ओशो तपोवनका गुरु स्वामी आनन्द अरुण आफ्ना शिष्यहरुलाई अध्यात्म, योग र ध्यान सिकाउँछन् । प्रेम, यौन, परिवार, सम्पत्ती र अध्यात्मिक शिक्षा बीचको भिन्नताका विषयमा उनी प्रवचन पनि दिन्छन् । ओशोको अध्यात्मिक ज्ञानलाई विश्वका विभिन्न देशमा विस्तार गर्न सक्रिय स्वामी अरुणले नेपालको सामाजिक जीवन र शिक्षा पद्दतिबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलसँग गरेको कुराकानीः 

प्रेम के हो ? 
यो प्रकृतिका हरेक चिजलाई जिउनको लागि पोषण चाहिन्छ । प्रेम आत्माको पोषण हो । प्रेम विना आत्मा जिउन सक्तैन, मन तंग्रन सक्दैन  । खान नपाउँदा शरीर जसरी कमजोर हुन्छ प्रेम विना आत्मा पनि कमजोर हुन्छ, सुक्छ । 

प्रेम, सेक्स, विवाह फरक कुरा हुन्, तर किन प्रेम भन्ने बित्तिकै विवाह र सेक्सको कुरा जोडिएर आउँछ ? सेक्स विना प्रेम हुँदैन ? 
प्रेम हुनु अन्तरघुलन हुनु हो । एक अर्कामा समर्पण हुनु हो  । अझ अर्को अर्थमा भनौं आफूले प्रेम गरेको मान्छेको खुसी खोज्नु हो । प्रेम उसको खुसीको लागि गरिन्छ भने उ जे कुराले खुसी हुन्छ त्यहि कुरा गरिन्छ । प्रेम सेक्स सहितको पनि हुनसक्छ, सेक्स विनाको पनि हुनसक्छ । त्यसमा कुनै कन्डिसन हुँदैन । प्रेमीको खुसी खोजेर आनन्दित हुने कुरा प्रेम भएपछि जे गर्दा आफ्नो साथी खुसी हुन्छ त्यहि गरिन्छ । अर्काे कुरा सेक्सले दिने आनन्द अन्य कुराले दिन सक्दैन, तर त्यसमा प्रेम छ भने । विवाह चाहिँ सामाजिक सम्झौता हो । 

प्रेम गरेको साथीसँग विवाह गरे के हुन्छ ? 
मान्छेको नेचर नै हो आफूले मन पराएको मान्छे आफ्नो साथमा रहोस् भन्ने । तर मान्छे टाढा रहुन्जेल जति उसप्रति आकर्षण रहन्छ, दुबै एकअर्का प्रति प्रेम त्यतिबेला मात्र फक्रन्छ । जतिबेलासम्म प्रेमको सिमाना कायम हुँदैन खुला रहन्छ, त्यस बेलासम्म प्रेम फैलन्छ । तर जब तपाईंमा कण्डिशन लागू हुन्छन् अनि प्रेम खुम्चिन्छ । विवाहले कण्डिशन पैदा गर्छ, अनि विवाह अघि जस्तो प्रेम रहन सक्दैन । अर्को कुरा प्रेम शरीरको लेभलमा, मनको लेभलमा र आत्माको लेभलमा कुन तहको प्रेम हो, त्यसले पनि फरक पार्छ ।   

प्रेमको पनि लेभल हुन्छ ?
हुन्छ । प्रेम शरीरको लेभलमा हुन्छ, मनको लेभलमा हुन्छ र आत्माको लेभलमा हुन्छ । 

त्यो लेभल कसरी छुट्याउने ?
मनको लेभलमा रहेको प्रेम धेरै कम समय रहन्छ । किनकि मन धेरै चञ्चल हुन्छ, अस्थिर हुन्छ । मनलाई अहिले मन परेको कुरा अलिकति बुझाइको लेभल बढेपछि मन नपर्न सक्छ । त्यसैले मनको लेभलमा भएको प्रेम छोटो समय रहन्छ । 

अर्को, शरीरको लेभलमा भएको प्रेम अलि लामो समय रहन्छ । किनभने मन भन्दा शरीर धेरै स्थिर हुन्छ । तर, त्यस्तो प्रेम रहने आधार शरीर नै हो । आत्माको लेभलमा भएको प्रेम भने कहिल्यै छुट्दैन । किनभने आत्मा स्थिर हुन्छ । 

अहिले धेरैजसो युवाहरुबाट प्रेम थियो ब्रेकअफ भयो भन्ने सुनिन्छ । तिनीहरु साँच्चै प्रेममा हुन्छन् या सम्बन्ध लाई नै मात्र प्रेम भन्छन् ?
दुुई जनाबीच निकटता रहनु प्रेमले नै हो । एक अर्काको खुसीको लागि भूमिका खेल्नु प्रेम नै हो । तर अघि मैले भनेजस्तै उनीहरुबीच मनको लेभलमा मात्र प्रेम थियो । उनीहरुले शरीरको सुन्दरता वा कुनै विषयलाई लिएर प्रेम गरेका थिए, मन पराएका थिए । नजिक भएका थिए । त्यो प्रेम त हो तर पहिलो लेयरको, जुन स– साना कुराले पनि टुटाउन सक्ने खालको । शरीरको आकर्षणमा भएको प्रेम शरीरको भोगपछि टुट्न सक्ने हुन्छ । अहिलेका धेरै युवाहरुमा त्यहि तहको प्रेम हुन्छ । उनीहरु प्रेममा रहन्छन् । साना साना कुराको अपेक्षा बनाएर आफूलाई प्रेममा जोडेर राख्छन् । ती आकांक्षा पूरा भएपछि प्रेम पनि सकिन्छ । अनि ब्रेकअप । आत्माको लेभलमा नभएको प्रेम कुनै न कुनै विन्दुमा पुगेर टुंगिन्छ । 

प्रेम सम्बन्धहरु पनि अहिले हुने, भोलि नहुने, टुंगिने हुन्छ र ? एक पटक भएको सम्बन्ध सुसुप्त होला, देखिनेगरी नहोला तर आत्मामा त रहन्छ नि हैन र ? 
यो संसार त एकदिन नष्ट हुन्छ भने अरु के कुरा नष्ट हुँदैन ? हामीले सूर्यको कारण प्रकाश पाएका छौं । यो विश्वलाई प्रकाश, ताप दिने यहि सूर्य त एकदिन सेलाउँछ भने अरु स्थिर के हुन्छ ? स्थिर केहि छैन । स्थिर त आत्मा मात्रै छ । यो कहिल्यै नष्ट हुँदैन । त्यसैले जे चिजको सुरुवात छ त्यसको अन्त्य पनि निश्चितै छ । तपाईंले भने झैं आत्मैले बोध गरेको कुरा त आत्मासँगै हुन्छ, त्यो कहिल्यै मर्दैन । 

यदि कसैलाई भेट्ने वित्तिकै तपाईंलाई आनन्द आउँछ भने त्यो प्रेम हो । चाहे त्यो लोग्ने मान्छे होस् या आईमाई मान्छे । चाहे कुकुर नै किन नहोस्, यदि तपाईंलाई उसको साथ आनन्द लाग्छ भने त्यो प्रेम हो । 

प्रेम त आत्मामा हुन्छ नि हैन र ? 
प्रेम आत्माको तहमा गर्ने भनेको त एकदमै रेयर हुन्छ । त्यो धेरै नै कठिन कुरा हो । त्यो आध्यात्मिक मान्छेहरुमा मात्र हुन्छ । त्यो धेरै नै कठिन हुन्छ र त्यो मरेपछि पनि रहन्छ । त्यस्ता प्रेमी भेट्न गाह्रो छ । 

प्रेम एकजनासँग मात्रै हुन्छ कि एकै पटक धेरै जनासँग पनि हुन्छ ? 
प्रेम धेरै जनासँग पनि हुनसक्छ, किन नसक्नु ? जस्तो फूलवारीमा धेरैथरी फूल फूलेका हुन्छन् । त्यसमा एउटा मात्रै फूल मन पर्छ भन्ने छैन । गुलाफ मन परेपछि अरु फूल मन पर्दैन भन्ने होइन तर, कति मात्रामा के मन पर्छ भन्ने मात्रै हो । अनि फूलेको फूलले, गुलाफले भमरालाई सुगन्ध दिउँ, भँगेरालाई नदिउँ भन्दैन । त्यो फूल फूलिरहेको हुन्छ जो कोहि आए पनि त्यसको सुगन्ध पाउँछ । सुगन्ध लिने नलिने त उसको कुरा हो । त्यस्तै हो मानव आत्मा पनि प्रकृतिको एउटा क्रिएशन हो यसले पनि उसको नजिक आउनेलाई उत्तिकै प्रेम पस्कन सक्छ । तर प्रेमको तल अलग अलग रहन्छ । एकै तलको प्रेम चाहिँ पक्कै हुँदैन । प्रेममा सबैसँग सेक्सुअल रिलेशन नै हुनुपर्छ भन्ने जरुरी पनि छैन । 

प्रेम भनेको मनपराउनु हो त त्यसो भए ?
हो प्रेम भनेको मन पराउनु नै हो । जसलाई भेटेर तपाईंलाई आनन्द आउँछ त्यो प्रेम हो । यदि कसैलाई भेट्ने वित्तिकै तपाईंलाई आनन्द आउँछ भने त्यो प्रेम हो । चाहे त्यो लोग्ने मान्छे होस् या आईमाई मान्छे । चाहे कुकुर नै किन नहोस्, यदि तपाईंलाई उसको साथ आनन्द लाग्छ भने त्यो प्रेम हो । 

प्रेम आनन्द हो भन्नुहुन्छ तर, प्रेम गर्नेहरु किन रुन्छन् ? 
रुनु त प्रेमी हरुको अधिकारै हो । सच्चा प्रेमीहरु त रुन्छन् नै । आँशु भावनाको अतिरेक हो । मानिस भावनाको गहिराईमा पुगेपछि आँखा रसाउँछ । आँशु त दुःखमा पनि खुसीमा पनि आउँछ । धेरै दिनपछि साथी भेट भयो पनि आँखा रसाउँछ । लामो समयपछि छोराछोरी घर आउँदा पनि आमाका आँखामा आँशु आउँछ । वियोगमा मात्रै मान्छे रुन्छ भन्ने होइन, मिलनमा पनि रुन्छ । आँशु भावनाको अतिरेक हो ।

एक समय पुगेपछि प्रेम विवाहहरु पनि टुटेका छन् । यसरी प्रेम विवाहहरु टुट्नुको कारण चाहिँ के हो ? हरेक परिवारमा प्रेम भन्दा धेरै, झगडा, अशान्ति र वैमनश्यता छ । यो के कारणले गर्दा भइरहेको छ ? 
यसमा मेरो फरक धारणा छ । पहिला के थियो भने हाम्रो बुवाहरुको पालामा विवाह सानैमा हुन्थ्यो । अझ, हजुरबुवा, हजुरआमाहरुको पालामा त सात आठ बर्षमै विवाह हुनथ्यो । हाम्रो भन्दा अघिल्लो पुस्तामा हेर्ने हो भने सेक्सुअल म्याच्युरिटी भन्दा पहिले नै विवाह भैसकेको हुन्थ्यो । मनु स्मिृतिले मासिकश्राव नभई विहे गरे मात्र पुण्य पाइन्छ भन्थ्यो । अनि विवाह अघि सेक्सुअल रिलेशन हुन पाउँदैनथ्यो । विवाह पछि भएको सेक्सुअल रिलेशन पनि एक जनासँग मात्र हुन्थ्यो । जसले गर्दा एक अर्काप्रति सबै कुराले समर्पित हुन्थे र परिवारमा प्रेम हुन्थ्यो । एक अर्काप्रति सम्मान हुन्थ्यो र वैवाहिक जीवन सुखद हुन्थ्यो । पत्नी वा पति भन्दा बाहिरको सेक्स कल्पनामा पनि आउँदैनथ्यो । अझ अर्को जन्म पनि यहि पत्नी, यहि लोग्ने प्राप्त होस् भन्थे । 

अहिले हिजो १६–१८ वर्षमा हुने यौन परिपक्वताको उमेर घटेर १०–१२ वर्षमा झरेको छ । यता दश वर्षमा नै यौन परिपक्वता आउने अनि विवाह गर्ने उमेर चाहिँ बढेर ३०–३५ वर्ष पुग्ने । यो बीचको समय सेक्सको उर्भर समय हो । पढाई सकेर, जागिर खाएर ३०–३५ वर्ष पुगेपछि मात्र मान्छेहरु विवाह गर्न थाले । बीचको यो १८ बर्ष सेक्सको प्राइम एज हो । साइकोलोजी साइन्सले पनि के भन्छ भने यो १८ वर्ष भित्र सेक्सको सबै भन्दा पिक म्याच्युरिटीमा हुन्छ । तर, ३० वर्ष नाघेपछि बल्ल विवाह हुन्छ, अनि यौन परिपक्वता  १० वर्षमै हुन्छ । यो बीचको समयमा युवा वा युवतीले के गर्छ ? शरीरको हर्माेनले सेक्स मागिरहेको हुन्छ, विवाह बिना त्यसलाई अपनाउने अनुमति छैन अनि मान्छेको मनस्थिति संकटमा पर्छ । त्यसले एउटा विचलन सुरु गर्छ । अरु त यसको विषयमा कुरा गर्दैनन् तर, हामी गर्छौं । यहि सेक्सुअल विचलनले परिवारमा विखण्डन ल्याएको छ । एक अर्कामा अविश्वास छ र परिवारमा अशान्ति छ । सेक्स कुनै घर्म, रीति, कानुनले रोक्न सक्ने कुरै होइन । यो हर्माेनले विह्याभ गर्ने कुरा हो । जव त्यसको प्राकृतिक सन्तुलन विग्रिन्छ अनि जीवन बिग्रिन्छ । संक्षेपमा भन्दा समाजमा जहिलेदेखि प्रेम विवाह सुरु भयो त्यहि बेला देखि ‘ब्रेकअप’ बढिरहेको छ ।  

के सेक्स सामाजिक विषय हो र ? 
सेक्स सामाजिक विषय हुँदै होइन । सेक्स हार्मोनल कुरा हो । यो बडिमा उत्पन्न हुने बायो केमिकल हो । हिन्दुको शरीरमा पनि मुसलमानको शरीरमा पनि र क्रिश्चियनको बडिमा पनि यहि बायो केमिकल हुन्छ । कलाकार होस् वा नेता, पत्रकार होस् वा डाक्टर सबैको बडिमा बायो केमिकलले काम गरिरहेको हुन्छ । हामीले अल्कोहल खायौ भने म इन्जिनियर, तपाईं पत्रकार उहाँ डक्टर होला । अर्काे धर्मगुरु होला । अल्कोहल त जसले खाए पनि लाग्छ नि  किनभने त्यो केमिकल हो । त्यसको इफेक्ट सबैलाई हुन्छ । त्यस्तै हो सेक्स पनि । सबैमा त्यो केमिकल इफेक्ट हुन्छ । हो त्यस्तै ग्ल्यान्ड्स् हरुले शरीरमा केमिकल छोड्छ, एउटा सर्टेन एज पुगेपछि । त्यो हार्मोन शरीरमा फैलिएपछि मान्छे अल्कोहलले मात्तिए जस्तै मातिन्छ । त्यो बेला मान्छेले के गर्छ कसो गर्छ त्यो आफ्नै कन्ट्रोलमा पनि हुँदैन । सामाजिक, धार्मिक नियमहरुले यसलाई नियमन गरेर यो रोकिन्छ ? हामी रोक्न खोजिरहेका छौं । जव त्यो ऊर्जा रोक्ने प्रयास हुन्छ त्यहि ऊर्जाले उत्पात गर्छ ।  

४ वर्ष अघि धुर्वे हात्ती बहुलायो । तीस जनालाई त त्यसले मार्यो । सीडीओले धुर्वे हात्तीलाई मार्न आदेश दिए । तीसजनालाई मारेको हात्ती सेक्सपछि सोभर भयो । जनावरमा त यस्तो हुन्छ भने मान्छेमा यस्तो हुँदैन ? सेक्समा कस्तो हार्मोनल पावर हुने रहेछ त ? यो सिकाउन उचित शिक्षा चाहियो । 

अहिले दिनानुदिन वलात्कारका घटना बढेका छन् । के तपाईंले भनेजस्तै यौनको जैविक ऊर्जालाई रोक्न खोजेरै यस्तो भएको हो ? 
म यहि कुरा जोड्न चाहेको थिएँ । अहिले हरेक दिन जसो बलात्कारका घटना बाहिर आएका छन्  । त्यो पनि आफ्नै बाउबाट, दाइबाट, आफन्तबाट । काठमाडौंमा मात्र दिनमा सातवटा रेप केस भएको निवेदन दिन आउँछन् भन्ने सुनिन्छ । देशैभरी के होला ? विश्वभरी यस्ता घटना कति भएका होलान् ? पहिलो कुरा हामीले यौनको स्वाभाव सिकाएनौं, यौनलाई घृणाको विषय बनायौं । त्यसको स्वाभाविक ऊर्जालाई रोक्ने प्रयास गर्यौं । यो प्राकृतिक कुरा हो भन्ने सिकाइदिएको भए यौन ऊर्जा थुनिने थिएन र विष्फोट हुने थिएन ।  मानछेमा समयमै सेक्सुअल मेच्युरिटी आएको छ, बडिले सेक्स माग्छ, त्यसको स्वाभाविक वहावमा प्रतिबन्ध छ । अनि अहिले फिल्म, युट्युब हरुले अनेक कुरा दिएको छ । मान्छेलाई ओभर एक्साइटमेन्ट बनाएको छ । युट्युबमा लाखौं कुराहरु तपाईं हेर्न सक्नुहुन्छ । तर, त्यहाँ लाख कुराको साटो ९९ हजार ९ सय ९९ चाहिँ सेक्स हेर्छ मान्छेले । अरु किन हेर्दैन भन्दा अरुमा प्रतिबन्ध छैन । सामाजिक प्रतिबन्ध जे कुरामा छ उसले त्यहि खोज्छ । यस्तै शिक्षाको प्रभावले १० बर्षको केटाले ग्याङ रेप गरेको छ । यो सबै हाम्रो शिक्षाको कमी हो र हामीले सेक्सलाई गलत डिफाइन गरेर र अर्को कुरा मान्छेमा समयमै आएको म्याच्युुरिटी पनि अर्को कारण हो । 

सानै उमेरमा सेक्स म्याचुरिटी आउनुको कारण चाहिँ के हो ? 
पहिलो त उनीहरु इन्टरनेटको पूरै एक्सेसमा छन् । जसले गर्दा पछि थाहापाउनु पर्ने कुरा उनीहरु  पहिल्यै थाहा पाउँछन् । अर्को कुरा कोकाकोला, प्याक फुड रेडबुल कति विक्री भएको छ हेर्नुस् न, त्यहिँबाट थाहा हुन्छ । स्कुलका बच्चाले अहिले रक्सी खान्छन् । 

इन्टरनेटमा ज्ञान पनि छ । एष्ट्रोलोजी देखि एष्ट्रोनोमी सम्मको ज्ञान छ । पोर्न साइडहरु छन् । विश्वमा हेरिने साइट मध्ये ७० प्रतिशत पोर्नोग्राफी हेरिन्छ । तीस प्रतिशत मात्र दुनियाँका अन्य सबै विधा हेरिन्छन् । अनि मान्छेले के खोज्दोरहेछ ? हो यहि कुरा अब बच्चाले नै गर्न थाले । इन्टरनेटको एक्सेसले गर्दा नै सबै कुरा बच्चामा सर्यो ।  

ओशोले सम्भोग से समाधी भन्नु भएको छ नि । त्यो कुरा यहाँ लागू हुन्छ । तपाईंहरुले पनि सुन्नु भएको होला चितवनको जंगलमा भएको धुर्वे हात्तीको कुरा । ४ वर्ष अघि धुर्वे हात्ती बहुलायो । तीस जनालाई त त्यसले मार्यो । कतिको घरको छानो भत्कायो । सीडीओले त्यो धुर्वे हात्तीलाई मार्न आदेश दियो । तर, हात्री चार वर्ष गायव भयो । चार वर्षपछि जंगलमा धुर्वे हात्ती फेला पर्दा त अर्काे ढोईलाई साङ्लो नै छिनाएर लगेर सेक्स गर्दै थियो । अहिले धुर्वे हात्तीलाई मार्ने आदेश रोकिएको छ । किनभने धुर्वे शान्त भयो । तीसजना मान्छे मारेको हात्ती सेक्सपछि सोभर भयो । जनावरमा त यस्तो हुन्छ भने मान्छेमा यस्तो हुँदैन ? यो भनेको सेक्समा कस्तो हार्मोनल पावर हुनेरहेछ त ? यसको लागि उचित  शिक्षा चाहियो  । 

अशान्तिको कारण असन्तुलित जीवन मात्रै हो त ? 
होइन त्यो मात्रै पनि । शिक्षा पद्दति नै गलत छ । हाम्रो युनिभर्सिटी एजुकेशन नै गलत छ । अहिले सरकारले सबै बालबालिकालाई स्कूल पठाउने अभियान चलाएको छ नि । यसले पनि केहि ठूलो फरक पार्दैन । महालेखाको प्रतिवेदन आएको छ नि, जति नेपालको बजेट छ त्यसको आधा बजेट बेरुजु छ । त्यो अनपढले गर्या हो कि ग्राजुएटले गर्या हो ? आधी बजेट कसले खाइदिएको छ ? जो पढेलेखेको, युनिभर्सिटीको डिग्रीवालाले । डिग्री के भो ? लुट्ने लाइसेन्स भयो । 

कसरी बदल्न सकिन्छ त शिक्षा पद्दति ? 
यसलाई बदल्न महत्वाकांक्षा आधारित शिक्षा होइन प्रेम आधारित शिक्षा सिकाउने, आनन्द आधारित शिक्षा सिकाउने । पिपुल सुड इन्ज्वाइड लर्निङ । लर्निङ इन्ज्वाइवल हुनुपर्छ । अहिले लर्निङ इज पनिसमन्ट । तपाईंलाई म एउटा कुरा भन्छु । एउटा वच्चाले आमासँग सोध्यो– मम्मी नर्कमा स्कूल हुन्छ ? आमाले अचम्म मानेर किन यस्तो सोध्या भनिन् । अनि नर्कमा स्कूल हुँदैन भनिन् । वच्चाले भन्यो– नर्कमा स्कूल हुँदैन भने मान्छे किन नर्क जान डराइरहेका छन् ? यसको मतलव स्कूल जान वच्चा डराइरहेको छ । अहिले कोहि मरेर शोक मनाउन स्कूल विदा दियो भने विद्यार्थी रमाउँछन्, हाँस्छन् । भोलि पनि कोहि मर्दिए हुन्थ्यो, स्कूल बन्द हुन्थ्यो भन्छन् । शिक्षा प्लेजर बन्नु पर्यो । तव आनन्द आउँछ । लर्निङ इन्ज्वाय हुनुपर्यो । स्कूलले सित्तैमा खाजा दिंदा पनि वच्चा किन स्कूल जान रुचाउँदैन ? मान्छे पैसा तिरेर बरु किन ध्यान गर्न जान्छ ? किन संगीत सिक्न जान्छ ? किनभने मान्छे आनन्द चाहन्छ । ओहो, आज स्कूल छुट्टी भयो, आजको इन्ज्वाय मिस गरेँ भन्ने हुनुपर्यो । जुन लर्निङ सात्विक हो, त्यो विधायक हो । जुन लर्निङले स्कूल जान डर उत्पन्न गराउँछ त्यो गलत शिक्षा भो । शिक्षा त्यस्तो हुनुपर्छ जसले आनन्द उत्पन्न गरोस् । 

अहिले मान्छे अक्सर पैसामा केन्द्रित भएको छ, किन ?  
त्यो पनि हाम्रो शिक्षा प्रणालीको कारण हो । स्कूल कलेजमा प्रेम पढाईंदैन बरु पैसा कसरी कमाउनेमा हाम्रो शिक्षा केन्द्रित छ । जस्तो सिक्यो मान्छेले त्याहि आफ्नो जीवनमा लागू गर्छ । हाम्रो शिक्षालाई कसरी सफल हुने भन्ने सिकाइन्छ, कसरी असल बन्ने भनेर सिकाइन्न । अहिले त, खुब कमाओ, खुब उडाओ भनेर सिकाइन्छ । महात्वकांक्षामा आधारित शिक्षा छ हाम्रोमा । हाम्रो शिक्षाले नै यहि सिकाउँछ त मान्छे पैसामा केन्द्रित हुने भइहाल्यो ।  

हम्रा युनिभर्सिटीका प्रोफेसरहरु यसमा परिर्वतनको आवश्यकता देख्दैनन् । डिग्री चाहिँ दुनिया लुट्ने लाइसेन्स भयो । आज हेर्नुस् मुलुकमा जति लूट छ पढेलेखेका मान्छेबाटै भइरहेको छ । उसले लुट्ने, कमाउने, भ्रष्टाचार गर्ने सिक्यो । स्कूल कलेज नै नगएकाले कतै भ्रष्टाचार गरेको बदमासी गरेको सुन्नु भएको छ ? महत्वकांक्षा आधारित होइन, प्रेम आधारित, आनन्द आधारित शिक्षा प्रणाली हुनुपर्छ अनि हामी बदलिन्छौं । 

तपाईं राजनीति वा प्रशासनमा भ्रष्टता छ शिक्षा आनन्दमा आधारित वा अध्यात्मिक भएन भन्नुहुन्छ । अध्यात्म आफैंभित्र घटित हुनुपर्ने कुरामा पनि संगठित अभियानको रुपमा चलिरहेको छ । त्यो पनि त प्रचारमुखी गलत भयो नि ? अध्यात्मिक गुरुका आश्रमहरु पसल र धर्मगुरुहरु ब्यापारी जस्ता लाग्छन् नि ?  
हो, यो युग नै ब्यवसायिक भइसक्यो । अध्यात्म पनि ब्यवसाय बनेको छ । धेरै संगठनका रुपमा चलेका छन् । गुरुहरु पनि पैसा कमाउने माध्यमका रुपमा अघि आएका छन् । धेरै गुरुहरु अन्य पेशा छोडेर आश्रम खोलेर ब्यावसाय नै गरेर बस्नुभएको छ । यो दुर्भाग्य हो । अध्यात्मिक संस्थाहरु जति बढ्दै गएका छन् त्यति ब्यविचार पनि बढिरहेको छ । जसले अध्यात्मलाई नोक्सान पुर्याएको छ । एउटा धनी मान्छे बिग्रंदा समाजलाई जति नोक्सान हुन्छ एउटा अध्यात्मिक गुरु विग्रंदा कयांै गुणा बढि नोक्सान हुन्छ । 

तर, हामीले के विर्सनु हुँदैन भने गुरु हुँदैमा सेक्स, पैसा सबै कुराबाट माथि हुन्छन् भन्ने हुँदैन । राम को कुरा गरौं उहाँले पनि सीतालाई विवाह गर्नु भो र उहाँबाट बच्चा भए । शिवको पनि पार्वतीसँग प्रेम थियो, विवाह भयो, सेक्स हुन्थ्यो । बुद्धले पनि विवाह गरेरै छोरा जन्मेपछि घर छोड्नु भएको हो । भगवाललाई त घरपरिवार, प्रेम, सेक्स चाहिन्थ्यो भने गुरु हुँदैमा केहि चाहिँदैन भन्ने कुरा नसोचौं । यदि कसैले भन्छ भने त्यो पाखण्डी गुरु हो । 

बीए पास गर सर्टिफिकेट पायौ भने तिमी सुखी हुन्छौ, युनिभर्सिटीले यहि सिकाइदिन्छ । बाहिर खोजेको चिज पाउँछ पनि तर, त्यो प्राप्तिको सुख केहि समय मात्रै रहन्छ । त्यो सुख त कस्तो हो भने चिलाएका ठाउँमा कन्याएर एकछिन् सुख पाएजस्तै हो । दिब्य सुख त अध्यात्मबाट मात्रै सम्भव छ, भित्रैबाट प्राप्त भएको सुख निरन्तर रहन्छ । 

तपाईंका गुरु ओशोलाई खुल्ला यौनको पक्षपाती भनेर आरोपित गरिन्थ्यो नि ? 
खुला भनेर केललाई भन्ने ? प्राकृतिक वृत्तिहरु लुकाएर गर्ने कुराको हामी विरोधी छौं । कुनै पनि कुरा छ भने छ । छैन भने छै्रन । 

आशोलाई धनी र सम्भ्रान्तहरुका मात्र गुरु भनिन्छ नि ? 
हो । किनभने यो अध्यात्म खाली पेटमा हुने कुरा होइन । अहिले हामी खाने कुरा खाएर अघाएपछि यो अन्तरवार्तामा बस्यौं । यदि हामी खाली पेटमा थियौं भने यो काम गर्न सक्ने थिएनौ । यहाँ जे जे कुरा भए पनि मनमा दाल भात मात्रै आउँथ्यो । विहान देखि हामीले नखाको भए हामी अध्यत्मको कुरा गने दिमाग तयार नै हुने थिएन । दिमाग दाल भातले भरिएको हुन्थ्यो । 

निडको पनि आफ्नो हाइरार्की हुन्छ । खाली पेट हुँदा एउटा आवश्यकता हुन्छ, पेट भर्नासाथ सयवटा आवश्यकता हुन्छ  । भोको होउन्जेल खाना मात्र चाहियो । अघाएपछि अखवार पनि चाहियो, टिभी पनि चाहियो, मोाइल पनि चाहियो, सेक्स चाहियो, अनेक कुरा चाहियो  । त्यो अवश्यकता पूरा भएर मात्र मान्छे यहाँ आउने भनेर नै हो धनीहरुका गुरु भन्या । 

तपाईले अघि भन्नुभयो, मान्छे भित्रैदेखि जे चाहन्छ त्यो प्राप्त गर्छ । तर, मान्छे सुख खोज्छ दुःख प्राप्त गर्छ, खुसी खोज्छ, दुःखी हुन्छ किन ? 
मान्छेले सुख खोज्छ र प्राप्त पनि गर्छ । मान्छेले बीए पास गरौं भनेपछि बीए पास गर्छ । जागिर खाउँ भनेर खोजेपछि जागिर खान्छ । बिवाह गरौं भन्यो विवाह पनि गर्छ । वच्चा जन्माउँ भन्यो, वच्चा पनि जन्माउँछ । उसले खोजेको चिज त आज वा भोलि पाउँछ । एउटा कुरा उसले बुझ्दैन, बाहिरबाट हामी जे कुरा पाउँछौं त्यो एकदम क्षणभंगुर छ । अस्थायी छ । स्थायी सुख हामी भित्रै छ । साश्वत सुख चाहिन्छ भने भित्र जानुपर्छ । यो अध्यात्मिक शिक्षा युनिभर्सिटीले दिंदैन । बीए पास गर सर्टिफिकेट पायौ भने तिमी सुखी हुन्छौ, युनिभर्सिटीले यहि सिकाइदिन्छ । बाहिर खोजेको चिज पाउँछ पनि तर, त्यो प्राप्तिको सुख केहि समय मात्रै रहन्छ । त्यो सुख त कस्तो हो भने चिलाएका ठाउँमा कन्याएर एकछिन् सुख पाएजस्तै हो । दिब्य सुख त अध्यात्मबाट मात्रै सम्भव छ, भित्रैबाट प्राप्त भएको सुख निरन्तर रहन्छ ।