काठमाडौं, २९ भदौं– सरकारले दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिदै गर्दा उपभोक्तालाई सस्तो मूल्यमा दैनिक उपभोग्य सामान बिक्री गर्न मुलुकका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयरी गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको अध्यक्षतामा मन्त्रालयका र सम्बद्ध निकायका उच्च अधिकारी तथा निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागी बैठकले यसपालि दसैं, तिहार र छठ पर्व अवधिभर सहुलियत दरमा विभिन्न उपभोग्य सामान बिक्री–वितरण गर्ने निर्णय भएको हो  । 
आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट कात्तिक २७ गतेसम्म काठमाडौंमा सहुलियत दरको संयुक्त पसल नेसनल ट्रेडिङ लिमिटेडको परिसरबाट सुरु गरी देशभरि सञ्चालन गरिने तयारी छ ।

सुपथ मूल्य पसल नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ लिमिटेड, दुग्ध विकास संस्थानलगायतको सहकार्यमा सञ्चालन हुने बताइएको छ । 
सरकारको तर्फबाट खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकासले मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मती चामल १०, खसी–बोका–च्यांग्रा १०, नुन २, डिडिसी घ्यु ५० र पनिरमा १० रुपैयाँ छुट दिई बिक्री गर्नेछन् ।

आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका कालिमाटी–२, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा रहेका साल्ट ट्रेडिङका कार्यालयमा खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकासले सहुलियत दरको एकीकृत सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । 

त्यसैगरी खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र अन्य स्थानमा काठमाडौं उपत्यका बाहिर सात प्रदेशमा ११ गरी देशव्यापी रूपमा सहकारी पसलमार्फत काठमाडौं उपत्यकाका प्रमुख बजारमा सुपथ मूल्य पसल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । 

साल्ट ट्रेडिङले काठमाडौंस्थित कार्यालयअन्तर्गत नौवटा स्टल, तीनवटा घुम्ती सेवा पसल र त्रिशूली बिक्री डिपोका साथै कर्पोरेसनका २२ कार्यालय गरी ३६ स्थान तथा खाद्य संस्थानले सात प्रदेश राजधानीका साथै संस्थानका सबै कार्यालय र तोकिएका स्थानका सहकारी पसलबाट सहुलियत दरमा चामल, फापर, खसी–बोका–च्यांग्रा, नुन र चिनी बिक्री गर्ने तयारी गरेको छ  ।