बिनु पोखरेल

स्याङ्जा, २८ कात्तिक– प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर २१ गते हुने चुनावका लागि यहाँ चुनाव प्रचार तीब्र छ । चुनाव जित्ने दाबी सहित दलहरु जनताको घरदैलोमा छन् । अघिल्लो चुनावको जस्तो नतिजा नआउने प्राय सवै दलका उम्मेदवार वताउँछन् तर, आफूले जित्ने उनीहरु दावी गर्छन् । 

यअघि क्षेत्र नं १ मा चुनाव जितेको कांग्रेसले राजु थापालाई उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अघिल्लो चुनावमा थापासँग १३ सय मतले पराजित बनेका नारायण मरासिनीलाई उठाएको छ । ०७० सालको चुनावमा थापाले १६७५९ मत ल्याएका थिए भने मरासिनीले १५४११ मत ल्याएका थिए । स्याङजामा माओवादीको उपस्थिति कमजोर मानिए पनि जितका लागि त्यसलाई निर्णायक मानिन्छ । त्यसमाथि गत स्थानीय चुनावमा एक्लै कांग्रेस भन्दा माथि देखिएको एमाले यसै पनि उत्साहि थियो, त्यसमाथि माओवादीको समर्थनले एमाले उम्मेदवार मरासिनी जितको नजिक देखिन्छन् । गत स्थानीय चुनाव अघिसम्म यस क्षेत्रलाई कांग्रेसको पकड मानिन्थ्यो । तर, स्थानीय चुनावमा बामपन्थी दलले पकड जमाएपछि कांग्रेस उम्मेदवार थापा आफूलाई गाह्रो पर्ने निश्कर्षमा छन् । 

स्थानीय तहको मत परिणाम अनुसार एमाले एमाले एक्लै ६ हजार मतले अघि छ भने बाम गठबन्धन बनेपछि त्यो संख्या अझ फराकिलो बन्न पुगेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा रहेका फेदीखोला, आँधीखोला, अर्जुचनौपारी, बिरुवा र हरिनास गाउँपालिका तथा पुतलीबजार, भीरकोट नगरका १, २, ३, ४ र वालिङ् नगरका ३ र ४ वडाहरुमा अध्यक्षले प्राप्त गरेको मत परिणाम अनुसार कांग्रेसको २५ हजार ५ सय ३६ मत रहेको छ भने एमालेले ३१ हजार ७ सय १५ मत ल्याएको छ । यस्तै मओवादीले ४ हजार ६६ मत ल्याएको छ । मतको यो आकडा कांग्रेसको भन्दा ९ हजार २ सय ४५ मतले माथि देखिन्छ । 
हरिनास, बिरुवा, वालिङ् ३, र ४, भीरकोट १, २, ३, ४ र पुतलीबजार नगरपालिका १, २, ७, ८, ९, १०, ११, र १२ समाबेश गरेर बनेको प्रदेशसभा कमा कांग्रेसको मत १३ हजार २ सय ४ रहंदा एमालेको १४ हजार ५ सय र माओवादीको १ हजार ८ सय ४ मत छ । यसरी ३ हजार १ सय मतले कांग्रेस बाम गठबन्धनभन्दा पछाडि देखिन्छ । त्यसैगरि फेदीखोला, आँधीखोला, अर्जुनचौपारी र पुतलीबजार नगरपालिकाका ३, ४, ५, ६, १३ र १४ समेटेर बनेको प्रदेशसभा खमा कांग्रेसको १३ हजार ३ सय ३२ मत रहेको छ । सो क्षेत्रमा एमालेले १७ हजार २ सय ५ र माओवादीले २ हजार २ सय ६२ मत ल्याएका छन् । यस क्षेत्रमा कांग्रेस ६ हजार १ सय ३५ मतले बामपन्थी दल भन्दा पछि छ ।  प्रदेशसभा कमा कांग्रेसका कमलप्रसाद पंगेनी र बाम गठबन्धनबाट दिपक थापा छन् । प्रदेशसभा खमा कांग्रेसबाट तुलसी गिरी र बाम गठबन्धनबाट मिन गुरुङ् चुनावी मैदानमा उत्रिएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नंं २ मा स्थानीय तहमा कांग्रेसले २८ हजार ४ सय ९ मत प्राप्त गर्दा एमालेले २८ हजार ३ सय ३६ मत प्राप्त गरेको थियो । यस्तै यहाँ माओवादीले ४ हजार १८ मत ल्याएको थियो । यस क्षेत्रमा बाम गठबन्धन ३ हजार ९ सय ४५ मतले अगाडि देखिन्छ । प्रतिनिधिसभा २ मा पर्ने भीरकोट ५, ६, ७, ८, र ९, वालिङ्का १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३ र १४ वडा तथा गल्याङ् नगरपालिकाका ६ र ७ वडा समाबेश गरेर बनेको प्रदेशसभा कमा कांग्रेसले १२ हजार ७ सय ३४ मत प्राप्त गर्दा एमालेले १३ हजार २ सय ८३ मत प्राप्त गरेको थियो । यहाँ माओवादीको १ हजार ४ सय ६६ मत जोड्दा छ । यसरी कांग्रेस २ हजार १५ मतले पछाडि छ । प्रदेशसभा खमा पर्ने भूभागबाट कांग्रेसले १५ हजार ६ सय ७५ प्राप्त गर्दा एमालेले १५ हजार ५३ र माओवादीले २ हजार ५ सय २२ मत प्राप्त गरेका थिए । दुबैको मत जोड्दा बाम गठबन्धन १ हजार ९ सय ३० मतले अगाडि देखिन्छ । यस प्रदेशमा कालीगण्डकी गाउँपालिका गल्याङ् १, २, ३, ४, ५, ८, ९, १०, ११ र चापाकोट नगरपालिका समेटिएको छ ।

स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं २ मा कांग्रेसबाट उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र एमालेबाट पार्टी केन्द्रीय सदस्य पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो पटक अस्थायी शिक्षकलाई विना परीक्षा स्वत स्थायी गर्ने विधेयक ल्याएपछि शिक्षामन्त्री श्रेष्ठ बदनाम छन् भने एमालेको दुईपल्ट जिल्ला अध्यक्ष रहेर केन्द्रीय सदस्य बनेकी पद्मा अर्याल उदीयमान नेताका रुपमा छवी बनाएकी छिन् । सोहि क्षेत्रको प्रदेशसभा कमा कांग्रेसले विष्णुप्रसाद पौडेल र एमालेले मोहन रेग्मीलाई चुनावी मैदानमा उतारेको छ । प्रदेशसभा खमा कांग्रेसबाट भागवतप्रकाश मल्ललाई चुनौती दिन गठबन्धनबाट माओवादीका सुरज गैह्रे मैदानमा छन् । 

स्याङजामा २०४८ को आम निर्बाचनमा ४ वटा निर्वाचन क्षेत्र थिए, सबैमा कांग्रेसले जितेको थियो । २०५१को मध्यावधि निर्वाचनमा एमालेले १ नं क्षेत्रमा चुनाव जितेपछि कांग्रेस ३ क्षेत्रमा खुम्चियो । क्षेत्र नं १ मा २०५१, ०५६ र ०६४ को चुनावमा एमालेले लगातार जित्दै आएको थियो । एमालेका हितकाजी गुरुङले २ लगातार दुई पटक यहाँबाट बाजी मरेका थिए । यसपटक भने कांग्रेसका लोकप्रिय नेता धनराज गुरुङले उम्मेदवारी नपाएपछि कांग्रेसमा विवाद देखिएको छ । यहाँ एमालेले सहजै जित्ने अनुमान गरिएको छ । 

गोपालमान श्रेष्ठ 
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसको उपसभापति भइसकेका ब्यक्ति हुन् । पटक पटक सांसद र मन्त्री भएका श्रेष्ठ पदलाई प्रयोग गरेर पैसा कमाउन खप्पिस नेताका रुपमा चिनिन्छन् ।  २०६४ सालमा एमालेका चक्रवर्ती पराजुलीलाई करिव पाँच हजार मतले हराउँदै उनी सांसद चुनिएका थिए । २०७० सालको चुनावमा चुनाव नलडी समानुपातिकबाट संसद बनेका थिए । स्याङ्जाबाट धेरै पटक जितेर पनि खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका श्रेष्ठ यसपटक जिल्लामा लोकप्रिय महिला नेतृ पद्मा अर्यालसँगको चुनावी टक्करमा छन् । 

पद्मा अर्याल 
बिद्यार्थी आन्दोलन हुँदै महिला संगठनमा काम गरेकी पद्मा अर्याल नेकपा एमाले स्याङजाको दुई पटक अध्यक्ष भइसकेकी नेतृ हुन् । प्रमुख दलको जिल्ला नेतृत्व हाँकेर आफूलाई सावित गरिसकेकी अर्याल एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी थिइन् । स्याङ्जामा उनलाई जुझारु नेता तथा प्रखर वक्ताका रुपमा पनि चिनिन्छ ।  उनको उम्मेदवारी गोपालमान श्रेष्ठका लागि  फलामको चिउराका रुपमा हेरिन्छ ।