स्थायी समितिका सदस्यज्यूहरु,
हार्दिक अभिवादन ।

२०७५ मंसिर २९ गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो स्थायी कमिटीको बैढक बसिरहेको सन्दर्भमा संचारमाध्यममा आएका नेताको भनाईले मेरो ध्यान तानेको छ । 

नेपालको ईतिहासमा ठूला दूई कम्युनिष्ट पार्टीको एकतापछिको ठूलो र दूईतिहाइ सरकारको नेतृत्व गरिरहेको दलको यो बैठकलाई राष्ट्रिय अन्तराष्ट्रिय महत्वको साथ हेरिएको छ । 

स्थायी समितिको बैठकमा नेताहरुले राख्नुभएको विचार हुबहु रुपले आउनु,  कति त बैठक नसकिंदै  पनि आउने कुराले कार्यकर्ता र जनता निरास पार्ने काम शुरु हँुदै गएको छ । 

नेताहरुले आफ्नो कमिटीमा खुलेर भनाई राख्नैपर्छ र कसरी राख्नुभयो भन्ने कुरामा पनि आपत्ति होइन । तर आफ्नो पार्टीको अध्यक्षको प्रतिवेदन उपरको शब्दशब्दमा कटाक्ष जस्ताको तस्तै बाहिर आउनु उचित हुँदैन ।

हाल स्थायी कमिटीमा रहनुहुने नेताहरु ४५ जनामा ३५ जना जनताबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ भने १४ जना सरकारको कार्यकारी जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरु लामो राजनीतिमा आन्दोलन  र विभिन्न जिम्मेवारीमा बसेर आउनु भएको हुनुहुन्छ । 

बैठकमा राखेको प्रतिवेदनमाथि सर्मथन, विरोध र फरकमत राख्ने कम्युनिष्ट पार्टीको विधि नै हो । त्यसरी राखिएको बिषय किन छताछुल्ल भएर बाहिर आएको छ भन्ने प्रश्न हो । 

कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा बोलेको कुरा हो कि खुल्लामंचको सम्बोधन ?  स्थायी कमिटीका आदरणीय नेताहरु कोही पनि संचारमाध्यममा फोटो र भाषण आएर स्थापित हुनु पर्ने हैसियतको हुनुहुन्न । तर किन यसो भईरहेको छ ? 

केपी शर्मा ओली न हिजो पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्थ्यो र न भोलि सधैं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुनेछ । भोलिका दिनमा पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सम्भावना भएका नेताहरु त्यही हुनुहुन्छ ।

तर पार्टी कमजोर बनाएर कोही पनि नेता हुन सक्दैन । सानो पार्टीको नेता हुनु भन्दा ठूलो पार्टीको कार्यकर्ता हुनु बेस भनेर नै पार्टी एकता भएको हो । र, समृद्ध नेपाल बनाउने अभियान अगाडि बढेको हो । 

परिस्थितिवश देश बाहिर रहन बाध्य करिब ४० लाख नेपालीले ८ देखि १८ घण्टा सम्म काम गरेपछि सुत्ने बेला भन्दा अगाडि प्रविधीको उपयोग गर्दै आफ्नो देशको नयाँ आशा लाग्दा र खुशीको समाचार खोज्छन् । तर पढ्दा निराशा लाग्ने समाचार पाउँछन् । त्यस्तो पात्र नबनी दिनुहोस् ।

सुत्ने बेलामा अमिलो मन बनाएर सुत्नु पर्ने होइन, देशमा राम्रो हँुदैछ म पनि आफ्नो देश छिटै फर्केर समृद्धिको यात्रामा सहभागी हुनुपर्छ भन्ने समाचारको पात्र बनिदिनुहोस् । 

देश बनाउने जिम्मेवारी बोकेका तपाइहरु आत्मारतिमा नरमाउनुहोस्  । श्रीमान् र श्रीमतीबिच बन्द कोठामा हुने संवाद र व्यवहार सार्वजनिक रुपमा खुल्ला मैदानमा भए समाजमा यसको असर कस्तो पर्छ ?

तपाईहरु आफु भएको कमिटीमा आफ्ना कुरा निर्धक्क राख्नुपर्छ, राख्नुहोस् । त्यो कमिटी पद्धती नै हो छलफल चलाउनुहोस् । मन माझामाझ गर्नुहोस् । देशलाई समृद्ध, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने कुरामा घनिभुत छलफल गर्नुहोस् र कमिटीको निर्णय बाहिर ल्याउनुहोस् । 

कम्युनिष्ट पार्टीमा बहुमतको अधिनस्त अल्पमत रहने गर्दछ । पार्टी अध्यक्षप्रति फरक मत हुन सक्छन् तर पार्टी अध्यक्षलाई कमजोर पारेर पार्टी बन्ने र आफु नेता हुने कुरा कसैले सोचेको छ भने घरको सबै सिध्यिएर घरमुली हुनुको अर्थ हुने छैन । 

विगतमा कम्युनिष्ट पार्टीमा सुचना चुहाउने र गोपनियता भंग गरेको आरोपमा कारवाही भोग्ने नेताहरु नभएका होइनन् । पार्टीमा लोकतान्त्रिकरणसगैं गोपनियता नचाहिने अवस्थामा आएको हो र ? यस्तै हो भने अरु पार्टी र नेकपामा के फरक भयो ? 

देशलाई समृद्धि बाटोमा अगाडि बढाएर आगामी आवधिक निर्वाचनमा दुई तिहाई सहित सरकार कायम गरेर अगाडिका दिन उज्जल बनाउने देश र जनताको पक्षमा काम गर्ने पार्टी र त्यसको प्रतिनिधित्व गर्ने नेताको सोही अनुसारको आचरण,गोपनियता र व्यावहार हुनुपर्छ ।  कार्यकर्ता, समर्थक, भोटर्स र जनताले सोध्ने कि नसोध्ने ? यो कसैले कसैलाई उत्तर दिने बिषय होइन ।  मनन गरेर लागु गर्ने कि नगर्ने प्रश्न यहि हो । कम्युनिष्ट पार्टीभित्रको आलोचना र आत्माआलोचना बन्द कोठा भित्र नै सुन्दर हुन्छ । यसतर्फ तपाईहरुको ध्यान जाओस् ।

 चीनबाट गजेन्द्र प्रसाद थपलिया