको कोठी मात्र  उनीहरुको डेस्टिनेशन थियो भने आज चीन देखि भारतको बाटो हुँदै  र खाडी मुलुक र दक्षिण अफ्रिका सम्मलाई यिनीहरुले रुट बनाएका छन् । त्यसैले यिनीहरुको संगठनिक संजाल झन् झन् फैलंदो देखिन्छ ।

यस बीचमा कानुन पनि बने,  बेचबिखन विरोधी अभियानमा संलग्न संस्थाहरु पनि छन् । यति हुँदाहुँदै पनि यसको निराकरण हुन नसक्नुका कारण चाहिँ के छन् ? 
हिजोजस्तो मान्छे आज सजिलै बेचिंदैन । किनकी हामीले यसरी बेचिएर आयौं भनेपछि म पनि बेचिंने हुँ की भन्ने डर मान्छेलाई छ । अहिले आमाबाबाहरु पनि धेरै सचेत छन् । तर दलालले तरिका बदलेका छन् । यसरी बेचबिखन हुनुमा गरिवी प्रमुख कारण हो । तर, पछिल्लो समय आएर राम्रै आर्थिक अवस्था भएका परिवारका चेलीहरु, पढेकैहरु पनि दलालका चगुंलमा परेका छन् । अर्को भनेको पितृसतात्मक सोच हो । मान्छे फ्रिडम चाहन्छ तर निस्कन खोज्दा फेरि पनि त्यहि दलालको फन्दामा त्यो महिला वा पुरुष परेको छ । पारिवारिक झगडाले बच्चाहरु घरबाहिर निस्किन्छन् र दलालको पासोमा पर्छन् । यसरी गरिवी र पारिवारिक हिंसाकाका कारण नै महिला र बालिका मात्र हैन अहिले बालक र पुरुषहरु पनि बेचिन थालेका छन् । वैदेशिक रोजगारीको नाममा यसले धेरै ठूलो रुप लिएको छ  । 

नेपाली केटीका छाला राम्रो हुन्छ भनेर छाला सर्जरी गर्न पनि बेचबिखन हुन्छ भन्ने खवर आएका छन् । कोरियन केटासँग बिहे गराइदिने भन्दै अर्काे बेचबिखन हुन्छ । दलालले बिवाह गरेपछि तिम्रो भिजा झर्छ भन्छ । उता गएपछि तिमी त्यहि केटासँग बस्नु पर्छ भन्ने छैन भनिदिन्छ । केटा उताबाट आएपछि कोर्टमा बिवाह गरेर लैजान्छ र उता लगेपछि कि बुढो, कि डिसेवल, कि त मेन्टल्ली खराव भएको मान्छेलाई बेचिदिन्छ । 

 

घरेलु हिंसा र गरिवीले बेचबिखनको भोल्युम बढ्दै गएको हो । घरमा जव आफूलाई दोस्रो दर्जाको रुपमा भएको महसुस हुन्छ तव बच्चा हुर्काउँदा हुर्काउँदै पनि बाहिर गएर केहि काम गरौं भन्ने मान्छेलाई लागिरहेको हुन्छ । दलालको हातमा परेपछि उसले सुरुमा नराम्रो काम होइन भन्छ । सुरुमै पैसा पनि दिन्छ र अनेक गरेर फेरि लैजान्छ । मानव बेचबिखन एक जनाले नभएर संगठित रुपले चलेको अपराध हो । एउटाले एक ठाउँसम्म पुर्याउने र अर्काे ठाउँमा पुर्याउने अर्कै हुन्छ । 

यति ठूलो सचेतना हुँदा हुँदै बलियो संयन्त्र भए त रोक्न सकिएला नि, किन नसकिएको होला ? 
यो सबै हुँँदा हँदै पनि राजनीतिक संरक्षणले गर्दा हामीले जति रोक्न खोजे पनि सकेनौं । तपाईंले अस्ती देख्नु भयो, एकजना वडाध्यक्ष जसले कोठी चलाएर बसेका थिए । उनलाई कार्वाही गर्न लाग्दा नेताले कसरी जोगाए ? प्रहरी र हाम्रो सहकार्यमा यस्ता दलाललाई समात्छौं । तर तिनै दलाललाई संरक्षण दिन माथिल्लो तहको नेता आइपुग्छ । भोलिदेखि त्यो दलाल कार्वाहीको सट्टा गाँउमा झन् रवाफमा हिंड्छ र गाँउमा सचेतना गर्न गएको मान्छे चाहिँ लुरुक्क परेर फर्कन्छ । 

त्यसो भए अहिलेसम्म मानव बेचबिखनको समस्या घटेको छैन त ? 
केही नै घटेको छैन भन्ने त होइन । पहिला भन्दा त धेरै परिर्वतन भएको छ । समाजको बुझाईमा परिवर्तन भएको छ । जस्तो पहिला जो बेचिए उनी हरुलाई नै अपराधीका रुपमा हेरिन्थ्यो । तेरै कारणले तँ समस्यामा परेको हो भन्ने थियो । अहिले चाहिँ मान्छेको चेतनामा परिर्वतन भएको छ । हामीहरु नै बेचिएर आएपछि जे काम गर्यौं, ए यसो रहेछ कुरा भनेर मान्छेले नयाँ धारणा बनाएका छन् । यसले मान्छेको काम प्रतिको सम्मान मात्र हैन समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिर्वतन भएको छ  । अर्को कुरा बेचिएका हामीहरु नै समाजमा निस्किएर काम गर्न थालेपछि समाजमा जबरजस्ती बेचबिखनमा पर्ने हरुलाई हैन ददाललाई मान्छेले टार्गेट गर्न थालेका छन् । यो कुरा चाहिँ पक्कै सकारात्मक भएको छ मिडीया पनि सकारात्मक परिवर्तन भएको छ । हिजो जो बेचियो तिनैलाई अपहेलित हुने समाचार लेख्थे तर अहिले मिडियाले आफ्नो तरिका परिवर्तन गरेको छ । हिजो कानुन् थिएन अपराधीलाई कार्वाही गर्ने । अहिले पर्याप्त कानुन पनि बनेका छन् । तर यति हँुदा हुँदै पनि हिजो जस्तो हैन अहिले त सचेत र शिक्षित हरु नै बिभिन्न नाममा बैधानिक रुपमै बेचिएका छन्  । 

त्यो बेलाका समाचार शीर्षक कस्ता हुन्थे ?
 त्यो बेलाको मिडियाको कुरा नगर्नुस् । सबै सकिएको जस्तो गरेर समाचार छाप्थे । हामीलाई रेक्यु गरेर ल्याउँदाको दिन पनि यहाँ ब्यापक भैसकेको रहेछ । हामीले इतिहास हुन्छ भनेर जतन गरेर राखेका छौं  । त्यो बेलाका समाचारका शीर्षक ‘बंबैका बेश्याहरु, एचआइभीको पोको बन्दै, नेपाल  भोलि के होला ?’ भन्ने जस्ता हुन्थे । मानौं हामी नै अपराधी हौं जसरी समाचार छापिन्थे  । 

अहिले सचेत र शिक्षितहरु नै रोजगारी दिलाउने नाममा बैधानिक रुपमा बेचिएका छन् भन्नु भयो, त्यो कसरी ?
पहिला बेचबिखन भन्दा बंबैका कोठीहरु मात्र हेरिन्थ्यो । तर अहिले बेचबिखन त्यहाँ मात्र छैन । यहिँ क्याबिन रेष्टुरेन्ट, मसाज पार्लरहरुमा कामको शोषण गर्ने, यौन शोषण गर्ने जस्ता काम भइरहेका छन् । अर्को खतरनाक कुरा, अहिले बेचविखन बैदेशिक रोजगारीको नाममा पनि भैरहेको छ । भारत हुँदै गल्फतिर अथवा गल्फ हुँदै दक्षिण अफ्रिकासम्म अहिले दलाले बाटो बनाएका छन् ।  अर्को, विवाहको नाममा भएको छ । कोरियन केटाहरुसँग बिवाहको जोग मिलाईदिने एजेण्टले बिहेलाई भिजा हो भन्दिएको हुन्छ । बिवाह गरेपछि तिम्रो भिजा झर्छ । उता गएपछि तिमी त्यहि केटासँग बस्नु पर्छ भन्ने छैन भनिदिन्छन् । उता गएपछि जे गरे पनि हुन्छ भनिएको हुन्छ । केटा उताबाट आएपछि कोर्टमा बिवाह गरेर लिएर जान्छ र त्यो केटाले उता लगेपछि कि बुढो, कि डिसेवल, कि त मेन्टल्ली खराव भएको मान्छेको लागि बेचिदिन्छ । 

त्यसपछि पासर्पोट खोसिन्छ र उसले दासीको रुपमा नै काम गर्नु पर्ने हुन्छ  । त्यसरी आपदमा परेका कति धेरै केस हामीकहाँ पनि आएका छन् । एकजना महिला पत्रकार नै हामीकहाँ आउनुभएको छ । तर हामीले केस गोप्य राखेका छौं । उहाँ  कोर्ट म्यारिजसम्म गरेको र विहे बदर गर्न चाहनुहुन्छ ।  तर त्यो म्यारिज बदर हुनलाई त त्यो केटा पनि आउनु पर्यो । त्यो त्यति सजिलो छैन ।  

अर्को भनेको सरोगेसी मदर भयो । महिलाहरुलाई भाडामा लिने र बच्चा जन्माउन एक बर्ष प्रयोग गरेर अन्त्यमा दलालीले सबै पैसा खाएर फर्काउँछ । न बच्चा न आफ्नो, न स्वास्थ्य न पैसा भएर फर्किएको अवस्था पनि छ  । अर्को, मान्छे पुर्याउने र उपचारको नाममा मान्छेका अंग निकालेर पठाइदिने गरिरहेका छन् । किड्नी, लिभर जस्ता भित्री अंगहरुको ब्यापार भैरहेको भन्ने कुरा हामीले समाचार हेरेकै छौं । अहिले ‘ब्रेस्ट फिडिङ’को लागि भन्दै सुत्केरी महिलाहरु बेचविखनमा पर्ने गरेका घटना पनि आउन थालेका छन् । अर्को एउटा नौलो घटना छ, त्यो भनेको नेपाली छाला एकदमै राम्रो हुने भएर नेपालीहरुको बलिउड हिरोेइनको सर्जरीको लागि प्रयोग हुने गरेको भन्ने छ  । त्यो प्रमाणित भैसेकेको छैन । हामी अनुसन्धानमै छौं । त्यो प्रमाणित भएपछि हामी बाहिर निकाल्नेछौ । 

भारतमा मानव बेचविखन हुने अबस्था चाहिँ कस्तो छ ? 
जुनबेला हामी बेचिएका थियौं, त्यो बेला नेपालबाट अत्यधिक मानव बेचविखन हुन्थ्यो । महिला मात्र हैन पुरुष पनि उत्तिकै बेचिन्थे । कति उतै हराउँथे । तर पुरुषका कुरा त्यति हुन्थेनन् । कोठीमा बेचिएकाहरुको उद्धारको लागि नेपाल भारत दुबै सरकारले प्रयास थाल्यो भारतका कोठी धेरै देशका बाट हजारौ हजार नागरिक उद्धार गरियो । त्यस्ता धेरै त्यो ठाउँ त सुनसान नै छ भनेर साथीहरु भन्नु हुन्थ्यो । म चाहिँ गएकी थिइनँ । केहि समय अगाडि जाँदा म बेचिएको घरमा त सिलाई कटाइ थियो । तर अहिले सुन्दैछु फेरि खुल्दैछ रे भन्ने सुनेको छु । यदि त्यस्तो भएको भए फेरि हामी त्यसको भण्डाफोर गर्न लाग्नै पर्ने छ  । तर पहिलेको जस्तो भने छैन ।