ललितपुर, १२ फागुन -   यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा रु एक करोड कारोवार भई आइतावार समापन भएको छ ।

ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताउनुभयो ।    

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएको आफूले पाएको जानकारी दिनुभयो । सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राख्नुभयो ।

सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।    

महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए ।

काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो । रासस